यूएनडीपीको सहयोगार्थमा सांसदहरु लाई दुईदिने तालिम  सहित भत्ता पनि

राजनीति जेठ २३ २०७५ ekhabarnepal
Talim22

काठमाडौं जेठ २३ |
राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को लगानीमा संसद सचिवालयले आजबाट सांसदहरुका लागि दुईदिने तालिम शुरु गरेको छ ।संसदीय प्रक्रियासम्वन्धी तालिम दिन समेत अन्तराष्ट्रिय दाता गुहारेको भन्दै केही सांसदले आलोचना गरेका छन् । सांसदलाई झोला, कापी, कलम जस्ता सामान यूएनडीपीले उपलब्ध गराएको हो ।

संसद सचिवालयका अनुसार झोला, कापी, कलमलगायतका लजिस्टिक सामानको खर्च यूएनडीपीले बेहोर्ने छ । साथै तालिम दिने र तालिम लिनेहरुलाई भत्ता पनि दिइनेछ ।अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आयोजना गरिएको तालिममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु सहभागी छन् । 

आज पहिलो दिन संविधान निर्माण, संघीय संसद र संसदीय अभ्यास, संसद सचिवालयको गठन र उद्देश्य, सचिवालयको सांगठनिक रुपरेखा तथा बिभिन्न महाशाखा र शाखाहरुको काम, कानुन मस्यौदा प्रक्रिया, कानुन तर्जुमाका बिभिन्न पक्षबारे तालिम दिइन्छ । भोलि दोस्रो दिनको तालिम भने बजेट निर्माण र वित्तिय अनुगमनमा सांसदहरुको भूमिका, संसद र नागरिकको सम्बन्धबारे हुने बताइएको छ । 

पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री रमेश लेखक, पूर्वगर्भनर तथा योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री लगायतले प्रशिक्षण दिनेछन् । संसद सचिवालयका अनुसार, कतिपय सांसदहरु नयाँ भएकाले उनीहरुलाई संसदीय कानुनी प्रक्रियाबारे जानकारी दिन तालिम आयोजना गरिएको हो । 

तालिमको नेमकिपाका सांसद प्रेम सुवाल, नेकपाका सांसद झपट रावललगायतले बिरोध गरेका छन् । उनीहरुले सांसदहरलाई तालिम दिनु उपयुक्त भएपनि त्यति सामान्य कामका लागि समेत दाताको सहयोग लिनु उचित नभएको बताएका छन् ।  

संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले स्वागत मन्तब्य राखेर शुरुभएको कार्यक्रममा कानुनमन्त्री शेरबहादुर तामाङ, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले धारणा राखेका थिए ।  सभामुख महराले यूएनडीपीले प्राविधिकमात्रै सहयोग गरेको बताए । 
 

प्राप्त प्रतिकृयाहरू

To Top