डा. केसीको अवस्था नाजुक, रक्तचापमा व्यापक गडबडी 

स्वास्थ्य साउन २ २०७५ ekhabarnepal
1940680577govinda kc

काठमाडौं,श्रावण १  । १८ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् । विगत २४ घन्टामा डा. गोविन्द केसीको मुटुको चाल, श्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गडबडी देखिएको छ ।
रगतमा अक्सिजनको मात्रा निरन्तर कम रहेकाले डा. केसीलाई लगातार अक्सिजन दिइएको छ । बिहानीपख अचानक ‘स्याचुरेसन’ घटेर ७० को हाराहारीमा पुगेपछि अक्सिजनको मात्रा बढाइएको छ ।

“आजको रगत जाँचबाट आएको रिपोर्टले थप जटिलता थपिएको देखाउँछ,”डा. पुजन रोकाया, डा. सिद्धार्थ खाती र डा. धिरज गुरुङले केसीको स्वास्थ्यका बारेमा जारी गरेको प्रेस नोटमा भनिएको छ,“रगतमा पोटासियम, म्याग्नेजियम र क्यालसियमको मात्रा निकै घटेको छ जसको सिधा सम्बन्ध मुटुको चालमा हुन्छ । डा. केसीलाई विगतमा पनि मुटुको चालमा गडबडि देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिस बिट्स आइसकेको हुँदा रिपोर्टअनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गडबडी आइ धड्कन बन्द हुनसक्ने देखिएको छ ।”

रगतमा सेतो रक्तकोशिकाको मात्रा झन् घटेको छ । क्यानुला राखिएको दुवै हातमा संक्रमण देखिन थालेको अवस्थामा सेप्सिस भइहाले स्थिति थप बिग्रने देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाँउडिने समस्या झन बढेको छ भने छात दुख्ने समस्याले डा. केसीलाई झन पिरोल्न थालेको उनीहरुले जनाएका छन् । यसरी मुटुको चालमा गडबडी भइरहे डा. केसीलाई सीसीयूमा राखेर उपचार गर्नुपर्ने हुन सक्छ ।

यता सरकार भने डा. केसीका माग बेवास्ता गरिरहेको छ । सोमबार र मंगलबार दुईचरणमा सरकारी पक्ष र डा. केसी पक्षबीच भएको वार्तामा सरकारले डा. केसीलाई काठमाडौं ल्याउनुपर्ने बताएपछि वार्ता विनानिष्कर्ष सकिएको थियो ।

डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै १८ दिनदेखि अनशनमा छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रष्ष्ठिानमा अनशनमा बसेका केसीले संसद्मा अघि बढाइएको चिकित्सा शिक्षा सम्बन्धी विधेयक फिर्ता वा स्थगन गरेमात्रै आफू काठमाडौं आएर उपचार गर्न तयार रहेको अडान कायमै राखेका छन् ।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारले वार्ता समिति बनाएको छ भने डा. केसीका पक्षबाट पहिले नै वार्ता समिति बनाइएको थियो । केसीका पक्षबाट डा. अभिषेक राज सिँह, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा. वाइपी सिँह र डा. जीवन क्षेत्री रहेका छन् ।

“डा. केसीले विधेयक फिर्ता नभएसम्म काठमाडौं नआउने र उपचार पनि नगराउने भन्नुभएको छ,” वार्तामा सहभागी कानुनविद् ओमप्रकाश अर्यालले बाह्रखरीसँग कुरा गर्दै भने ।

यस्ता छन् डा केसीले अघि सारेका ७ बुँदे मागहरु

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् । 

२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातकोतर तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् । 

३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् । 

४)चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह¥याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् । 

५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् । 

६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्िवधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संःथाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् । 

७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारबाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस्।
 

प्राप्त प्रतिकृयाहरू

To Top