गगन थापा र दुर्गा प्रसाईलाई कारबाहीको माग 

स्वास्थ्य साउन १४ २०७५ ekhabarnepal
37978443 10217093715396721 13032876396249088 n


काठमाडौं, साउन १४ 
नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

उसले प्रसाईमाथि कानूनी कारबाही गर्न माग गरेको छ भने नेपाली कांग्रेसका नेता थापाले भने माफी माग्नु पर्ने बताएकोे छ । प्रसाईलाई कारवाही नभए र थापाले माफी नमागेसम्म ढाकास्थित नेपाली दुतावासमा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम जारी रहने युनियनले जनाएको छ ।  

बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने बिद्यार्थीमाथि बिभिन्न गम्भीर लान्छना लगाउने काम भएको भन्दै सरकारले त्यस्ता व्यक्तिमाथि तत्काल कारवाही गर्नुपर्ने माग गरेको हो । सरकारले माग सम्वोधन नगरेकाले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्य भएको बताएको हो । 

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिलाहरुको शारिरिक शोषण हुने गरेको आपत्तीजनक अभिव्यक्ति दिएका थिए । गगन थापाले बंगलादेश, चीन र फिलिपिन्समा पढ्न गएका बिद्यार्थीले एमबीबीएसको प्रमाणपत्र ग्यारेन्टी गरेरमात्र भर्ना गर्ने बताएका थिए । थापाले नेपालमा पढ्न अवसर नपाएर नभई पैसा दिएर प्रमाणपत्र सुनिश्चित गर्नमात्र बिद्यार्थी बाहिर गएको बताएका थिए । 

दुबैले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले  आन्दोलनका कार्यक्रम घोषणा गरिएको युनियन अध्यक्ष राजु साहले जानकारी दिएका छन् । दुवैको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला उसले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत उसले सरकारसँग माग गरेको छ ।

आन्दोलित विद्यार्थी युनियनले सोमबार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदैछ । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने साहले जानकारी दिए । यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले यस्तै अभिव्यक्ति दिएका कारण मन्त्रीबाट राजिनामा दिएका थिए । 


 

प्राप्त प्रतिकृयाहरू

To Top