कानूनबमोजिम र पारदर्शीरुपमा काम गर्नुस् "अब चलते चलाते होइन"- प्रधानमन्त्री ओली

राजनीति जेठ २५ २०७५ ekhabarnepal
Oli jii

काठमाडौं जेठ २५, 
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

साउन १ देखि बजेट को कार्यान्वयन गर्न निर्देशन 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरुलाई बोलाई उहाँले नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि नै पूर्णरुपमा बजेटको कार्यक्रम कार्यान्वयन हुने तयारी गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा सहभागी अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि नवप्रवर्तक हिसाबले आवश्यक संरचना, कानून, मुख्य र सहायक निकाय, अनुगमन र उपलब्धिको परिसूचक तयार गर्न निर्देशन दिनुभएको थियो ।यसरी तयार हुने योजनामा आगामी असार २५ गते प्रधानमन्त्रीसहितको बैठकमा प्रस्तुति गर्न पनि निर्देशन दिइएको छ । संघीय संसद्मा गत जेठ १६ गते बजेट प्रस्तुत भएको थियो ।

हरेक क्षेत्रमा सदुपयोग र साधन स्रोतको उपयोग गर्न सकिने भएकाले जनतालाई उनीहरुकै आगन र खेतहरुमा गएर व्यावसायिक शिक्षा र अवसर दिन सरकारले पहल गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई जनताले ठूलो भरोसा गरेका छन्, अब चलते चलाते होइन, आधुनिक युगलाई सामना गर्न सक्ने योजना र वातावरण तयार गर्नुपर्छ, निष्क्रियता र अनुत्तरदायीपन सह्य हुँदैन ।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार भ्रष्टाचारमा शून्य सहनशीलताको नीति दोहो-याउने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई देश र जनताले प्रशस्त दिएको छ, लोभ नगरौँ, हामीलाई तलब, सुविधा छ, निजामती कर्मचारीलाई अवकाशपछि पनि पेन्सन छ, मान्छेले काम गरेर पनि तलब नपाउने वा काम नपाउने समस्या छ, त्यसैले कानूनबमोजिम र पारदर्शीरुपमा काम गर्नुस् ।”

उहाँले विभिन्न नियुक्ति, सरुवा र बढुवामा योग्यता र क्षमताबाहेक अरु चिज बोकेर कुद्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै चाकरी गर्नुको कुनै अर्थ नहुने बताउनुभएको थियो ।प्रधानमन्त्री ओलीले संघीयताबारे देखिएका कतिपय असन्तुष्टिलाई काम गरेर देखाएर जवाफ दिनुपर्ने भन्दै काठमाडौँलगायत शहरमा शहरको अनुभूति हुने गरी कार्ययोजना ल्याउनसमेत निर्देशन दिनुभएको थियो ।बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले सरकारको बजेट कार्यान्वयनको योजना ल्याउन र त्यसलाई सफल बनाउन कर्मचारी वर्ग दत्तचित्त भएर लाग्ने अठोट व्यक्त गर्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top