चुरे–तराईको संगम पार्क बनाउने तयारी

मनोरञ्जन असार ४ २०७५ ekhabarnepal
Laxmi park photo


बुटवल–४ को लक्ष्मीपार्कलाई विस्तार गरिँदै

बुटवल, असार ४ । बुटवलको लक्ष्मी पार्कलाई हिलपार्कसंग जोडेर विकास गरिने भएको छ । बुटवल वडा नं. ४ मा रहेको उक्त पार्कलाई थप व्यवस्थित बनाउँदै नमुना बनाउन लागिएको हो । 
पार्क परिसरमा एक भेलाको आयोजना गरी पार्कको व्यवस्थित विकासका लागि तयारी अगाडि बढाउनेसमेत निर्णय भएको वडा अध्यक्ष टंकप्रसाद पराजुलीले जानकारी दिनुभयो । 
उक्त पार्क चुरे पहाडको फेंदमा ८ विगाहामा फैलिएको छ । चुरे र तराईलाई जोडेर नमुना हरियाली पार्क बनाउने गरी गुरुयोजनासमेत निर्माण भएको अध्यक्ष पराजुलीको भनाइ थियो । 
उक्त भेलामा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीलाई केन्द्रमा राखेर बुटवलका सबै ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको एकीकृत विकास गरिने बताउनु भयो । 
उहाँले एतिहासिक जितगढी सम्पदाको गुरुयोजना बनिरहेको भन्दै उपमहानगरका अरु क्षेत्रहरुलाई पनि समेटेर व्यवस्थित गुरुयोजना बनाउन लागिएको बताउनुभयो । चुरे पहाडको अध्यय्न, हरियाली र पर्यावरणका बारेमा अध्यय्न र जैविक विविधताका बारेमा समत अध्ययन गर्न मिल्ने खालका व्यवस्थित पार्कहरु निर्माण गर्न लागिएको प्रमुख सुवेदीको भनाइ थियो । 
वडा अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको भेलामा बुटवलका वडा ३ का अध्यक्ष लालप्रसाद बस्याल, ५ का अध्यक्ष तेजप्रसाद विश्वकर्मा, ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वडा सदस्य चीनबहादुर गुरुङ, समाजसेवी सरद ओली, लक्ष्मीनगर विकास केन्द्रका अध्यक्ष परमानन्द भट्टराईलगायतले बोल्दै लक्ष्मी पार्कलाई गुरुयोजना बनाएर विकास गर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको थियो । 
पार्कको गुरुयोजना तयार भइसकेको छ । सोही आधारमा निर्माण कार्य अगाडि बढाउने गरी तयारी सुरु भएको हो । पार्कलाई चुरे–तराईको संगम पार्कका रुपमा विकास गर्नेगरी तयारी भइरहेको वडा अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
सोही भेलाले पार्क विस्तारका लागि विधान तयार पार्ने र आवश्यक प्रक्रियाहरु अगाडि बढाउन ११ सदस्यीय तयारी समितिसमेत गठन गरेको छ । जस्को अध्यक्षमा बाबुराम ढकाल रहनुभएको छ । 
भने, सदस्यहरुमा यमबहादुर थापा, परमानन्द भट्टराई, सुरेन्द्र श्रेष्ठ, सरस्वती कुवँर, बीरमान लामा, धना कार्की, इन्द्रबहादुर थापा रहेका छन् । समितिका सल्लाहकारमा नारायणप्रसाद भट्टराई रहनुभएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top