आज फिफा विश्वकप फुटबल खेल फाइनलमा: फुटबलका पारखीहरु चकित ! 

खेल असार ३१ २०७५ ekhabarnepal
Mm5f5f04a4dec18477621a723463b307591528658806

एजेन्सी । २१ औं संस्करणको फिफा विश्वकप फुटबल यसअघिका विश्वकप भन्दा अलिक पृथक हुन पुग्यो । विभिन्न विश्लेषक तथा फुटबलका पारखीहरुलाई आश्चर्यचकित बनाउँदै क्रोएसिया र फ्रान्स विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

रसियामा जारी विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले फुटबलका पारखी र विश्लेषकले गरेको अनुमान गलत सावित भइसकेका छन् । फुटबलका धेरै विश्लेषक र अनुसन्धान केन्द्रहरुले विश्वकप ब्राजिल, स्पेन, जर्मनी, अर्जेन्टिना वा पोर्चुगलले जित्ने दाबी गरेका थिए ।गोल्डम्यान म्याक्स, विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई), चर्चित अमेरिकी संस्था ग्रासनोट, जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डोर्टमन्डका अनुसन्धानकर्तालगायतले गरेका अनुमान गलत सावित भए । 
 ग्रासनोटले विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्ने भनेर पूर्वानुमान गरेको थियो । फाइनलमा स्पेनलाई पराजित गर्दै ब्राजिलले उपाधि उचाल्ने ग्रासनोटको दाबी थियो । तर, स्पेन प्रिक्वार्टरफाइनलबाटै बाहिरियो । आयोजक रसियासँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै २०१० को विश्वकप विजेता स्पेन प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

२०१४ को विजेता जर्मनी समूह चरणबाटै बाहिरियो भने अनुसन्धान केन्द्रहरूले उपाधि जित्ने भनेर अनुमान गरेका अर्जेन्टिना, पोर्चुगल, स्पेन पनि प्रिक्वार्टरफाइनलबाटै बाहिरिए । त्यस्तै, ब्राजिल पनि क्वार्टरफाइनलबाटै बाहिरियो । 

वित्तीय क्षेत्रको पूर्वानुमान गर्ने प्रतिष्ठित गोल्डम्यान स्याक्सले फ्रान्स, पोर्चुगल, जर्मनी र ब्राजिल सेमिफाइनलमा पुग्ने भविष्यवाणी गरेको थियो । जर्मनीले पोर्चुगललाई पराजित गर्दै फाइनलमा पुग्ने अनुमान उसको थियो । अर्को सेमिफाइनलमा ब्राजिलले फ्रान्सलाई पराजित गरी फाइनलमा स्थान बनाउने अनुमान उसले गरेको थियो । त्यस्तै, फाइनलमा जर्मनीलाई ब्राजिलले पराजित गर्दै विश्वकपको ट्रफि उचाल्ने भविष्यवाणी उसको थियो । तर, यो अनुमान एक छेउ पनि मिल्न सकेन ।

त्यस्तै, गोल्डम्यान स्याक्सका विज्ञहरूले इंग्ल्यान्ड क्वार्टरफाइनलसम्म पुग्ने अनुमान गरेका थिए । क्वार्टरफाइनलमा इंग्ल्यान्ड जर्मनीको सिकार हुने विज्ञको तर्क थियो । तर यो पनि गलत सावित भएको छ ।जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डोर्टमन्डका अनुसन्धानकर्ताहरूले एआर्ईको प्रयोग गरी र्यान्डम फरेस्ट अप्रोचले विजेताको पहिचान गरेको थियो । जर्मन मोडलको पूर्वानुमानले स्पेनले विश्वकप फुटबलको उपाधि उचाल्ने अनुमान गरेको थियो ।

अस्ट्रियन गणितिज्ञहरूले विश्वकपको ट्रफी उचाल्न ब्राजिल र जर्मनी फाइनलमा पुग्ने भविष्यवाणी गरेका थिए । अस्ट्रियाको युनिभर्सिटी अफ इन्सब्रुकका अनुसन्धानकर्ताहरूले अध्ययन जटिल तथ्यांकीय विधिको प्रयोग गरी विश्वकप विजेताको टुंगो लगाएका थिए । ब्राजिलले जर्मनीलाई पराजित गर्दै विश्वकप उपाधि छैटाैं पटक उचाल्ने अनुमान थियो ।

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र क्रोएसिया पुग्ने छन् भनेर कुनै पनि संस्था, विज्ञ, अनुसन्धानकर्ता तथा ज्योतिषीले भविष्यवाणी गरेका थिएनन् ।फाइनल खेल आज राति ८ बजेर ४५ मिनेटमा सुरु हुँदैछ । क्रोएसियाले फ्रान्सलाई पराजित गर्दै उपाधि उचाले इतिहास रच्नेछ । क्रोएसियालाई पराजित गर्दै विश्वकपको उपाधि जितेमा फ्रान्सले २० वर्षपछि विश्वकप आफ्नो देशमा भित्र्याउनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top