विश्व फुटबल आजदेखि : ३२ देश, ६४ खेल, १२ रंगशाला र ७३६ खेलाडी

खेल जेठ ३१ २०७५ ekhabarnepal
Wc 2018


काठमाडौँ,जेष्ठ ३१,  विश्व फुटबलको महामेला विश्वकप फुटबल २०१८ बिहीबारदेखि रुसमा सुरु हुँदैछ । हरेक चारमा वर्ष हुने प्रतियोगिताले अर्को चार वर्षका लागि विश्व विजेताको छनौट गर्नेछ ।

विश्वकपका लागि सबै तयारी पूरा भएको आयोजक रुसले जनाएको छ । रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोहपछि यो विश्वकपको पहिलो खेलमा आयोजक रुस र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजेपछि सुरु हुनेछ ।

विश्वकपमा आयोजक रुससँगै ३२ देश सहभागी छन् । जसमा अघिल्लो पटकको विजेता जर्मनी पनि छ । ३२ दिनसम्म ६४ वटा खेल हुनेछन् ।

विश्वकपको २१ औँ संस्करणका खेल रुसका ११ शहरका १२ रंगशालमा हुने छन् । यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा समेटिएका छन् ।

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराएर विश्व विजेता बनेको जर्मनी यो पटक पनि विश्व विजेता बन्दै सन् १९६२ पछि लगातार विश्वकप जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ ।

यस्तै पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ पटक उपाधि उचाल्ने लक्ष्यसहित रुस पुगेको छ ।

एक महिनासम्म चल्ने प्रतियोगिता हेर्न विश्वभरबाट १५ लाख भन्दा धेरै मानिस रुस जाने अनुमान छ । यस्तै विश्वभर ३ अर्ब भन्दा धेरै मानिसले टेलिभिजनमार्फत विश्वकप हेर्ने अनुमान गरिएको छ ।

विश्वकपका लागि छनौट भएका ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । रहेक समूहमा चार चार टिम छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने छन् ।

फाइनल खेल आउँदो जुलाई १५ मा उद्घाटन खेल भएकै ८१ हजार दर्शक क्षमता भएको लुज्निक रंगशालामा हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले मैदानमा आफ्नो कला देखाउने छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top