प्रधानमन्त्री ओलीको  चीन यात्रा ,यस्ता छन् चीन प्रस्तावित महत्वपूर्ण १० सम्झौता 

राजनीति असार १ २०७५ ekhabarnepal
Images

 

काठमाडौं- नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउने घोषित उद्देश्यका साथ प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक यात्रामा मंगलबार बेइजिङ प्रस्थान गर्दैछन्।
मंगोलियामा आयोजित भूपरिवेष्ठित, अल्प विकसित तथा साना टापु राष्ट्रहरुको थिङ्क ट्याङक सम्मेलनमा जाने र आउने क्रममा बेइजिङमा रोकिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो चीन यात्रामा सन् २०१६ मार्चमा भएका व्यापार तथा पारवहन सहमतिको ढाँचा भित्र रहेर ‘प्रोटोकल’ निर्धारण गर्ने र त्यो सँगै १० महत्वपूर्ण विषयमा दुई पक्षीय सम्झौता हुने खुलाएका छन्।
मन्त्री ज्ञवालीका अनुसार नेपालका सात वटै प्रदेशमा प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन तथा उद्धार कार्यालय खोल्न चीनलाई अनुमति दिन पनि नेपाल तयार भएको र संभवत प्रधानमन्त्री ओलीको यही भ्रमणमा त्यसले औपचारिकता पाउने छ।
खासगरी ट्रान्स हिमालयन करिडोर तथा बहुआयामिक  कनेक्टिभिटी नेटवर्क अवधारणा अन्र्तर्गत रेल,  सडक , हवाइ मार्ग, ट्रान्समिसन लाइन, बन्दरगाहा निर्माण, अप्टिकल फाइबर विच्छयाउने  र सांस्कृतिक आदानप्रदान  लगायतका विषय समेटेर सम्झौता र समझदारी हुने मन्त्री ज्ञवालीको भनाइ छ।
उनका अनुसार बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका सहयोगका विषयमा पनि छलफल जारी छ ।
राष्ट्रिय हितको दायरामा रही केही परियोजनालाई बिआरआई अन्तरगर्त पहिचान गर्न संघन छलफल भईरहेको र त्यसका लागि चीनमा एउटा विज्ञ टोली पुगेको मन्त्री ज्ञवालीले जानकारी दिए।
प्रधानमन्त्री ओली आगामी असार पाँच देखि १० सम्म चीन भ्रमणमा निस्कने निश्चित छ । बुधबार मात्रै दुवै मुलुकका परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिती सार्वजनिक गरिसकेका छन् ।
प्रधानमन्त्री ओली चीनमा रहँदा हुने १० सम्झौता 
१)कार्गोका  लागि तिब्बती हाइवेको प्रयोग सम्बन्धी प्रोटोकलमा सम्झौता हुने र  त्योसँगै चीनको तिव्वतसँग जोडिएका नेपाली सीमावर्ती क्षेत्रमा ८ वटा इन्ट्री प्वइन्टहरु खुल्ला हुने छन्।
२) केरुङ काठमाडौं क्रस बोर्डरको रेल मार्ग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने।
३) नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बनाउन  नेपाल र चीनका परराष्ट्र मन्त्रालयकाबीच एउटा संयन्त्र निर्माण गरिने सम्झौतामा हस्ताक्षर हुने ।
४) रसुवामा चीनले बनाइदिन लागेका दुईवटा मैत्री पुलको सम्झौतामा हस्ताक्षर हुने।
५) दुवै अर्थ मन्त्रालयबीच नेपालको उत्पादन क्षमता विस्तार (प्रोडक्सन क्यापासिटी विल्डप) सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने ।
६) उर्जा कोअपरेशनको ढाँचाभित्र खासगरी सम्भाव्यता अध्ययन र विकासलाई समेट्ने गरी उर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा पनि सम्झौता हुने ।
७) सीमापार विद्युत प्रसारण लाइन (क्रस बोर्डर ट्रान्सिमिसनलाइन) को निर्माण सम्झौता हुने।
८) नेपालको पुनर्निर्माणको क्षेत्रमा चिनियाँ सहयोगबारे द्विपक्षीय समझदारीमा हस्ताक्षर हुने।
९) नेपालको कृषिक्षेत्रको विकास र विस्तार सम्बन्धमा सम्झौता हुने।
१०) भूकम्पपछि बन्द रहेका तातोपानी नाका खुलाउन बाटो मर्मत र पुल निर्माण गरी आगामी जेठमा हस्तान्तरण गर्ने  सम्बन्धमा सम्झौता हुने।
प्रधानमन्त्री ओली चीन भ्रमणका बेला सम्झौता हुनसक्ने अन्य चार महत्वपूर्ण विषय यस्ता छन् 
१) स्वतन्त्र व्यापार सम्बन्धी अध्ययन जारी रहेको र त्यसमा सम्झौता हुन सक्ने।
२) दुई वर्षअघि ओली चीन भ्रमणमा रहेका बेला हस्ताक्षर भएको व्यापार तथा पारवहन सहमतिमा ‘प्रोटोकल’ लाई अन्तिमरुप दिन सक्नेबारे ओली यात्रामा सम्झौता हुन नसके त्यसको लगत्तै यसले औपचारिकता पाउने।
३) निजी उर्जा क्षेत्रको दुई वटा सम्झौतामा हस्ताक्षर हुने छ। नेपाली बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआइजी कम्पनीबीच मर्स्याङ्दीका दुई स्थानमा गरी करिब एक हजार मेगवाट विद्युत उत्पादन गर्ने सम्झदारीमा हस्ताक्षर हुने संभावना छ ।
४) नेपालका सातै प्रदेशमा आपतकालिन प्रकोप उद्दार संयन्त्र निर्माणका लागि सम्झौता हुने विषयमा छलफल जारी।
प्रधानमन्त्री ओलीको भ्रमण तालिका यस्तो छ 
१) बेइजिङ दूतावासले दिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुने।
२) नेपाली उद्यमी व्यवसायी र चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपिआइटी)बीचको छलफलमा भाग लिने।
३) नेपालको पर्यटन वर्ष २०२० लाई प्रर्वद्धन गर्ने उद्देश्यले ‘नेपाल चाइना फ्रेन्डसिप रन कार्यक्रम’ को उद्घाटन गर्ने ४) प्रधानमन्त्री ओलीको टोली र चिनियाँ प्रधानमन्त्रीको टोलीबीच वार्ता र सम्झौतापछि पत्रकार सम्मेलन गरिने।
५) राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गर्ने।
६) चिनियाँ जन कांग्रेसका अध्यक्षसँग पनि भेट गर्ने।
७) एआईआईवीका अध्यक्षसँग पनि भेट गर्ने ।
८) चीनको स्वशासित क्षेत्र तिब्बतमा  पार्टी सेक्रेटरीलाई भेट्ने र विकासको अवलोकन गर्ने छन्।

प्राप्त प्रतिकृयाहरू

To Top