'ड्रोनको हमलाबाट बाँच्न सफल भएँ ,डटेर सामना गर्नेछु'- राष्ट्रपति निकोलस मादुरो

विश्व साउन २० २०७५ ekhabarnepal
Download 444444

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन् । उनले दक्षिणपन्थीहरुका आक्रमणको डटेर सामना गर्ने बताएका छन् । 

उनले आफूमाथिको आक्रमणमा कोलम्बिया र अमेरिकाको हात रहेको समेत बताएका छन् । मादुरोले राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा सम्बोधन गरिरहेको समयमा ड्रोन आक्रमण भएको थियो । भेनेजुएलाका अधिकारीहरुले उक्त घटनामा सात सैनिक घाइते भएको बताएका छन् । घटनापछि अनुसन्धानका क्रममा कैयौंलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति मदुरोले छिमेकी देश कोलम्बिया र अमेरिकाका केही तत्वहरुले आफ्नो हत्या गर्ने ‘दक्षिणपन्थी षडयन्त्र’ अनुसार ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । उनले कोलम्बियाली राष्ट्रपति जुवान म्यानुएल सान्तोसको हात रहेको दाबी गरेका छन् । सञ्चार मन्त्री जोर्गे रोड्रिग्वेजले विष्फोटक पदार्थहरुले भरिएको दुई ड्रोन राष्ट्रपतिले सम्बोधन गरिरहेको पोडियम नजिकै पुगेको बताए । त्यसपछि बडीगार्डहरुले मादुरोलाई बुलेटप्रुफ कवचले सुरक्षा दिएका थिए । 

राष्ट्रपति मदुरो र सरकारले कोलम्बिया र अमेरिकामाथि आफ्नो सरकारलाई सिध्याउन लागिपरेको आरोप लगाउँदै आएको छ । यसअघि सन् २०१७ जुनमा पनि भेनेजुएलाको सर्वोच्च अदालतमा बमवर्षक हेलिकप्टरले हमला गरेको थियो, जसलाई राष्ट्रपति मादुरोले ‘आतंकवादी आक्रमण’को संज्ञा दिएका थिए ।

कोलम्बियाको सरकारले भने घटनामा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ । उसले भनेको छ ‘मादुरोको आरोपमा कुनै आधार छैन ।’

प्राप्त प्रतिकृयाहरू

To Top