सांसदका प्रश्नहरुको एकै जवाफ : नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको छ  

राजनीति असार १३ २०७५ ekhabarnepal
12587956123

काठमाडौँ असार १३,
 प्रतिनिधिसभाको आजको बैठकमा ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गरेका हुन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नै नेपालको परराष्ट्र नीति निर्देशित गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफमा उनले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गरेको बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीले पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धका आधारमा हालै प्रधानमन्त्रीबाट छिमेकी देश भारत र चीनको भ्रमण सम्पन्न गर्नुभएको जानकारी दिँदै भ्रमणका क्रममा भएका सहमति एवं सम्झौता कार्यान्वयनमा आएको बताए । 

उनले नेपालको सीमा सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल र भारतबीचका सीमा स्तम्भ मर्मत कार्य जारी रहेको जानकारी दिए । परराष्ट्र मन्त्री ज्ञवालीले भने, ‘वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हक, हित तथा अधिकार सुरक्षित गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध छ ।’ 

प्रवासमा काम गर्न गएकामध्ये दुर्घटनामा परी विभिन्न देशमा हाल २० जना नेपाली कोमामा रहेका र ३३५ कारागारमा रहेका जानकारी दिँदै उनले राजदूत नियुक्ति कार्य व्यवस्थित बनाइने जानकारीसमेत दिए । आर्थिक कूटनीतिलाई अझ व्यापक बनाउने र आर्थिक कूटनीतिमार्फत समृद्धि हासिल गरिने चर्चा गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले विदेशस्थित नेपाली राजदूतावासलाई आर्थिक कूटनीतिमा परिचालनसमेत गरिने र राहदानीलाई अझ व्यवस्थित गरिने बताए । संसद् बैठक जारी छ । 

प्राप्त प्रतिकृयाहरू

To Top