सृष्टिका कारक मूलतत्व र हाम्रा पूर्वजहरु

बिचार जेठ २९ २०७५ ekhabarnepal
13138889 114974972245075 7090023999313769748 n


खेमचन्द्र ढकाल
सल्लाहकार, राष्ट्रपति, धर्म तथा सँस्कृति
नस्टेलोके द्विपरार्धावसाने, महाभूतं स्वाधिभूतं गतेषु । 
व्यक्तेऽव्यक्तं कालवेगेन याते, भवानेकः शिष्यते शेष संज्ञा

जीव सृष्टि र विकासको प्रारम्भिक रूप लेउदेखि मनुष्य जीवनसम्म आईपुग्न मनुष्यलाई करोडौं वर्ष लागेको छ । मानव जीवन प्राप्त गर्न मनुष्यले कठोर संघर्ष गर्दै आयो र वा–नरबाट नर वन्नका लागि पनि मनुष्यले लाखौं वर्षको कठोर जीवन यात्रा पार ग¥यो । लाखौं जीवहरुको अन्तिम र विकसित रुप मनुष्य हो । प्राचीन कालदेखि मानव–मानव वीच भीषण द्वन्द र जीवन–संघर्षको परिणामले उसलाई आधुनिक विकसित मनुष्य बनायो । आदि मानव जिनान्थ्रोपस, आस्ट्रेलोपिथेकश, रामापीेथेकश आदि यी हाम्रा पूर्खाहरुको र आधुनिक मानवको जीवन संघर्षको विकासको अवधि पनि लाखौं वर्षको छ । मानव–मानवबीचको द्वन्द र लडाईंहरु आदिम कालदेखि नै उत्पादन र विकासकै निरन्तरताका निम्ति थिए । तर कुनै कुनै कालखण्डमा समूह–समूहवीच भएका धेरै जसो द्वन्द वा संघर्षहरू उत्पादन विकास भन्दा पनि मानव प्रतिशोधका निम्ति भए जस्मा ठूलो मानवीय क्षतीहरु भए । ठूला–ठूला मानव विनाश भएका गाथाहरु हाम्रा पुराण, इतिहास र समाजशास्त्रहरुमा वर्णित छन् । जीव विकासको क्रममा लेउदेखि एक कोषीय जीव, बहुकोशीय जीव हुँदै आजको मानवमा विकसित भयो । मानवको करोडौं वर्षको संघर्षले आर्जन र संचित गरेका मानव मूल्य र मान्यताहरु आज अत्यन्त कमजोर बन्दै गईरहेका छन् ।
मनुष्य जीवन प्रकृति परमेश्वरको अथवा सत्वको अमूल्य उपहार हो । हामीले परमेश्वरका नामले पुकारिने महामानव र महामनिषीहरु सबै शौर्य पराक्रम र कष्ठसाध्य संघर्षका परिणामले परमेश्वर भएका हुन् । समाज वर्ण र कर्मका आधारमा विभाजन भए पछि कर्म श्रेष्ठताले भन्दा पनि वर्ण श्रेष्ठताले शासन गर्न थाले पछि मानिसभित्रको जुन मनुष्यत्व आध्यात्मिक थियो; त्यस तत्वलाई शासकहरुले आध्यात्मवादको जामा लगाएर बलात् शोषणको मूल साधन बनाए । तर मनुष्यको मनुष्यत्व आध्यात्मिक गुणमाथि थिचो–मिचो भए पनि त्यहि नै सत्य भएकाले त्यसैको जगमा भौतिकबादको उदय भयो । अब आध्यात्मबाद र भौतिकवाद अलग–अलग तत्व हुन् भनेर आध्यात्मवाद भौतिकवाद परिभाषित भए पनि आध्यात्मिक र भौतिक एकै हुन्, भौतिकको गुण आध्यात्मिक हो । सुक्ष्म ब्रम्हाण्ड (परमाणु) देखि लिएर अनन्त ब्रम्हाण्ड र समग्र जीवन जगत भौतिक हो; अथवा पाञ्चम भौतिक वा साश्वत पदार्थहरुको समूच्चय हो । 
पृथ्वी, पानी, हावा,ऊर्जा, आकाश, काल र दिक् यी सात पदार्थहरु मूल प्रकृति हुन् । यो भन्दा बाहिर कुनै जगत् वा ब्रम्हाण्ड छैन । आध्यात्मिकता भनेको गुण प्रकृति हो र त्यो भौतिक नै हो । आध्यात्मवाद र भौतिकवादको अलग–अलग परिभाषा गर्दा र छुट्याउनु पर्दा चिनाउने आधारभूत तत्व गुण हो । सृष्टि शब्दको अर्थ निर्माण हुनु, सृष्टि हुनु, प्रकट हुनु हो । सृष् सृष्टौ धातुरुपमा क्तिन् प्रत्यय भई सृष्टि शब्द बनेकोछ । यो शब्द मनुष्यले केवल आफ्नो सुविधाका लागि मात्र उच्चारण र उपयोग गरेको शब्द होइन, मनुष्यले आफ्नो जीवन संघर्ष, उत्पादन र विकासको क्रममा सम्पूर्ण पदार्थहरुको समूच्चय रुप मस्तिष्क र चेतनामा अनुभूत आफू र आफूभन्दा बाह्यजीवन र जगतलाई हेर्न, चिन्तन गर्न र बुझ्न प्रयास गरेदेखि नै अभिव्यक्त शब्द हो । यो व्यक्ति वाचक शब्द हो, व्यक्तिवाचक भन्नाले भनिएको वा व्यक्त गरिएको भन्ने हो ।  
सृष्टि हुनु भनेको कुनै वस्तु वा पदार्थ अस्तित्वमा आउनु, देखिनु हो र व्यक्त हुनु हो । हाम्रो आँखाले देख्न नसकिने सुक्ष्मतम वस्तुहरु पनि इन्द्रियानुभूतिमा आइरहेका हुन्छन् । सृष्टिका आधारभूत मूल तत्वहरु पृथ्वी, जल, तेज, वायु, आकाश, दिक् र काल गरि सातवटा छन् । यिनै सातवटा पदार्थहरुको संघटन हुँदाको अवस्थालाई सृष्टि भनिन्छ र विघटनको अवस्थालाई प्रलय भनिन्छ । सुक्ष्म ब्रह्माण्ड र स्थूल ब्रह्माण्ड—२ वटा ब्रहाण्ड छन् । पदार्थको सुक्ष्म ब्रह्माण्ड परमाणु रुप वा त्यो भन्दा हजारौं गुणा सुक्ष्म हुन्छ र त्यसैको गर्भमा सृष्टिको मूलाधार र अनन्त ब्रह्माण्ड हुन्छ । सुक्ष्म ब्रह्माण्डको अभावमा स्थूल ब्रह्माण्डको सृष्टि हुन सक्दैन ।
पदार्थको गुणले गुणीलाई छुट्टयाउँछ । गुण भिन्नताका कारणले वस्तुहरु फरक–फरक हुन्छन् । मिल्दा जुल्दा रंग र आकृतिका एकै किसिमका देखिने वस्तुहरु पनि मूल गुण तत्वका कारण फरक हुन्छन् । पानीको गुण शीतलता र वग्नु हो । पानी प्रत्यक्ष चक्षु इन्द्रिय ग्राह्य हुदाँहुदै पनि भिन्न–भिन्न ठाउँमा भिन्न–भिन्न रुपमा देखिने पानीको परमाणु अविनाशी हो । हावा रुप नभएको स्पर्शवान् तत्व हो । पानीमा शीतलता र स्पर्श पनि छ, तर वायुको रुप नभएकोले हावा र पानी फरक–फरक हुन् । त्यस्तै अरु पदार्थहरुमा पनि यही विज्ञानको नियम लागू हुन्छ ।
पदार्थका परमाणुहरु संघटन हुदा भौतिक जीवन र जगतको सृष्टि प्रारम्भ हुने र विघटन हुँदा प्रलय हुने विज्ञानको खोज महर्षि कपीलले गरेका थिए । सृष्टि कारक मूल पदार्थलाई संख्यामा बुझाउन मुनिले आविष्कृत दर्शन शास्त्रको नाम सांख्य रहन गयो । सांख्य दर्शन भौतिक सृष्टि सिद्घान्तको आदि विज्ञान हो । परन्तु आध्यात्मवाद र भौतिकवादको अलग–अलग परिभाषा गर्दा र छुट्याउनु पर्दा पदार्थहरुको सर्वोत्तम विकसित तत्व जीवन र जगत् श्रृष्टिको मूलाधार हो । भौतिकवादले जीवन र जगतको श्रृष्टिको मूलाधार पदार्थलाई मान्दै आएको छ । त्यसैले सबैजसो भौतिकहरु दृश्य र इन्द्रिय अनुभूत हुन्छन् । आध्यात्मिक चाहिं जीवमा, पदार्थको गुणको रूपमा मानवमा सत्व भएर प्रकट हुन्छ । तर समष्टिमा यी दुई अलग–अलग देखिए पनि एकै तत्व हुन्छन् । त्यसैले हेगेलको द्वन्दवाद र फायरवारदको भौतिकवादका विषयहरु यिनै थिए । यसैको जगमा महामनिषि कार्लमाक्र्सले द्वन्दात्मक भौतिकवादको सिद्धान्त बनाए । समाजको व्याख्याका आरम्भमा आदिम समाजको परिभाषामा एंगेल्स भन्छन् ः– आदिम मानव समाज प्रकृति भौतिकवादी समाज थियो । ती आदि भौतिकवादका प्रणेता को थिए त ? ती भौतिकवादका प्रणेता सबै आदिम महान्ऋषि, महर्षि र तपस्वीहरू थिए । उनीहरुले जीवन संघर्ष र उत्पादनको विकासका निम्ति संघर्ष गरेर त्यसको प्रतिफल स्वरुप उत्पादन र आविष्काहरु गरेका सुन्दर प्रकृति गायनका गाथा मानव र मानव मूल्यका गाथाहरु कृतिको रुपमा हजारौं वर्षसम्म वंशानुवंश उनीहरूले गाउँदै सजाउँदै आएका थिए । ती गाथाहरु (वेद ज्ञान) लाई जन–जनको सहज र सुगमताका लागि पुराण र इतिहासमा उनिहरुले सजाई दिए । तथापि ती मनुष्यलाई कर्मले परमेश्वर बनाउने अद्वितीय ज्ञानका र अनुशासनका मूल साधनहरु आध्यात्मवादको कित्तामा पारिएकाले अपहेलित भए । आदि सत्यवती नामले विख्यात भूमि नेपालका महिर्षि  कपील, महर्षि पुलह, महर्षि श्रृंगि, महर्षि विश्वामित्र र उनका पूर्वजहरु महर्षि मरिचि–कश्यप जमदग्नि आदि हजारौं ऋषि मनिषीहरुलाई हाम्रा थिए भन्न सकेनौं । सांख्या शास्त्रका प्रर्वतक महर्षि कपील, बुद्धदर्शनका प्रणेता सिद्धार्थ गौतम, गण्डक सभ्यताका प्रणेता ऋषि पुलह, हाम्रो मूल सभ्यताका प्रणेता महर्षि विश्वामित्र र ऋचीक पुत्र जमदग्नि आदि पनि अरुकै भए । 
आज हाम्रो देशमा जातिय, क्षेत्रीय र समग्रमा आफ्ना पहिचानका लागि भीषण द्वन्द छ । आफ्नो सात्वीक र ऐतिहासिक पहिचान, संस्कृति निर्माणको ऐतिहासिक पृष्ठभूमि, त्यसमा कसकसको योग वा सबको योगदान भन्ने हामीमा आफ्नो पहिचानको आधारभूत ज्ञानको अभावले समाजमा द्वन्द्व सिर्जना भएको हो । हामी बसेका भूमिको पौराणीक ऐतिहासिक महत्व र यसको गौरवता, हाम्रो वंश, हाम्रा आदिम वंशजहरु, जाति–जातिमा रक्त संमिश्रण, संस्कार–संस्कृतिको स्वीकृति र अश्वीकृतिको सहजता र बाध्यताका अवस्था आदि ज्ञानशास्त्रको अध्ययन र स्रोत विना हामीले आफूलाई चिन्न र चिन्हाउन सक्दैनौं । ज्ञानशास्त्रद्वारा हामी बीच भएको चिनारी सार्वभौमिक हुन्छ र यसले सुदुर भविष्यको हाम्रो जीवनयात्रा, उन्नति र समृद्धिमा महत्वपूर्ण भूमिका  निर्वाह गर्दछ । तर बलात् भौतिक आक्रमणद्वारा सिर्जना गरेको चिनारी त्यो अस्थिर हुन्छ र शक्ति सामथ्र्य सकिने बित्तिकै समाप्त हुन्छ ।
मानव सभ्यता उदयहुनुभन्दा पूर्व समयमा समूहमा बस्ने चिन्तन चेतना नै थिएन । मानव जाति अधिकांश एक्लै नाङ्गै गुफामा बस्दथ्यो । पछि विकासक्रममा समूहमा बस्न थाल्यो, भोजन जुटाउन सजिलो हुने चेतनाको विकासले समूहमा बस्दै जाँदा लज्जा प्रकट भयो । लाज ढाक्न रुखका पात वा बोक्राले आफ्नो अंग ढाकेर एउटा समूहमा आउँदा त्यसलाई देखेर नाङ्गो बथानले सभ्य मानव आयो; केही राम्रा उपदेश गर्न सक्ला भनेर त्यो मानवलाई बथानका वीचमा राखे । सभामा बस्न योग्य भएका कारण त्यसलाई सभ्य मानव भनियो । मानव सभ्यता शब्दको उत्पत्ति यसरी भएको हो । इतिहास पुराण, समाजशास्त्र भूगोलशास्त्रहरूमा वर्णित अहिलेसम्म खोजी भएका र वोध भएका सभ्यताहरु नदीकै किनारामा निर्माण र विकास भएका हुन् । काकेसियायी, रोम, मिश्री, यूनानी, ग्रीक, मेसोपोटामिया, माया (ल्याट्रिन अमेरिका) चिनी मंगोलियान, सिन्धुघाँटी, कौशिकी आदि यी सबै प्राचीन सभ्यताहरु नदी किनारमा विकास भएका हुन् । 
मनुष्यले संघर्षको क्रममा पहिले संस्कार निर्माण ग¥यो, संस्कार पछि संस्कृति, संस्कृति पछि सभ्यता हुँदै फेरी आधुनिक मानवको रुपमा विकसित भयो । जुन समयमा आर्य ऋषि मनिषीहरु भारद्वाज, वशिष्ठ, गौतम, विश्वामित्र आदि वेद रचना, व्यवस्थापन र प्रतिष्ठापन गर्दै थिए त्यसवेला आर्य ऋषिहरु संग ४६४ वटा शब्दहरु मात्र थिए । अंक गणना त झनै अस्तव्यस्त थियो । एक अंक पछि दुईको ज्ञान थिएन । जोडी अंकको ज्ञान मनुष्यलाई थिएन । तीन, तीनदेखि पाँचदेखि सात, सातदेखि नौंंंं.... (एकाचमे तिस्त्रश्चमे पञ्च चमे सप्तचमे नवचमे.......) को ज्ञान मात्र थियो । आर्यजनहरुद्वारा सिन्धू सभ्यतामाथि आक्रमण र युद्धको विभिषिकाले भयाक्रान्त पारिएका सिन्धु सभ्यताका विजित निग्रो, द्रविड, आष्ट्रिक र (म्मोन् ख्मेर) किराँतिहरुसँग पच्चिस सय भन्दा धेरै शब्दहरु संचित भै सकेका थिए । आर्यजनहरु घुमन्तु थिए भने निग्रो, द्रविड, आष्ट्रिक जन कविलाहरु सभ्यताका निर्माता र आविष्कारिक थिए । पवित्र, सुन्दर सप्तसिन्धू भूमि र नदीका तटमा ऋग्वेदको रचना भईरहेको समयमा हाम्रो सप्तकोशी पवित्र भूमि र नदीको तटमा महर्षि विश्वामित्रले आफ्ना पूर्वज इषीरथ, कौशिकको योगदानको जगमा वेदका ऋचाहरु गाउँदै कौशिकी सभ्यता निर्माण गरिरहेका थिए । 
तसर्थ हामीले हाम्रो मानव सभ्यता निर्माणमा पूर्वजहरुले गरेका योगदानहरुको बारेमा गहिरो गरी अध्ययन गर्ने र पूर्वजका योगदानहरुलाई हाम्रो समाजमा प्रतिस्थापन गर्ने कार्यमा अव हामीहरु कृयाशील हुन आवश्यक छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top