जापानद्धारा नेपाल सरकारलाई २७ करोड ४१ लाख अनुदान 

अर्थ असार २९ २०७५ ekhabarnepal
Hhnepal japan

काठमाडौं २९,असार 
 मानव संशाधन विकासका लागि जापान सरकारले नेपाललाई २७ करोड ४१ लाख रुपैया अनुदान उपलब्ध गराउने भएको छ ।उक्त अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको हो ।

सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन उक्त अनुदान उपयोग गरिने मन्त्रालयले जनाएको छ ।अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा निजामती सेवाका कर्मचारीले छात्रवृत्ति पाउने छन् । कार्यक्रममा सचिव खनालले नेपालको विकास प्रयासमा निरन्तर सहायता प्रदान गरेकामा जापान सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा जापानबाट विकास सहयोग अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै राजदूत साइगोले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले जापान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउनाका साथै नेपालको सामाजिक–आर्थिक विकासमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । विगत तीन वर्षदेखि जापानले नेपाललाई उक्त छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top