चार वर्षदेखि सडकमा बस्दै आएका वेवारिसे व्यक्तिको उद्धार

समाज असार २ २०७५ ekhabarnepal
S


तिलोत्तमा, असार १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा लामो समयदेखि बस्दै आएका एक वेवारिसे व्यक्तिको उद्धार गरी पालनपोषण र उपचारका लागि भरतपुर पठाएको छ । मणिग्राम चोकमा बस्दै आएका ती व्यक्तिको संरक्षक पत्ता नलागेसम्म अभिभावकत्व लिनेगरी नगरपालिकाले भरतपुर–१०, बाइपासरोड स्थित मानवसेवा आश्रम पठाएको हो ।  
स्थानीय बासिन्दाका अनुसार झण्डै चार वर्षदेखि ती व्यक्ति दिनरात मणिग्राम चोकको खुला आकाशमुनि बस्दै आएका थिए । स्थानीय बासिन्दाले दिएको खानेकुराले पेट भर्ने गरेका ती व्यक्ति भीषण पानी, टन्टलापुर घाम वा हुरीबतास चल्दा समेत खुला आकाशमुनि बस्दै आएका थिए । 
मणिग्राममा सडक विस्तार नहुँदासम्म ती व्यक्ति विद्युत् ट्रान्समिटर मुनि बस्दै आएका थिए । तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बीपी गौतम र तिलोत्तमा व्यापार संघका द्धितीय उपाध्यक्ष रामचन्द्र पाण्डेको विशेष सक्रियतामा ती व्यक्तिलाई मानवसेवा आश्रम पुर्याइएको हो । व्यापार संघले ती व्यक्तिको उद्धारका लागि बीस हजार रुपैंयाँ उपलब्ध गराएको छ । 
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सम्बद्ध संघ–संस्था तथा निकायको सहकार्यमा वेवारिसे सडक मानवको उद्धारका लागि नगरपालिकाले आगामी दिनमा पनि पहल गर्ने बताउनुभयो । स्थानीय बासिन्दाको समेत सहयोगमा ती व्यक्तिलाई नुवाईधुवाई गराएर नयाँ कपडा फेराई भ्यान रिर्जभ गरी भरतपुर पठाइएको नगरपालिकाकी  महिला विकास अधिकृत भगवती अर्यालले जानकारी दिनुभयो । ती व्यक्तिको उद्धारप्रति मणिग्रामबासीले खुशी व्यक्त गरेका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top