काउन्सिलको परीक्षामा अनुत्तीर्ण संख्या बढेपछि चिकित्सा शिक्षाको गुणस्तरबारे चिन्ता

स्वास्थ्य साउन २९ २०७५ ekhabarnepal
 102960212 f47dc351 e5dc 4994 aaac 16e913366a1a


 बीबीसी 

चिकित्सकको रूपमा काम गर्न पाउने नेपाल मेडिकल काउन्सिलको परीक्षामा अनुत्तीर्ण हुनेको संख्या वर्षेनी बढ्न थालेपछि यसले संवेदनशील मानिने चिकित्सा क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

विगतमा फेल हुनेहरूको संख्या विदेशमा पढेर आउनेहरूको बढी हुने गरेकोमा अहिले नेपालमै पढ्नेहरूको संख्या पनि बढेको बताइएको छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार अनुत्तीर्णको संख्या चर्चा भएजस्तो भयावह नभएको जनाएको छ।

एमबीबीएस गरेका ७ सय ७६ जनाले चिकित्सा दर्ता प्रमाणपत्रका लागि गत शनिवार दिएको परीक्षामा १ सय ८९ जना मात्र उत्तीर्ण भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।

अधिकारीहरूका अनुसार चिकित्सा क्षेत्रसंग सम्वन्धित सामान्य प्रश्न मात्र सोधिने उक्त परीक्षामा पनि थुप्रै डाक्टरहरू असफल हुने गरेका छन्।

अनुत्तीर्ण हुनेहरूमा विगतमा जस्तै विदेशमा पढेर फर्किने मात्र होइन, नेपालमै पढेकाहरूको संख्या बढ्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन्।

चिकित्सा शास्त्र अध्ययन संस्थान आइएमओका डीन समेत रहेका डा. जगदीश अग्रवाल भन्छन्," धेरै फेल हुनेहरूमा विदेशबाट पढेर आउनेहरू बढी छन्। तर अहिले नेपालमा पनि फेल हुनेहरूको संख्या बढ्दै जानुको कारण शिक्षाको गुणस्तरमा अप्ठेरो परेकोले नै हो। "

उनका अनुसार पढ्ने विद्यार्थीको क्षमता र विश्व विद्यालयहरूको गुणस्तर नै मुख्य कारण हो।

धेरै फेल हुनेहरूमा विदेशबाट पढेर आउनेहरू बढी छन्। तर अहिले नेपालमा पनि फेल हुनेहरूको संख्या बढ्दै जानुको कारण शिक्षाको गुणस्तरमा अप्ठेरो परेकोले नै हो।
कुन देशमा पढेकाहरू बढी फेल हुन्छन् भन्ने जानकारी दिंदा गलत सन्देश जाने गरेकोले त्यो सार्वजनिक गर्न बन्द गरेको काउन्सिलका अधिकारीहरू बताउँछन्।

तर अहिले नेपालमै पढ्ने विद्यार्थीहरूको संख्या भने बढेको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए।

तर वर्षमा तीन पटक परीक्षा दिन पाइने भएकfले अनुत्तीर्ण हुनेहरूको संख्या समग्रमा घट्दै जाने भन्दै प्रवक्ता अधिकारीले भने," सन् २०१४ देखि २०१७ मा ६० प्रतिशतको हाराहारीमा उत्तीर्ण हुँदै आएको देखिन्छ। यसै वर्षको पहिलो परीक्षामा पनि ७६ प्रतिशत उत्तीर्ण भएको थियो। यो वर्षमा अर्को एउटा परीक्षा बाँकी नै रहेकोले नतिजा एकदमै खराब भनिहाल्न मिल्दैन।"

विगतमा चिकित्सा शिक्षाको पढाई प्रणाली खुकुलो बनाइएका कारण पैसाकै भरमा अध्ययन गर्ने लहर बढ्नुले यस्तो परिस्थिति आएको जानकारहरू बताउँछन्।

लाइसेन्स नपाउँदासम्म एमबीबीएस उत्तीर्णले चिकित्सा अभ्यास गर्न पाउँदैन।

पछिल्लो २ वर्षदेखि चिकित्सा शिक्षा अध्ययन गर्न कडाई गरिएको बताउने अधिकारीहरूको आगामी दिनमा भने गुणस्तर बढ्ने विश्वास छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार अहिले पनि स्वदेश र विदेशमा गरी १५ हजार विद्यार्थीहरूले चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन्।

हाल २२ हजारको हाराहारीमा चिकित्सा अभ्यासमा रहेका डाक्टरहरूको संख्या आउँदो ५- ६ वर्षमा ४० हजार पुग्ने अनुमान छ।

प्राप्त प्रतिकृयाहरू

To Top