वाइनको थोरै सेवन मधुमेहका लागि फाइदाजनक

स्वास्थ्य असार ७ २०७५ ekhabarnepal
 97164143 alcoholgetty

बीबीसी

जुन व्यक्तिले हप्तामा तीन देखि चार पटकसम्म मदिरा सेवन गर्छन् उनीहरुलाई कहिल्यै मदिरा सेवन नगर्ने व्यक्तिहरुलाई भन्दा टाईप २ मधुमेह रोग लाग्ने सम्भावना कम रहेको डेनमार्कका अनुसन्धानकर्ताहरुले जनाएका छन्।

रगतमा चिनीको मात्राको व्यवस्थापन गर्ने सम्भावनाका कारण खासगरि वाइनको सेवन फाइदाजनक हुनसक्ने डायवेटोलोजियामा प्रकाशित उक्त अध्ययनमा भनिएको छ।

अनुसन्धानकर्ताहरुले ७० हजार मानिसहरुलाई उनीहरुले सेवन गर्ने मदिराको परिमाण र उनीहरुले कतिचोटी पिउँछन् भन्ने बारे सोधपूछ गरेका थिए।

तर विशेषज्ञहरुले यसलाई तोकिएको परिमाण भन्दा बढी मदिरा सेवन गर्न अनुमती मिलेको रुपमा नलिन भनेका छन्।
पब्लिक हेल्थ ईङ्गल्याण्डले मदिरा सेवन क्यान्सर, मुटु र कलेजोसँग सम्बन्धित अन्य कतिपय गम्भीर रोगका कारक हुने चेतावनी दिएको छ।

"मानिसहरुले कति मदिरा सेवन गर्ने भन्ने बारेमा सोच्दा यो यथार्थलाई पनि ध्यानमा राख्नु पर्छ,' एकजना प्रवक्ताले भनिन्।

उक्त अध्ययनको नेतृत्व गरेका युनिभरसिटी अफ साउदर्न डेनमार्कका प्राध्यापक यान टल्स्ट्रपले भने, "हामीले देख्यौं कि एकै पटक धेरै मदिरा सेवन गर्नुभन्दा चार हिस्सामा बाँडेर सेवन गर्नु राम्रो हुन्छ।"

उक्त सर्वेक्षणमा सम्मिलित सहभागीहरुमाथि पाँच वर्षपछि पुन: स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमा ८५९ पुरुष र ८८७ महिलालाई टाईप १ वा धेरैलाई लाग्ने टाईप २ प्रकारको मधुमेह लागेको पत्ता लाग्यो।

हप्तामा एक पटक भन्दा कम मदिरा सेवन गर्ने मानिसको तुलनामा थोरै थोरै परिमाणमा हप्ताको तीन देखि चार पटकसम्म मदिरा सेवन गर्ने महिलाहरुमा मधुमेहको जोखिम ३२ प्रतिशतले कम भएको र पुरुषमा २७ प्रतिशतले कम भएको निचोड अनुसन्धानकर्ताहरुले निकालेका छन्।

उक्त अध्ययनले सबै प्रकारका मदिराले एकै किसिमको प्रभाव नपार्ने समेत देखाएको छ।

मदिरामध्ये विशेषगरि रेड वाइनमा हुने पोलीफेनल्स पदार्थका कारण त्यसको सेवनले रगतमा चिनीको मात्रा व्यवस्थापन गर्न फाइदाजनक हुनसक्ने बताइएको छ।

हप्तामा कम्तिमा एउटा वियर खाने पुरुषको तुलनामा ६ वटासम्म वियर सेवन गर्ने पुरुषलाई मधुमेहको जोखिम २१ प्रतिशतले घटेको तथ्य अध्ययनवाट फेला परेको छ। तर महिलाहरुमा भने यसको त्यस्तो कुनै प्रभाव देखिएन।
 

प्राप्त प्रतिकृयाहरू

To Top