एसिया कपको तेस्रो खेलमा  मलेसिया १९ रनले पराजित 

खेल भाद्र १६ २०७५ ekhabarnepal
Nepal n


  
काठमाडौं,भदौ १६ : एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कपको सुरुआती दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा विजयी भएको छ। शनिबार आयोजक मलेसियालाई नेपालले १९ रनले पराजित गरेको हो। १८९ रनको चुनौती पाएको मलेसियाले ९ विकेटको क्षतिमा पूरै ३० ओभर खेल्दै १६९ रन मात्र बनायो।

नेपालको जितका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए।  सोमपाल कामी र सन्दीप लामिछानेले दुईदुई विकेट लिए भने सागर पुन र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए।

६ ओभर बलिङ गरेका सन्दीप लामिछानेले एक मेडन राख्दै २० रन दिएर मलेसियाको २ विकेट झारेका हुन्। 

वर्षाका कारण ३० ओभरमा झारिएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै  मलेसियासामु १८८ रनको स्कोर खडा गरेको थियो। 

सुरुमा खराब ब्याटिङ गरे पनि नेपालका पछिल्लाक्रमका ब्याटस्म्यानले सुधारिएको खेल प्रदर्शन गरे।  दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ८७ बलमा १०१ रनको साझेदारी गरेपछि नेपालले १८८ रनको स्कोर बनाएको हो।

४८ बल खेलेका आरिफले ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए। दीपेन्द्र ऐरीले ५१ बलमा ५४ रन प्रहार गरे।  नेपालका लागि अनिल शाह १६, पारस खड्का १३, सुवास खकुरेल ९, ज्ञानेन्द्र मल्ल ११ र वसन्त रेग्मीले ६ रनको योगदान गरे। 

ओमान र युएईसँग पराजय व्यहोरेको नेपालले मलेसियासँग जित दर्ता गरेसँगै एसिया कपको छनोटको सम्भावनालाई जीवितै राखेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top