आज नागपञ्चमी

बिचार साउन ३१ २०७५ ekhabarnepal
Nag

 

उत्तरकुमार पराजुली

तेत्तीस करोड देवता पुज्ने संस्कार भएको हिन्दु संस्कारमा सर्प अर्थात् नाग पनि एक देवताको रूपमा मानिन्छ । पखेटा खुट्टा नभएको घसे्रर हिँड्ने सर्प जाति उभयचरभन्दा विकसित स्थलचर जीव हो । पानी साँप र पाखे साँप भनी लौकिक रूपमा वर्गीकरण गरे पनि आहारा खोज्न र शत्रुबाट बच्नबाहेक अन्य जीवन चक्रीय क्रियाकलाप पानी बाहिरै हुने गर्छ पानी साँपको पनि । सर्प मांसाहारी प्राणी हो । सर्पले मुसा, कीरा फट्याङ्ग्रा खाइदिएर किसानको भलो गर्ने गर्छ । सर्पको विनाशले मुसाको बिगबिगी बढ्ने र खाद्य समस्या बढ्ने कुरा विज्ञहरू बताउँछन् । 
शरीरको तापक्रमा एकैनासको हुन नसक्नाको कारण निकै जाडो र निकै गर्मीमा यो सुषुप्त अवस्थामा रहेन गर्छ । सुषुप्तावस्थामा निराहार बस्न यसको शरीरमा भण्डार भएको बोसो जस्ता वस्तुले सघाउँछ तर यो कुराको ख्याल नराख्नेले हावा खाएर बाँच्छ भन्ने गर्छन् । र अझ हावामा भएको विषालु ग्यासलाई विष बनाउनको लागि प्रयोग गर्ने भएकोले हावा शुद्धीकरणमा सर्पको भूमिकाको पनि व्याख्या गर्छन् । 
आजभन्दा साढे छ करोड वर्ष पहिले पृथ्वीमा घस्रने जन्तुको राज थियो भन्ने जीव वैज्ञानिक इतिहासले बताउँछ । त्यसबेला पृथ्वीमा राज गर्ने डाइनोसोरहरू थिए । ती डाइनोसोरहरू देखेका जन्तु जगत्को प्राणी साङ्लो मात्रै पृथ्वीमा छ । विभिन्न खालका प्रलयहरू खपेको साङ्लाको अध्ययनले लोपोन्मुख जीव संरक्षणको उपाय पत्ता लगाउन सकिन्छ । 
मेरुदण्डवाला यी जीवहरू जीव विकासको तहमा हेर्दा उभयचर(भ्यागुता वर्ग) र नभचर(चरावर्ग)को बीचमा पर्छन् । हाम्रो संस्कार उष्ण प्रदेशीय हावापानीमा हुर्केबढेको हुनाले यी घस्रने जीवसँगको हिमचिम सुरुबाटै हुँदै आएको कुरामा शङ्का छैन । सबै जीवजीवात्माको अस्तित्व आवश्यक ठान्ने परम्पराले गर्दा यी जीवहरूको लागि पनि एक दिन पूजा गर्ने उत्सवको रूपमा मनाउने गरिन्छ, जसलाई नागपञ्चमी भन्छौं, श्रावण शुक्ल पञ्चमी । यस्तो कुरा थाहा पाएका भए ऋषिमुनिहरूले साङ्लाको पूजा गर्थे होला र हामी पनि गथ्र्यांै होला । तर उनीहरूले कुन्नि के देखेर सर्पको पूजा गरे अनि हामी पनि सर्पको पूजा गर्दैछांै ।
केही विद्वान्हरूले पानीमा बस्ने सर्पलाई नाग र पाखापखेरामा बस्ने सर्पलाई सर्प भन्ने गरेको पनि पाइन्छ । तर जनजिब्रोले नाग, सर्प, लामिकरो, साँप .......भन्ने गर्छ । शरीरको तापक्रम स्थिर नहुने यी सर्प जाति जाडोमा शीत निद्रामा बस्छन् । त्यसैले यिनीहरूलाई बाहै्रमास देख्न सकिँदैन । यी जाति विषालु पनि हुने हुनाले र बाहै्रमास देख्न नसकिने हुनाले आफ्ना सन्तानलाई यिनीहरूबाट सतर्क रहन नागको चित्र घरमा बनाउने टाँस्ने गरेर जानकारी दिलाउन नागको चित्र पूजा गर्ने परम्परा चलेको हुन सक्ने अनुमान गर्न सकिन्छ । सो चित्रमा खजुरी, बिच्छी, माकुराजस्ता विषालु प्राणीका चित्र पनि राख्ने गरेको पाइन्छ । गाउँघरमा आफ्नो खेतबारीको सेरोफेरोमा नागको स्थान बनाइएको पाइन्छ । नयाँ बाली भित्राउँदा सो स्थानमा पूजा गरी अन्न चढाएर मात्रै सो बाली प्रयोगमा ल्याइन्छ । त्यसरी चढाउने(अर्पण गर्ने) कामलाई धार दिएको भनिन्छ । गाईको गोबरको कुण्डहरू बनाई एउटामा लावा(धान भुटेका फुला) र अर्कोमा गाईको दूधले भरिन्छ । यसो गर्दा नाग देवता खुसी हुने र बालीनाली राम्रो हुने तथा विघ्नबाधा केही नगर्ने विश्वास गरिन्छ । धेरैजसो यस्ता पूजा यही नाग पञ्चमीको दिन गर्ने गरिन्छ । खेती स्याहार्दाखेरि मात्रै होइन, पहिलो पटक खेती लगाउँदा पनि नागको आराधना गरिन्छ । बीउ चढाइन्छ । नाग रिसाउँदा अनावृष्टि हुन्छ भनिन्छ । 
सफा आकाशमा देखिने बादलको धर्सोजस्तो चिन्ह जसलाई विज्ञानले आकाश गङ्गा भन्छ त्यसलाई नाग भन्ने गरिन्छ । त्यसको शिर कता हुन्छ भन्ने कुरा फलित ज्योतिष शास्त्रीले बताउँछन् । अनि उसको मुखमा र पुच्छरमा नपर्ने दिसा मिलाएर ख्यारो(नयाँ बाली लगाउने सुरुवात) गरिन्छ । मुखतिर बीउ परे नागले खाइदिने र पुच्छरतिर परे विष हालिदिने भन्ने मान्यता छ ।

नाग र सर्पको बारेमा हाम्रो पुराना इतिहास ग्रन्थ पुराणहरू हेर्ने हो भने धेरै अपत्यारिला विवादित प्रसङ्गहरू भेट्ने गरिन्छ । सर्प जाति अहिले फूलबाट जन्मिने भए पनि दक्ष प्रजापतिकी छोरी कदु्र र कश्यप ऋषिका सन्तान भनी सर्प, नागलाई भनिएको छ । तिनै नागलाई गरुडले खाने भन्ने कुरा एकातिर गरिन्छ भने अर्कोतिर सुन्दरी स्त्रीलाई नागकन्याको उपमा दिने गरिन्छ । मान्छेकोरूपमा भन्दा अहिले पूर्वी भारत नागाल्याण्डतिरका नागा जाति हुन् कि भन्ने कुरा आउँछ भने सर्पनै भन्दा कुरो निकै लरबरिन्छ । नाग र सर्पलाई एउटै भन्दै जाने र नाग कन्यालाई निकै सुन्दर स्त्रीको रूपमा बयान गर्ने कथा वस्तुले बेलाबेलामा साहै्र दुविधा पार्ने गरेको छ । 
राजा परीक्षितलाई डस्ने तक्षक नाग, कृष्णले दमन गर्ने कालीनाग, शिवको गलामाको नाग, विष्णुको ओछ्यानका शेषनाग, समुद्र मन्थन गर्दा नेती बनेका बासुकी नाग, पृथ्वीलाई आफ्नो फणामा राखी स्थिर बनाउने शेषनाग(यसभन्दा अघि पृथ्वी हल्लेर हैरान हँुदा ब्रह्माले शेषनागलाई फणामा राख्न लगाएपछि पृथ्वी स्थिर भएको र कहिलेकाहीँ शेषले पाट्टिएर ठाउँ फेर्दा भूकम्प जान्छ भन्ने भनाइ छ ।) 
लक्ष्मण, बलराम, पतञ्जलीलाई शेषनागका अवतार मानिन्छ । पाण्डवका मावली हजुरबाका मावली हजुरबा( सुरशेनका मावली हजुरबा) आर्यक नाग थिए । कौरव्य नागकी छोरी उलुपीलाई अर्जुनले बिहा गरी इरावान् छोरो पाएका थिए । बासुकी नागकी बहिनी जरत्कारूलाई जरत्कारु नामकै ऋषिले बिहा गरी आस्तीक नामको छोरो पाएका थिए । आफ्ना बुबा परीक्षितलाई तक्षक नागले डसेर मारेको बदला लिन जनमेजयले संसारका सर्प निमिट्यान्न पार्न सर्प होम यज्ञ गरेको बखत जरत्कारू नागकन्या र जरत्कारु ऋषिबाट जन्मेका आस्तिकले जनमेजयसँग भिक्षा मागेर सर्पयज्ञ स्थगन गरी आफ्ना मावली वंश बचाएको भन्ने कथाले सर्प नाग र मान्छे नागको प्रसङ्ग एकै ठाउँमा देखाएको छ ।
हिन्दु संस्कार गर्मी क्षेत्रमा विकास भएको हुनाले पूर्वजहरू सर्पसँग निकै नजिक भएर रहे । शिवले विषले पोलेको घाँटी सित्तल पार्नलाई होस् वा विष्णुलाई शिसल बिछ्यौनाको लागि होस् सर्प प्रयोग गरेको देखाइएकै छ । यी कथाकथनलाई यही बिसाएर हाम्रा ओडारबासी पूर्खातिर लाग्ने हो भने उनीहरू पनि ओडारका शिलामा बाघ, मृग, गाई, चरा, सर्प आदिको चित्र कोरेको पाउँछौ । आफ्ना बालबच्चालाई भावी जोखिमबाट सतर्क गराउन, कम जोखिम जन्तुसँग परिचित गराउन चित्र लेखन परम्परा सुरु गरेको पाउँछौ र सोही परम्पराको निरन्तरता हो साउन शुक्ल पञ्चमीको दिन घरघरमा नाग टास्ने परम्परा । साउनमा नै किन भयो होला ? चैत्र, बैशाखतिर गर्नु राम्रो हुन्थ्यो । पञ्चमीमा नै किन ? भन्ने कुरामा छुट्टै खोलमूलक बहस चल्न सक्छ । 
प्रथमतः कागजको आविष्कार भएपछि मात्रै कागजमा नाग लेखी घरघर लगेर टाँस्ने चलन सुरु भएको हो । संस्कार विकासको कालखण्डसँग तुलना गर्दा यो समय त्यति लामो समय होइन । त्यसभन्दा अघि चित्र लेख्ने कलाकारहरू घरघर गएरभित्रामा नाग आदिको चित्र कोर्दा हुन् । अर्को कुरा गर्मी र वर्षा प्रशस्त हुने श्रावण महिनामा छ्यास्छ्यास्ती सर्प देखिने महिना भएकोले पनि यस महिनामा सर्पको चित्र घरमा टाँसेर आफ्ना बालबालिकालाई सर्पको बारेमा जानकारी दिन खोज्नु उपयुक्त नै देखिन्छ । 
गाउँघरमा सर्पको अर्को नाम लामकीरो हो, गुजी, हाउगुजी, केटाकेटीलाई त्राहीत्राही पार्ने जात । ज्यूँदै भेटाए बाँसको लौराले स्वठ्ठाएर ठहरै पार्ने गरे पनि नयाँ अन्न खाँदा, घर गोठमा बिघ्नबाधा पर्दा नाग देवताकै दोष भनेर शरण पर्नेहरूको संख्या ठूलै छ । त्यस्ता ठूला, खर्क, बेँसी, टारी, पँधेरा, कुँवा कमै छन् जहाँ नागको थान नभएको होस् र नागको पूजा आराधना नगरिएको होस् । गाउँ बस्तीमा नागदेवताको यति ठूलो मान्यता राखिन्छ, त्यस क्षेत्रमा हुने सबै कामहरू उनकै नियन्त्रण र अह्रनखटनबाट हुने गर्छन् । पँधेरामा पानी सुके पनि नाग रिसाएर, बालबच्चा बिरामी परे पनि नागको दोष, शारीरिक कमजोरीले गर्भ तुहिने भए भनिन्छ नागमोजको दोष । भुइँचालो आए पृथ्वी बोकेको सर्पले काँध फेर्दा भनिन्छ । कुनै खेतीमा राम्रो फल नलागेमा नागले सह लगिदिएको भन्ने गर्छन् । सफा आकाशमा देखिने आकाश गंगाको गोहो(सेतो बादल लागेको जस्तो धर्सो)लाई पनि नाग भन्छन् । त्यै नागको शिर, पुच्छरको सम्मुख नपारी खेतबारीमा बीऊबिजन छर्नुृपर्छ भन्ने चलन छ । मुखको सम्मुख परे खाने र पुच्छरको साम्ने परे विष हाल्ने गर्छ भन्ने विश्वास गरिन्छ । 
सर्प विषालु जात हो भनी डरलाग्दो जन्तुको रूपमा हेरिन्छ । गोमन, करेत, भाइपर जस्ता केही सर्पबाहेक अन्य सर्पहरू ठूला र डरलाग्दा देखिए पनि विषालु हुँदैनन् । सतर्क अवस्थामा हिँडडुल गरे सर्पले टोक्ने सम्भावना कम हुन्छ । चलाए, जिस्क्याए वा जिस्क्याए जस्तो मानेमा सर्पले आक्रमण गर्छ । यसले आक्रमण गर्नुअघि चेतावनी स्वरूप स्वाँऽऽऽऽ गरेर फुङ्कार गर्ने गर्छ । त्यसलाई बुझेर तर्कियो भने सर्पको डँसाइबाट बच्न सकिन्छ । सर्प भगाउन गरुड आयो, गरुड आयो भनेर चिच्याएर तर्साउन खोज्ने चलन छ । तर सर्पले सुन्दैन भन्ने थाहा भए त्यसो गर्दैनथे होला । अझ गरुड आयो भन्ने भाषा नै कसरी बुझोस् र भागोस् ! सर्पले टोक्दा आफ्ना अङ्कुसे दाँत झिक्न र विष घोप्ट्याउन टाउकातिर पुच्छर लैजाने गरेको देखेका हुनाले पुच्छरले विष हाल्छ भन्ने गर्छन् । हाम्रो गाउँठाउँमा पाइने थुपै्र सर्पहरूमध्ये केही सर्प मात्रै विषालु हुन्छन् । सर्पले बाली नाशक मुसा, कीराफटयाङ्ग्राजस्ता जीवहरू आहार गर्ने हुनाले यी कृषकहरूका मित्र हुन् । उनीहरूलाई नचलाउने, नजिस्क्याउने हो भने टोक्दैनन् । हामीलाई चलाएको जिस्काएको थाहा नहुने तर उनीहरूले चलाएको ठान्ने हुँदा सुतेको बेलामा पनि सर्पले टोकेको घटना घट्ने गर्छ । चिचिण्डे, हर्रेउ, तिरिस, साँमे तिरिस, गोमन, बाउन, गोमन, करेत, घोडकरेत, नाग(कालो, सेतो) आदि गाउँघरमा भनिने सर्पका नाम हुन् ।

सर्पले मान्छेलाई देख्यो भने सकभर लुक्न छिप्न खोज्छ । केही सीप नलागे तर्साउन स्वाँ गरी फुङ्कार गर्छ । यति गर्दा पनि भागिएन र उसले उच्छार पाएन भनी झम्टन्छ टोक्छ । गोमन सर्प सर्पहरूमा निकै रिसाहा मानिन्छ र यसले त लखेट्छ पनि । सर्प देखेपछि अत्तालिएर ढुङ्गा फाल्न,े उसकै बाटोतिर दगुर्ने ग¥यो भने सर्पले टोक्ने संभावना बढी हुन्छ । विष नभएको सर्पले बेर्ने र ढाडले हान्ने गरेर पनि निकै कष्ट दिने गर्छन् । हाम्रा अग्रजहरू सर्पबाट बच्न सर्प देखे ‘गरुड आयो गरुड आयो भन्नू अथवा आस्तीक आस्तीक भन्नू’ भन्नुहुन्थ्यो । गरुड आयो भन्ने मन्त्र अपभ्रम्श गएर ‘गुलार्ओ गुर्लाओ’ भएको थियो ।पछिपढ्न जान्ने भएपछि नाग पञ्चमीमा टाँसिने नागको चित्रको शिरमा लेखिएको मन्त्र घोकेर भन्न थालियो ।

अगस्तश्च, पुलस्तश्च, वैशम्पायनमेवच । सुमन्तुर्जैमिनिश्चैव पञ्चै ते वज्रवारका । मुने कल्याण मित्रश्च जैमुनिश्चापि कृतनाद् । विद्युदग्नि भयं नाश्ति लिखिते गृह मण्डले । 
आस्तीकस्य मुने माता जगतनन्दकारिणी । यहाही मानसा देवी नाग माता नमस्तुते ।। 
अनन्तो बासुकी पद्म, महापद्मश्च तक्षक । कुलिर कर्कोट, शङ्खोचाष्टौ नागाः प्रकृतिता ।। 
त्यसैगरी बृहत् स्तोत्र रत्नाकरमा भएको नागस्तुति निकै महत्वका साथ पढियो ।
अनन्त वासुकी शेष पद्मनाभं च कम्बलम् । शङ्खपाल धृतराष्ट्र तक्षक कालियां तथा ।
एतानि नवं नामानि नागानांच महात्मनाम् । सायङ्काले पठेन्नित्यं प्रातःकाले विशेषत ः ।
तस्य विष भयं नाश्ति सर्वत्र विजयी भवेत् । 

साँझ बिहान यो मन्त्र भन्ने गरे सर्पको विषको डर हुँदैन र सबै ठाउँमा विजयी भइन्छ भन्ने यसको भावलाई सावधान भए सर्पले टोक्दैन भन्नेतिर व्याख्या गर्नुपर्छ होला । 
त्यसैगरी महाभारतको आदि पर्व अन्तरगतको आस्तिक पर्व अध्याय ५८ को(२४ –२६, २ श्लोक) 
यो जरत्कारुण जातो जरत्कारो महाशया । आस्तीक सर्प सत्रेः व पन्नगान् योभ्यरक्षत । 
तं स्मरन्तं महाभागा न मा हिसितुमर्हथं । सर्पाप सर्प भद्रते गच्छ सर्प महा विष ।। 
जन्मेजयस्य यज्ञान्ते आस्तीक वचनस्मर । आस्तीकस्य वचः श्रुत्वा य सर्पो न निवर्तते । 
शतधा भिद्यले मूर्धि शिंशवृक्ष पलं तथा ।। 
यो आस्तीक वचन मन्त्र सुनेर नभाग्ने सर्पको सिसौको फल फुटेर आफैं सयौं टुक्रा हुने गरी टाउको फुटेर मर्ला भनी बाचा बाँधिएको छ ।
यी सबै मन्त्रमा सर्पले सुन्ने आशा राखिएको छ तर सर्पले सुन्दैन । उसको सुँघ्ने शक्ति निकै तगडा हुन्छ । देखेरभन्दा सुँघेर आफ्नो शत्रु, आहार पत्ता लगाउने भएकोले सर्पले दागा राख्छ भन्ने कुराचाहिँ तर्क सङ्गत हुन आउँछ । 
सर्पबाट सुरक्षित हुन बुबाबाट सर्पको विष फार्ने मन्त्र पनि सिकेको थिएँ । मन्त्र यस्ते थियो— 
उभौली पानी ( उल्टे गरी भरेको पानी अर्थात् जता पानी बग्द्यैछ उतै भाँडो फर्काएर भरेको पानी ) ल्याई सोही पानी ख्वाई, विष निक्ली जाई । जय ईश्वर महादेवकी बाचा । फूः मन्त्रकी बाचा । (यो प्रयोगको लागि होइन जानकारीको लागि मात्रै हो ।)
तराईतिर नागको(सर्पको) पूजाआराधाना गरिनु स्वाभाविकै हो । मन्दिर वा घरमा पनि सर्पका आकृति बनाइएको धेरै ठाउँमा देखिने गर्छ । नागपञ्चमीका दिन नागको कोरेको चित्रमा होस् वा मूर्तिमा नागको पूजा थुपै्र ठाउँमा हुन्छ । मध्य पहाडमा यसै दिन तैयारी हुँदै रहेको(पोलेर खान हुने भएको) मकै बाली चढाउने उत्तम दिन मानिन्छ । काठमाडौं उपत्यका पहिले तलाउ(ताल) हुँदा त्यहाँ थुपै्र नागको बासस्थान थियो भन्ने इतिहासमा पढ्न पाइन्छ । जब मन्जुश्रीले चोभारबाट पानीको निकासी गरे तब कर्कोटक आदि नागले बासस्थान माग्दा टौदह(टगो दह – ठूलो पोखरी, नेवारी भाषमा)मा बास दिएको भनिन्छ । काठमाडौँमा नागढुङ्गा, नागस्थान, नागपोखरी, नागदहजस्ता थुप्रै नागसित सम्बन्धित ठाउँहरू छन् । त्यहाँ नाग पञ्चमीको दिन मेला लाग्ने गर्छ । 
कुरा जे सुकै होस्, नाग पञ्चमीका दिन कुलपुज्य बाहुनले पुजेका नागको चित्र घर ल्याइदिएर धूप बत्ती गरेर टाँसी दिन्छन् र टीकाटालासित नाग लेखन पारिश्रमिक बुझेर खुसी हुँदै फर्कने गर्छन् । 
नाग टाँस्ने घरवाला पनि अब हिँउँद लाग्यो, सर्पले टोक्दैन, घरमा चट्याङ, आगलागीको डर हुँदैन भनी मक्ख परेर बस्छन् । संस्कारको सन्तुष्टी यस्तैयस्तै अनौठाका हुन्छन् । प्रकृति पुजकको रूपमा चिनिएको हाम्रो संस्कारमध्येको नाग पञ्चमी पनि एक चाड हो । यस चाडलाई वर्षको चाडपर्वको सुरुवात गर्ने पहिलो चाडको रूपमा समेत मान्ने गरिन्छ । नागको बासस्थान बानी व्यावहार, आदिको बारेमा जान्ने र उनीहरू पनि सुरक्षित हुने र आफू पनि सुरक्षित हुने कुरामा सधैं सचेत बन्न यस्ता प्रकृति पुजक चाडले हामीमा चेतना भरोस् भन्ने कामना श्री नागपञ्चमीको हुन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top