बुद्ध–सर्किटको राष्ट्रिय खाका तयार

समाज असार १४ २०७५ ekhabarnepal
10


लुम्बिनी–नेपालभरका बुद्ध सम्बन्धित केन्द्र हुँदै मानसरोवरसम्मको रुट
अमृत गिरी

बुटवल, असार १४ । बहुचर्चित बुद्ध–सर्किटको राष्ट्रिय दस्तावेज तयार भएको छ । लुम्बिनी र बुद्धकालिन सभ्यताका नेपालका सबै क्षेब तथा प्रमुख हिन्दु धर्मका क्षेत्रहरुलाई जोडेर वृहत्त सर्किटको दस्तावेज तयार भएको हो । 
सरकारले गत वर्षदेखि बृहत्त बुद्ध सर्किटको खाका बनाउन विशेष टोली गठन गरेको थियो । सोही टोलीले एक वर्षको समय लगाएर खाका तयार पारेको छ । सोही टोलीले बुधबार बुटवलमा दस्तावेजका सन्दर्भमा परामर्शसमेत गरेको छ ।
प्रदेशको उद्योग, वन, पर्यटन, वातावरण मन्त्रालयले लुम्बिनी विकास कोषको सहकार्यमा बुद्धबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गर्दै दस्तावेज सार्वजनिक गरेको थियो । सो अवसरमा उद्योग, वन, पर्यटन, वातावरण मन्त्री लिला गिरीले बुद्ध सर्किटको राष्ट्रिय दस्तावेजले मुलुकका धेरै क्षेत्रहरु समेटेको भन्दै अब यस्को कार्यान्वयनमा जुट्न जरुरी रहेको बताउनुभयो । उहाँले रुपन्देहीको रोहिणी नदी र त्यसको बुद्धकालिन सभ्यता र बुद्धबल्लीको बुटवल सभ्यतालाईसमेत समावेश गर्न सुझाव दिनुभयो ।
लुम्बिनी विकोस कोषका उपाध्यक्ष भिक्षु मेतैया, विज्ञ डा.मिलन शाक्य, रामचन्द्र सेढाइँसहितका विज्ञहरुले दस्तावेजमा आएका सुझावहरुलाई समेटेर अन्तिम रुप दिइने बताउनुभएको थियो । गत वर्ष गठन भएको विशेष टोलीले यही असार मसान्तसम्म अन्तिम खाका तयार पार्ने बताइएको छ । बुद्ध–सर्किटलाई मुलुकभर फैलाउने उद्देश्यका साथ यस खालको दस्तावेज बनाइएको बुद्ध–सर्किट नेपालको खाका बनाउने समितिका सदस्य तथा पर्यटनविद् विज्ञ सेढाईंले बताए । 
अहिले तयार पारिएको दस्तावेजमा लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालिन सम्पदाहरुलाई समेटिएको छ । साथै नेपालका पूर्व–पश्चिम, उत्तर–दक्षिणका हिन्दु–बौद्धसंग सम्बन्धित क्षेत्रहरुलाई सर्किटको रुटमा समावेश गरेर विशेष सर्किट, वर्तमान अवस्था र त्यसका सम्भावनाहरुलाई उल्लेख गरिएको छ । लुम्बिनीदेखि कैलास मानसरोवरसम्मको रुट सर्किटमा समेटिएको छ । यस्तै चीनले सुरु गरेको वान वेल्ट वान रुटको रेशम मार्गमासमेत यो बुद्ध सर्किटको रुटलाई जोडिएको छ ।  


ग्रेटर लुम्बिनी बुद्धिष्ट सर्किटलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसमा लुम्बिनी–कपिलवस्तु–सैनामैना–बुटवल–तानसेन–देवदह–रामग्राम क्षेत्रलाई समावेश गरिएको छ । योसहित पूर्वको हलेसी हुँदै कोरला, सगरमाथा क्षेत्र, कञ्चनजंघा र मानसरोवर सम्मको आठ वटा रुटको दस्तावेज तयार पार्दै त्यसैमा परामर्श गरिएको थियो । सो क्रममा यहाँका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, पर्यटनविद् तथा संस्कृति विज्ञ, नागरिक अगुवा तथा पर्यटन व्यवसायीहरु सहभागी थिए । 
बुद्धकालिन सैनामैनाको सभ्यतालाई समावेश गरेर विशेष सर्किट बनाएकोमा धन्यवाद दिंदै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अब सैनामैनाको बुद्धकालिन सभ्यताको उत्खनन् र संरक्षणमा विशेष योजना बनाइने बताउनु भयो । सैनामैनालाई यो दस्तावेजमा ग्रेटर लुम्बिनी बुद्धिष्ट सर्किटमा समावेश गरिएको छ । बुद्ध आफैले जीवनमा एकपटक लुम्बिनी (बुद्ध जन्मभूमि) का साथै भारतमा रहेका बोधगया (ज्ञानप्राप्त भूमि), सारनाथ (पहिलोपटक शिष्यलाई ज्ञान दिनुभएको भूमि) र कुशीनगर (परमधाम गमन) को भ्रमण गर्नुपर्ने बताउनु भएको थियो । यिनै क्षेत्रलाई समेटेर भारतले समेत बुद्ध सर्किट बनाइरहेको छ । 


यस्ता छन् सर्किटहरु
अन्तर्राष्ट्रिय बौद्ध सर्किट ः
बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, चीन–तिब्बत, कोरिया, जापान, म्यान्मार, भुटानजस्ता देशहरूका बीचमा बन्ने बौद्ध सर्किट । 
प्रमुख बौद्ध तीर्थस्थलहरू बीचको बौद्ध सर्किट ः प्रमुख तीर्थस्थलहरू लुम्बिनी, बोघगया, सारनाथ र कुशीनगर बीचमा बन्ने बौद्ध सर्किट ।
राष्ट्रिय बौद्ध सर्किट ः नेपालका प्रमुख तीर्थस्थलहरू लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्ध बीचमा बन्ने बौद्ध सर्किट । 
स्थानीय बौद्ध सर्किट ः लुम्बिनी, कपिलवस्तु, कुदान, गोटिहवा, निग्लिहवा, सागरहवा, सैनामैना, बुटवल, रामग्राम, देवदह लगायतका लुम्बिनी वरिपरिका प्रमुख बौद्ध तीर्थस्थलहरू बीचमा बन्ने बौद्ध सर्किट । 
लुम्बिनी बृहत् परिक्रमा (सर्किट) ः लुम्बिनी–कपिलवस्तु–सैनामैना–जितगढी–बुटवल–देवदह–नवलपरासीको रामग्रामलगायत लुम्बिनी गुरुयोजनाले चर्चेको तीन वर्ग माइल क्षेत्रको वरिपरि परिक्रमा गर्ने गरी अर्को सर्किट बनाइने छ ।
हिन्दु–बौद्ध सर्किट ः हिन्दु र बौद्ध दुबै धर्मावलम्बीहरूले सामुहिक तीर्थस्थलको रूपमा लिइने लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, पाल्पा–पोखरा, रुरु–रेशुङा, मनकामना, बेनी–मुक्तिनाथ–कागबेनीजस्ता तीर्थस्थलहरू बीचमा बन्ने बौद्ध सर्किट ।
बौद्धकालिन सम्पदाको संरक्षण र उत्खनन्को खाँचो
कपिलवस्तु, रुपन्देही र नवलपरासीमा दुई सयभन्दा बढी बुद्धसम्बन्धी पुरातात्विक स्थल छन् । बद्धबल्लीमा पर्ने रुपन्देहीका बुटवल, सैनामैना, देवदह, तिलोत्तमा क्षेत्रमा कैयौं सम्पदाहरु त्यसै पुरिएको, नासिंदै र मासिंदै गएको अवस्था छ । कपिलवस्तुका सम्पदा र बुद्धकालिन सैनामैना सभ्यताको त उत्खनन् हुनै सकेको छैन् । सैनामैना क्षेत्रमा बुद्धकालिन समयमा कैयौं वस्तुहरु लुम्बिनीमा लगिएको छ भने कतिपय स्थानीय बासिन्दाको अज्ञानताका कारण हराएको अवस्था छ । कपिलवस्तुमा मात्रै एक सय ३६ भन्दा बढी धेरै पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक पर्यटकीय बौद्धस्थल पत्ता लागेका छन् । जमिन मुनी दबिएर रहेको अवस्थाको हजारौं वर्ष पुरानो सभ्यताको (दरबार क्षेत्र) उत्खनन् हुन सकेको छैन् । मुख्यमन्त्री शंकर पोखरेलको पहिलो जोड यीनै हजारौं वर्ष पुराना सभ्यताहरुको संरक्षण र उत्खनन् मै छ । यसो हुन सक्यो भने मुलुकको पहिलो पर्यटकीय गन्तव्य नै यो क्षेत्र हुने उहाँको विश्वास छ । यस क्षेत्रमा रहेका  सात बुद्धस्थलको अन्वेषण, उत्खनन् गर्नुपर्नेमा मुख्यमन्त्रीको जोडबल रहँदै आएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top