विश्वकै लामो शीर्षकको किताब लेखेर गिनिज बुकमा नाम 'सृजन तिमिल्सिना'  

समाज भाद्र १५ २०७५ ekhabarnepal
Img 20180830 165310 hdr 1

काठमाडौं । २० वर्षीय विद्यार्थी सृजन तिमिल्सिनाले विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर विश्व कीर्तिमान कायम गरेका छन् । सृजनले १ हजार ८ सय ९ शब्द र ११ हजार २ सय ८४ क्यारेक्टरको शीर्षकमा पुस्तक लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् । ५० पृष्ठको पुस्तकको उपशीर्षक भने ‘द ब्रेन’ रहेको छ । 

गिनिज वर्ल्ड रेकर्डले सृजनलाई प्रमाणपत्र उपलब्ध गराइसकेको छ । बिहीबार काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित एक कार्यक्रममा उनलाई उक्त प्रमाणपत्र प्रदान गरियो । सृजन सेन्ट जेभियर्सका पूर्व विद्यार्थी हुन् । 

सृजनले मस्तिष्कको विकासका बारेमा पुस्तक लेखेका हुन् । ८ कक्षामा पढ्दादेखि नै आफूले किताब लेख्न सुरु गरेको सृजनले बताए । हाल उनी इमाडोलमा रहेको किस्ट मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् । 

सृजनका बुवा सन्तोष तिमिल्सिना सानैदेखि छोराको रुची मानव विकाससम्बन्धी खोजमूलक सामग्रीको अध्ययनमा रहेको बताउँछन् । उनले भने, “छोराको मेहनत सफल भएको छ । उसले प्रमाणपत्र पाउँदा गर्व महसुस भइरहेको छ ।”

प्राप्त प्रतिकृयाहरू

To Top