बुटवल उपमहानगरको सार्वजनिक सुनुवाई –सुशासनको अनुभूति हुनुप¥यो–सहभागी

समाज असार ५ २०७५ ekhabarnepal
Img 6306


समृद्ध बुटवलका लागि योगदान गर्न नगरबासीलाई आग्रह
बुटवल, असार ४ । बुटवल उपमहानगरका बासिन्दाहरुले विकास निर्माणका कामलाई तोकिएको समयमै सक्दै टिकाउ र गुणस्तरीय बनाउन सुझाव दिएका छन् । साथै नगरको सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन पनि नगरबासीको सुझाव छ । 
बुटवल उपमहानगरपालिकाको सेवा प्रवाहका बारेमा नगरबासीको सुझाव लिन सोमबार सार्वजनिक सुनुवाई गरेको छ । उपमहानगरको परिसरमा आयोजित सोही सार्वजनिक सुनुवाईमा सहभागी नगरबासीहरुले सेवाप्रवाहलाई छिटो छरितो बनाउँदै सुशासनको अनुभूति दिलाउन आग्रह गरेका हुन् ।  
सार्वजनिक सुनुवाईमा उपमहानगरका १९ वटै वडाका अगुवा तथा सर्वसाधारणहरुको सहभागिता थियो । त्यसक्रममा नगरबासीहरुले बुटवलको खानेपानी, सडक, विद्युत र ढल–नालीलगायतका समस्यालाई दीर्घकालिन रुपमै समाधान गर्न जरुरी रहेकोमा जोड दिए । ज्येष्ठ नागरिक, महिला, एकल महिला, युवा तथा विद्यार्थीहरु, मजदुर, उद्यमी तथा व्यवसायीहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । 
उनीहरुले जनप्रतिनिधिहरु आइसकेपछि सबैतिर उत्साह बढेपनि विकास निर्माणका कामहरु भने अझै पनि समयमै सम्पन्न हुन नसकेको टिप्पणी गरे । केही परिवर्तनको अनुभूति हुँदै गएको तर, सेवाग्राहीको अपेक्षा अनुसारका कामहरु प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको उनीहरुको गुनासो थियो । 
सहभागीहरुले वर्षात्मा धमिलो पानी आउने गरेको, केही टोलहरुमा पानी नियमित नआएको, विद्युतका पोलहरु जीर्ण रहेको, अञ्चल अस्पताल र आम्दा आस्पतालहरुमा सेवा प्रवाह कमजोर रहेको, आयुर्वेद अस्पताललाई पनि प्रभावकारी गराउन नसकिएको भन्दै ति क्षेत्रमा जवाफदेहीताको माग गरेका थिए । त्यस्तै तिनाउ र दानव नदीको कटान रोक्न, सुखौरा खोलाको अतिक्रमण रोक्न, सरसफाईका काममा समुदायलाई पनि सामेल गराउन सुझाव दिए । कार्यक्रममा सहभागीहरुले बुटवलको ई–रिक्सालाई व्यवस्थित बनाउन पनि सुझाव दिए । उनीहरुले आवश्यकता भन्दा धेरै ई–रिक्सा सञ्चालन हुँदा सहर अस्तव्यस्त बनेको र दुर्घटनाको जोखिम बढाएको भन्दै तत्काल व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 
समृद्ध बुटवलका लागि योगदान गर्नुस्ः प्रमुख
सार्वजनिक सुनुवाईमा उपमहानगरका प्रमुख शिवराज सुवेदीले ऐतिहासिक बुटवललाई समृद्ध नगरका रुपमा विकास गर्नेगरी आफुहरुले आवधिक र दीर्घकालिन महत्वका योजना बनाएको भन्दै समृद्धिको काममा योगदान गर्न नगरबासीलाई आग्रह गर्नुभयो । नागरिकहरुको सहयोग, सहभागिता र सहकार्यमा मात्रै समृद्धिको संकल्प पूरा हुने भन्दै प्रमुख सुवेदीले जवाफदेही सरकार र कर्तव्यमुखी नगरबासीको समयन्यमा मात्र सम्भव हुने बताउनुभयो । यो अवधिलाई अध्यय्न वर्षका रुपमा लिइएको र अब त्यसकै आधारमा सीप प्रदर्शन गर्नेगरी काम सुरु हुने प्रमुख सुवेदीको भनाइ थियो । 
बुटवलले २६ वटा कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको छ भने, छ वटा कार्यविधि बनाएर काम अगाडि बढाइसकेको जानकारी दिंदै उपप्रमुख गुमादेवी आचार्यले अब बाँकी छ वटा कार्यविधि र केही निर्देशिकाहरु बनाउने तयारीमा उपमहानगर रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले उपमहानगरको सेवा प्रवाहलाई सुशासनयुक्त बनाइएको भन्दै कतिपय गुनासाहरुको पनि अब चाँडै सम्बोधन हुने बताउनुभयो । उहाँले कर तिर्ने बानी बसाल्न र कर तिरेपछि समृद्धिमा योगदान हुन्छ भन्ने कुरा नभुल्न पनि नगरबासीहरुमा आग्रह गर्नुभयो ।
सो अवसरमा सेवाग्राहीका जिज्ञासाको जवाफ दिंदै लुम्बिनी अञ्चल अस्पतालका मेसु डा.कृष्ण खनाल, आम्दा अस्पतालका निर्देशक विनोद पराजुली, सडक विभागका प्रतिनिधि ईन्जिनियर रामपुकार जयसवाल, टेलिकमका विजेश शर्मा तथा इलाका प्रहरी कार्यालयका बसन्त पाण्डेलगायतले सुशासनको अनुभूति दिलाउने गरी आफुहरुले काम गरिरहेको बताउनुभयो । 
सार्वजनिक सुनुवाईको सहजिकरण पत्रकार खिमानन्द भट्टराई र विक्रम खड्काले गर्नुभएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top