बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत, समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प

समाज असार ८ २०७५ ekhabarnepal
Img 6440

 

–महानगरीय अवधारणा बनाइने
–मुख्य बजार क्षेत्र लक्षित गरेर पार्किङ हाउस बनाउन अध्यय्न गरिने
–नयाँ घर बनाउँदा पार्किङ अनिवार्य गरिने, प्रोत्साहन पनि दिइने
–ट्रमा सेन्टर निर्माण गर्न जग्गाको व्यवस्था गरिने
–एक वन तीन पोखरी कार्यक्रम सञ्चालन गरिने, प्रति पोखरी दुई लाख अनुदान
–पाँच सय युवालाई स्वरोजगार बनाउन सीपयुक्त तालिमको तयारी
–ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल, असार ८ । बुटवल उप–महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरको शुक्रबार सुरु तेस्रो सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलबासीको संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । शुक्रबारको नगर सभामा प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा उहाँले जनतालाई साथमा लिएर विधि र प्रकृया पूरा गर्दै सुशासन कायम गराउन सुझाव दिनुभयो ।
‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । जनस्वास्थ्य प्रवद्र्धन सम्बन्धी नीति अन्तर्गत नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ भने मोतिपुर र सेमलारका स्वास्थ्य चौकीमा १५ सैयाका अस्पतालका रुपमा विकास गर्ने नीति लिइएको छ । मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी तथा नतिजामुखी सुधारका लागि उपप्रमुख गर्भवती भेट अभियान सञ्चालन गरिने भएको छ । यस्तै स्वास्थ्य स्वयमसेविका मार्फत सबै घरधुरीमा नागरिकसंग जनप्रतिनिधि अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ । छिमेकी स्थानीय सरकारहरुसंग प्राकृतिक स्रोत, छाडा चौपाया सरसफाई व्यवस्थापन, बारुणयन्त्र सञ्चालनलागयत कामका लागि समन्वय र सहकार्य गर्दै महानगरीय अवधारणाका साथ अगाडि बढ्ने नीति लिइएको छ ।  
जनसहभागितामा आधारित कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै प्रतिस्पर्धामा आधारित बनाइने र कामका आधारमा सम्मान गर्नेसमेत नीति बनाइएको छ । यसैगरी बुटवललाई विषादीरहित खाद्य वस्तु उपलव्ध हुने सहरका रुपमा पहिचान गराइने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने, कौशी तरकारी खेती कार्यक्रमलाई निरन्तरता दिइने उपमहानगरले नीति बनाएको छ । साथै कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने नीति बनाइएको छ ।
नगरपालिकाद्वारा संचालन गरिने सबै किसिमका विकास आयोजनाहरुमा नेपाली मात्र कामदार श्रमिक प्रयोग गरी समयसीमामा सम्पन्न गर्ने उपभोक्ता÷निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने नीति बनाउन लागेको छ । पार्किङको समस्या समाधानका लागि उपमहानगरले दीर्घकालिन योजना बनाउन लागेको छ । निर्माण यस्का लागि बढि भिडभाड हुने क्षेत्रलाई लक्षित गरेर अन्डरग्राउडसहितका व्यवसायिक पार्किङ भवनहरु बनाउन अध्यय्न गरिने भएको छ । सार्वजानिक–नीजि–सहकारी साझेदारी मार्फत पार्किङ हाउस बनाउन अध्यय्न सुरु गर्ने उपमहानगरको तयारी छ । साथै एक हजार स्कायरफिट भन्दा धेरै क्षेत्रफल ओगटेर पार्किङसहितका नयाँ भवन बनाउनेलाई प्रोत्साहन स्वरुप नक्सा प्रक्रियामा ४० प्रतिशत छुट दिने नीति लिइने भएको छ । यो सुविधा मुख्य शहरी क्षेत्र भन्दा बाहिरकालाई समेत प्रदान गरिने भएको छ । 
नगर क्षेत्रभित्र सार्वजानिक नीजि सहकारी अवधारणा बमोजिम अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्ने जग्गा व्यवस्थापन गरिने भएको छ । कम्तिमा ५० जना स्वदेशी श्रमिकलाई रोजगार दिने रोजगारदाता वस्तु वा सेवा उद्योगलाई तोकिएको व्यवसाय करमा ५० प्रतिशत छुट दिने नीति लिईने भएको छ । मेडिकल कलेज, इन्जिनियरिङ्ग कलेज, टेक्नीकल कलेज तथा स्टार होटल वा पर्यटक स्तरीय सेवा उद्योग नगरमा संचालन गर्नेलाई निर्माणका लागि विद्युत ट्रान्सफर्मर, खानेपानी, बोरिङ र पहँुच मार्ग निर्माणमा लाग्ने रकमको ४० प्रतिशत रकम अनुदान दिने नीति लिइएको छ । 
जमिनमुनीका पानीका प्राकृतिक स्रोतहरु सुक्दै र नाशिंदै गइरहेको समयमा वाटर रिचार्ज सिस्टमलाई मद्दत मिल्ने गरी वनहरुमा पोखरी निर्माण गरिने भएको छ । सामुदायिक वनहरुसँगको सहकार्यमा एक वन तीन पोखरी निर्माण कार्यक्रमका लागि प्रति पोखरी रु दुई लाखका दरले अनुदान दिइने भएको छ । सामुदायिक वनहरुसँग समन्वय गरी पोखरी निर्माण जलाधार संरक्षण पार्क व्यवस्थापन अग्नीपथ र जंगल सफारी ट्र्याक निर्माण गर्ने नीति लिइनेछ । साथै वडा–वडामा पोखरी निर्माण गरी माछा पालनसहित अनुदानमा आधारित कार्यक्रमहरु बनाइने भएको छ । 
तिनाउ जलाधार संरक्षणका लागि तिनाउ जलाधार संरक्षण योगदान कोषसँग सहकार्य गर्ने नीति लिइनेछ । बुटवलका ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको उत्खनन, संरक्षण र प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने नीति लिइने भएको छ । ऐतिहासिक जीतगढी किल्ला समिपमा रहेको वस्तीलाई प्रचलित कानून बमोजिम हटाई खुल्ला गर्ने नीति लिइने भएको छ । जितगढी संग्रालयको लागि आवश्यक पूर्वाधार यसै वर्ष आरम्भ गर्ने उपमहानगरको तयारी छ । 
नगरमा रहेको युवा वेरोजगारीको अन्त्यका लागि प्रत्यक वर्ष पाँच सय जनाका दरले सिपमूलक तालिम प्रदान गरिने भएको छ । स्वरोजगार कार्यक्रम संचालन गर्न ‘मेयर युवा इलम कार्यक्रम’ संचालन गरिने भएको छ । लैंगिक तथा घरेलु हिंसा, यौन शोषण, जोखिममा परेका बालबालिका अपाङ्गता भएका तथा यौनिक अल्पसंख्यकहरुलाई विशेष कार्यक्रम संचालन गरिने भएको छ । नगर प्रज्ञा प्रतिष्ठान गर्दै कला संस्कृतिको संरक्षण गरिने भएको छ । महिला, जनजाति, दलित, आदिवासी, उत्थान कार्यक्रम संचालन गर्ने नगरको नीति कार्यक्रममा छ । महिला, जनजाति दलित, आदिवासी र दलित उत्थान समितिहरु गठन गरी लक्षित वर्गको सशक्तिकरणका लागि कार्यक्रम संचालन गरिने भएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनको लागि जेष्ठ नागरिक स्वास्थ्य अभियान अन्तर्गत स्वास्थ्य परीक्षण शिविर र सहयता सामग्री वितरण, घरदैलो स्वास्थ्य परीक्षणलगायत विभिन्न कार्यक्रम संचालन गरिनेछ । 
आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको विकास र विस्तार गर्दै लगिने भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नरको व्यवस्था गरिनेछ साथै किशोरकिशोरी मैत्री सेवाको शुरुवात लागि आवश्यक पहल गरिनेछ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै विद्यालयमा एकजना स्वास्थ्यकर्मीको अनिवार्य व्यवस्था गनएको लागि आवश्यक कदम चालिनेछ । बुटवललाई मुख्य थलो बनाएर खोलिएका फर्म, कम्पनी, उद्योग तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वको रुपमा खर्च गर्नुपर्ने रकमलाई पारदर्शी र प्रभावकारी बनाउन सामाजिक उत्तरदायित्व कोषको स्थापना गरिने भएको छ । नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । शनिबार अर्को नगर सभा बैठक बस्ने छ । नगर उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा नगरप्रमुखले प्रस्तुत गर्नुभएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top