बागलुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु 

समाज असार १२ २०७५ ekhabarnepal
Pahiroo 1587962

काठमाडौँ असार १२,  

बागलुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

भीषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको हो । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले नजिकैको अर्को घरमा पनि सामान्य क्षति पुगेको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो।

पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिंह थापाले बताए।इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए। घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ। मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top