विदेशबाट मिस कल आउछ ,सावधान!

मनोरञ्जन भाद्र १३ २०७५ ekhabarnepal
Unnamed7876968086

काठमाडौं भाद्र १३,

तपाई हामी कतिपयलाई निरन्तर विदेशको नम्बरबाट मिस कल आएको हुनुपर्छ । कतिपयलाईत यस्ता नम्बरबाट एकाबिहानै नचिनेको यस्ता नम्बरबाट आउने फोनले तपाईँलाई ब्युँझाएको हुनुपर्छ ? कतिपयले यस्ता फोनहरु साथीभाइ वा आफन्तको मिस कल होला भन्ठानेर ती नम्बरमा फोन गर्नुभएको पनि होला ।

खासै नाम नै नसुनिएका देशबाट बेलाबखत आउने त्यस्ता फोनले अहिले नेपालमा मोबाइल फोन प्रयोगकर्ताहरू छक्क पर्ने गरेका छन् । फोनमा एक घन्टी हानेर छोड्ने र प्रयोगकर्तामा उत्सुकता उत्पन्न गराई कल ब्याक गर्न लगाएर त्यसबापत महङ्गो रकम काट्ने गिरोहहरू केही देशमा सक्रिय रहेको बताईएको छ । ती फोन तिनैले गरेका हुन् ।

वान्गिरी पनि भनिने त्यस्ता फोनबारे मोबाइल सेवाप्रदायकहरूले बेलाबखत एसएमएस र सामाजिक सञ्जालबाट सतर्क रहन सूचना पनि दिने गरेका छन् । तर सर्वसाधारण भने दैनिकैजसो झुक्किन छोडेका छैनन् ।केही समयअघि नेपाल टेलिकमले यस्ता फोनहरुको बारेमा सूचना दिंदै  त्यस्ता कल आए कल ब्याक नगर्न सन्देश नै पठाएको थियो । गिरोहरुले यन्त्र मार्फत स्वचालित रूपमा एकैपटक धेरै नम्बरमो मिस कल गर्ने गर्दछन् । अमेरिकी वा युरोपेली देशहरूसँग प्राविधिक साझेदारी नगरेका कोमरोज, चाड, क्युबा, माडगास्करजस्ता देशहरू मोबाइल फोन सेवामा उच्च शुल्क लिने स्थान मानिन्छन् ।

कलब्याक गर्दा ती कलको मार्ग अन्यत्रै मोडेर ती गिरोहहरूले अवाञ्छित फाइदा लिने गरेको नेपाल टेलिकमका अधिकारीहरू बताउँछन् ।नेपाल प्रहरीका अनुसार सबैभन्दा पहिले दुई वर्षअघि यस्ता फोनहरू आउन थालेपछि नेपाल प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणलाई सचेत गराएको थियो।

पहिला आक्कलझुक्कल आउने त्यस्ता कलहरू केही सातादेखि व्यापक रूपमा आउन थालेका छन् ।रुसअन्तर्गत रहेको टार्टार्स्तानको +७ र युगान्डाको +२५६ बाट सुरु हुने विभिन्न नम्बरबाट गत तीन हप्तादेखि धेरै चोटि एवं अरू कन्ट्री कोड भएका नम्बरबाट पनि मिस्ड कल आएको धेरैको गुनासो छ ।गलत उद्देश्यबाट आएका त्यस्ता कलबारे जानकारी दिने केही एपप्स पनि छन् । तर ती एप्सले समेत प्रयोगकर्ता र तिन सङ्ग्रहमा भएका नम्बर तान्न सक्ने र गोपनीयता भङ्ग गर्न सक्ने सम्भावना भएको सूचनाप्रविधिविज्ञहरू बताउँछन् ।

स्प्याम कलबाट बच्ने एउटा उपाय आफ्नो नम्बर सुरक्षित राख्नु हो । असुरक्षित लाग्ने अपरिचित नम्बरबाट आएको फोन उठाउन वा फर्काउन नहुने विज्ञहरू बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत जेठ महिनासम्म देशभरि जीएसम र सीडीएमए गरेर तीन करोड ८० लाखभन्दा बढी मोबाइल फोन सेवा प्रदान गरिएको छ ।प्रयोगकर्ता बढिरहँदा र नयाँनयाँ प्रविधि प्रयोगमा आउँदा नौला चुनौती पनि थपिने गरेको अधिकारीहरू बताउँछन् ।

प्राप्त प्रतिकृयाहरू

To Top