प्रदेश ५ मा ३० अर्ब बजेटको तयारी

अर्थ जेठ २३ २०७५ ekhabarnepal
5 no

रुपन्देही जेठ २३ ,

प्रदेश नम्बर ५ को सरकार आगामी आर्थिक वर्ष २०७५-७६ का लागि ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारीमा जुटेको छ । आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान भएकाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट निर्माणमा व्यस्त भएको हो ।केन्द्रबाट प्राप्त सशर्त अनुदान, वित्तीय समानीकरण, स्थानीय स्रोत परिचालनबाट प्राप्त हुने रकम र चालू वर्षको बाँकी रकमलगायतका शीर्षकबाट बजेट निर्माणकोे तयारी भइरहेको प्रदेश ५ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए ।

“केन्द्र, स्थानीय स्रोतबाट प्राप्त हुने गरी करिब ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट आउन सक्छ,” उनले भने, “प्रदेशका स्थानीय स्रोतबाट हुन सक्ने सम्भावित आम्दानीको खोजी भइरहेको छ, त्यस्ता स्रोत भेटिए बजेटको आकार केही बढ्न सक्छ ।”प्रदेश ५ सरकारले केन्द्रबाट प्राप्त हुने सशर्त र वित्तीय समानीकरण बाहेक प्रादेशिक आम्दानीका स्रोतहरूमा सवारी साधन कर, घरजग्गा रजिस्ट्रेसन, प्राकृतिक तथा नदीजन्य वस्तु ढुंगा गिटी बालुवा बिक्री कर, विभिन्न खानीको रोयल्टी बापतको कर, मनोरन्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, सेवा शुल्क (दण्ड जरिवाना) बाट ३ अर्ब संकलन हुने लक्ष्यसहित बजेट बनाउँदै छ । यी आठ शीर्षकबाट उठ्ने रकममध्ये प्रदेशले स्थानीय तहलाई पनि प्रदान गर्नुपर्ने हुन्छ । अरु कुनै शीर्षकमा प्रदेशले कर संकलन गर्न नपाउने भएकाले यही शीर्षकमध्ये केही अन्यबाट हुने सम्भावित स्रोतको पहिचानका लागी मन्त्रालय कार्यरत रहेको र छलफलसमेत भइरहेको सचिव गौतमले बताए ।


केन्द्रबाट आउने रकममध्ये सशर्त अनुदानको रकम अरू कुनै शीर्षकमा आफूखुसी विकासे योजना बनाएर खर्च गर्न नपाइने भएकाले पनि केन्द्रको वित्तीय समानीकरण मार्फत आउने रकम, स्थानीय स्रोत र चालू वर्षको बजेट मध्येको बचत रकमसमेत आउने बजेटमा खर्च गर्ने गरी बजेटको तयारी मन्त्रालयले गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले नै आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएकाले उनी आफैं बजेटको तयारीमा लागेका हुन् ।


प्रदेश ५ को सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलाई मुख्य प्राथमिकतामा राखेर यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । आगामी बजेटले पनि तिनै क्षेत्रलाई बढी प्राथमिकता दिने सम्भावना रहेको बताइएको छ ।अहिले आउने बजेट पनि चालू वर्ष प्रस्तुत भएको प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर आउने र त्यो जगसमेत रहेको प्रदेश सरकारको प्रादेशिक योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top