क्रोएशिया क्वार्टरफाइनलमा

खेल असार १८ २०७५ ekhabarnepal
Images cms image 000051209

 

असार १८

गोलरक्षक डेनिजिल सुबासिकले तीन पेनाल्टी बचाएपछि पेनाल्टी सुटआउटमा डेनमार्कलाई पाखा लगाउदै क्रोएशिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
रसिया विश्वकप अन्तर्गत आइतबार राति सम्पन्न खेल निर्धारित समय र थपिएको समयमा १–१ को बराबरीमा रोकिएपछि पेनाल्टीतर्फ धकेलिएको थियो। पेनाल्टी सुटआउटमा सुबासिकले सनसनीपूर्ण प्रदर्शन गर्दै तीन पेनाल्टी रोकेपछि क्रोएशिया ३–२ अन्तरले विजयी बन्दै अन्तिम ८ मा पुगेको हो।

जितका लागि क्रोएशियाले अन्तिम पेनाल्टीसम्म कुर्नुपरेको थियो। सुरुआतका दुबै पेनाल्टी दुबै देशका किपरले विफल बनाइदिएका थिए। दोस्रो र तेस्रो पेनाल्टी परिणत भएपनि चौथो पेनाल्टीमा पुनः दुबै देशका खेलाडी चुके। डेनमार्कको पाँचौ पेनाल्टीमा विपक्षी गोररक्षक सुबासिकले सफल हुन दिएनन भने क्रोएशियाले अन्तिम पेनाल्टी परिणत गर्दै सनसनीपूर्ण जित हात पार्यो।

पहिलो पेनाल्टी प्रहार गर्न आएका डेनमार्कका क्रिस्टियन इरिक्सनले बायाँ कर्नरको तल्लोपट्टी प्रहार गरेको पेनाल्टी क्रोएशियाका गोलरक्षक सुबासिकले बचाएका थिए। क्रोएशियाबाट पहिलो पेनाल्टी प्रहार गर्न आएका मिलन बेन्डल्जीले पनि सोही दिशामा प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले विफल बनाई दिएका थिए।

दोस्रोमा डेनमार्कका सिमन केजईर, क्रोएशियाका आन्द्रेज क्रामारिक र तेस्रोमा डेनमार्कका माइकल क्रोह देहली र क्रोएशियाका लुका मोड्रिकले पेनाल्टी परिणत गरे।

चौथो पेनाल्टी प्रहार दुबै गोलरक्षकले बचाए। डेनमार्कका लास्सी स्कोनी र क्रोएशियाका जासिप पिभारिक चुकेपछि खेल २–२ को बराबरी अवस्थामा थियो।

अन्तिम तथा पाँचौ पेनाल्टी प्रहार गर्न आएका डेनमार्क निकोलोस जोर्गानिसेनको पेनाल्टी सुबासिकले गोलपोष्टको मध्य भागमा गोलरक्षक सुबासिकले रोक्नु खेलको निर्णायक मोड बन्यो। लगत्तै क्रोएशियाको अन्तिम पेनाल्टी इभान रिकिटिकले परिणत गरेपछि ३–२ले जित हात पार्दै क्रोएशियाले क्वार्टरफाइनलमा रसियासँगको भेट पक्का गर्यो।

त्यसअघि खेलको सुरुवातमै दुबै टोलीले १–१ को अग्रता लिएका थिए। पहिलो मिनेटमा नै थोमस डिलानीको पासमा जान्काले ६ यार्ड टाढाबाट गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए भने चौथो मिनेटमा क्रोएशियाका मारियो मान्डजुकिले बराबरी गोल फर्काएका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top