बन्दाले क्यान्सर रोकथाम गर्नसक्छ, तर नपकाएको वन्दा वा मासु घातक

स्वास्थ्य भाद्र ६ २०७५ ekhabarnepal
Images


बीबीसी 

वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन्। तिनमा बन्दा र ब्रोकोली पनि छन्।

'क्रुसिफेरी' वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ। तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन।

फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेका छन्।

क्यान्सर रिसर्च यूकेले धेरै सागपात खानु पर्नाका पर्याप्त कारणहरू रहेको बताएको छ।


यो अनुसन्धानले मुसा र प्रयोगशालामा विकसित आन्द्राको अध्ययन गरेर कसरी सागपातले आन्द्राको भित्री सतहलाई फेरिदिन्छ भनेर हेरेको थियो।

आन्द्राको सतह पनि छालाजस्तै निरन्तर रूपमा बनिराख्छ। यो प्रक्रियाका लागि चारदेखि पाँच दिन लाग्छ।

तर यो निरन्तर भइराख्ने प्रक्रिया नियन्त्रित हुनुपर्छ। नत्र यसले क्यान्सर वा आन्द्रामा 'इन्फ्लमेशन' अर्थात् शूल हुनसक्छ।

'इम्युनिटी' जर्नलमा प्रकाशित सो अनुसन्धानबारेको लेखमा उपर्युक्त सागपातमा भएका रासायनिक तत्त्वहरू महत्त्वपूर्ण रहेको उल्लिखित छ।

यी सागपात चबाउँदा बन्ने इन्डोल-३-कार्बिनल नाम गरेको रसायनबारे अनुसन्धानकर्ताहरूले अध्ययन गरे।

अनुसन्धानकर्ता डा. गिटा स्टकिङ्गर भन्छिन्, "सागपात धेरै नपाकोस्, ब्रोकोली ढाडिएको नहोस् भनेर हेक्का राख्नुपर्छ।"

क्यान्सर रोगको उपचार गर्ने नयाँ विधि प्रभावकारी
काँचो बन्दा वा मासु खानुहुन्छ?
पाचनप्रणालीभित्र यात्रा गर्दै जाँदा यो रसायन पेटमा हुने अम्लसंग मिसिएर परिवर्तित हुन्छ।

तल्लो आन्द्रामा यसले आन्द्राको सतह पुनरुत्पादन गर्ने 'स्टेम सेल' र शूल नियन्त्रण गर्ने 'इम्युन सेल'हरूको गतिविधिलाई फेरिदिन सक्छ।

अनुसन्धानले इन्डोल-३-कार्बिनल प्रचुर मात्रामा हुने खानेकुराले आनुवंशिक कारणले उच्च जोखिम भएका मुसालाई पनि क्यान्सरबाट जोगाएको अनुसन्धानले देखाएको छ।

आन्द्राको क्यान्सरका लक्षणहरू:

  • दिसामा निरन्तर रगत देखिनु
  • धेरै पटक दिसा बस्नुपर्ने हुनु
  • पेट दुख्नु, फुल्नु र अप्ठेरो हुनु
  • सुरक्षात्मक खानाविना पेटका कोषहरू अनियन्त्रित रूपमा बढे।

स्टकिङ्गर भन्छिन्, "मुसाहरूमा ऐँजेरु बन्न थालेपछि हामीले उपयुक्त खाना दिन थाल्यौँ। त्यसले ऐँजेरुको वृद्धिलाई रोकिदियो।"

स्टकिङ्गरका अनुसार सो अनुसन्धानबाट पत्ता लागेको कुरा 'आशाप्रद' छ।

आफूले मासु खान घटाएर धेरै सागसब्जी खान थालेको उनी बताउँछिन्।

"यो अध्ययनबाट यो प्रणालीले कसरी काम गर्छ भन्नेबारे रासायनिक विधि थाहा भएको छ।"

नपकाएको वन्दा वा मासु घातक
 

भारतमा एक आठ वर्षीया बालिकाको मस्तिष्कमा टेपवर्म अर्थात् नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिए।

ती बालिकाले प्रत्येक दिन टाउको दुख्ने र बेलाबेला रिङ्गटा लाग्ने गुनासो गर्ने गर्थिन्। उनमा यो समस्या झन्डै छ महिना देखियो।

समस्याको कारण थाहा पाएपछि अभिभावकहरू पत्याउनै सकिरहेका थिएनन्।

"बालिकाको मस्तिष्कमा नाम्ले किराका सयवटा भन्दा बढी फुलहरू थिए। ती साना-साना समूहमा थिए।"


दिल्लीको गुडगाँवस्थित फोर्टिस अस्पतालको न्यूरोलोजी विभागका निर्देशक डा. प्रवीण गुप्ताको निगरानीमा बालिकाको उपचार भइरहेको छ।

डा. गुप्ताले भने, "हामीसँग आउनुअघि बालिकाको उपचार भइरहेको थियो। उसलाई निकै टाउको दुख्ने र सुन्निने समस्या थियो।"

सुन्निने समस्या कम गर्नका लागि दिने गरिएको स्टेरोइड्सका कारण बालिकाको तौल ४० किलोबाट बढेर ६० किलो पुग्यो।

तौल बढेपछि बालिकालाई झनै गाह्रो भयो। उनी पूर्ण रूपमा स्टेरोइड्समा निर्भर भइन्।

त्यसपछि अभिभावकले बालिकालाई डा. गुप्ताकहाँ लगे जहाँ बालिकाको सीटी स्क्यान गरियो।

डा. गुप्ताले भने, "बालिकालाई मकहाँ ल्याइँदा उनी अचेत थिइन्। सीटी स्क्यान गर्दा उनको मस्तिष्कमा सेता धब्बा देखिए। ती धब्बा अरू केही नभएर नाम्लेका फुल थिए। र, फुलहरू एउटा वा दुइटा नभई सयभन्दा बढी थिए।"

उनलाई डा. गुप्ताकहाँ लग्ने बेलासम्म नाम्लेका फुलहरूले गर्दा ती बालिकाको मस्तिष्कले पूर्ण रूपमा काम गर्न सकिरहेको थिएन।

डा. गुप्ता भन्छन्, "सबैभन्दा पहिले हामीले औषधि दिएर बालिकाको मस्तिष्कको सन्तुलन ल्याउने काम गर्‍यौँ।"

हाल ती बालिकाको मस्तिष्कमा रहेका नाम्लेकिराका फुल नष्ट पार्ने औषधि दिइँदैछ। डा. गुप्ताका अनुसार नाम्लेका फुलमा लगातार वृद्धि भइरहन्छ।

डा. गुप्ताका अनुसार राम्रोसँग नपकाइएका र राम्ररी नपखालिएका तरकारी खाँदा नाम्ले नाम्लेको फुल पेटमा पुग्छ र त्यहाँबाट रगतमार्फत् शरीरका विभिन्न भागमा फैलिन्छ।

के हो नाम्ले?


नाम्ले एक प्रकारको परजीवी हो। पोषणका लागि यो अरू जीवमा निर्भर हुन्छ।

यसका पाँच हजारभन्दा बढी प्रजाति छन्। तिनीहरू एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुन सक्छ।

यसको जीव खण्ड-खण्डमा बाँडिएको हुन्छ र फित्ताजस्तो देखिन्छ।

यसको शरीरमा बल्छी जस्तो संरचना हुन्छ जसका सहयोगमा यो आफूले आश्रय लिने जीवको अङ्गसँग टाँसिइरहन्छ।

शरीरको सतहमा हुने 'क्युटिकल'बाट उसले आफूलाई चाहिने खाद्यपदार्थ सोसेर लिन्छ।

आफ्नो शरीरभित्र पाचन प्रक्रिया नहुने भएकोले यसले पचाइसकेको खाद्यपदार्थ मात्रै सोस्ने गर्छ।

कसरी फैलिन्छ?
नाम्ले चेप्टो, रिबन जस्तो हुन्छ। शरीरमा प्रवेश गरेपछि यो जुका आन्द्रामा बस्न थाल्छन्।

तर सधैँ त्यहीँ नबसेर रगतको माध्यमबाट शरीरका अरू अङ्गमा पनि पुग्छ। कहिलेकाहीँ आँखा र मस्तिष्कमा पनि पुग्छ।

एशियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम हुन्छ। एनएचएसका अनुसार शरीरभित्र नाम्ले हुँदैमा कुनै लक्षण देखिन्छ भन्ने छैन।

तर शरीरका संवेदनशील अङ्गमा पुगेपछि खतरा हुन्छ। तर यसको उपचार धेरै कठिन हुँदैन।

दिल्लीस्थित गङ्गाराम अस्पतालका पेट रोग विशेषज्ञ डा. नरेल बंसलका अनुसार नाम्ले जुका प्राणघातक नभए पनि बेवास्ता गरिए खतरनाक हुनसक्छ।

कारण
सुङ्गुर अवथा गाईको अधकल्चो मासु र पूरै नपाकेको माछा खाँदा मानिसको शरीरभित्र नाम्ले पुग्नसक्छ।

खासमा यी जीवमा नाम्लेको लार्भा हुन्छ। यस्तो अवस्थामा राम्रोसँग नपकाएर खाएमा शरीरभित्र नाम्ले पुग्नसक्छ।

  • दूषित पानी पिउनाले
  • काँचो वा अधकल्चो बन्दागोभी र पालुङ्गो खानाले
  • पानी वा माटोमा उम्रने तरकारी राम्रोसँग नपखालेर खानाले

लक्षण
सामान्यतया स्पष्ट लक्षण देखिँदैन। तर शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ।
त्यसबाहेक पेट देख्ने, बान्ता हुने, कमजोरी र झाडापखालाको समस्या देखिनसक्छ।
शरीरमा नाम्लेको सङ्ख्या बढी भएका रिङ्गटा लाग्ने, छाला पहेँलो हुने, हेर्न गाह्रो हुने लगायत समस्या पनि देखिनसक्छ।
बच्ने उपाय
शरीरमा नाम्ले परेपछि औषधिले ठिक हुनसक्छ। तर केही सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छः

  • राम्ररी नपकाएको कुनै प्रकारको मासु नखाने
  • राम्ररी नपखालेका फलफूल तथा सागसब्जी नखाने
  • खाना खानुअघि साबुनपानीले हात धुने र शौचपछि राम्रोसँग नङ पनि सफा गर्ने
  • सधैँ सफा पानी पिउने

डा. बंसल भन्छन् नाम्ले प्राणघातक नभए पनि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।

शरीरको जुनसुकै भागमा पुग्नसक्ने भएकोले शरीरको त्यो हिस्सामा पक्षघात पनि हुनसक्छ।

प्राप्त प्रतिकृयाहरू

To Top