प्रदेश ५ को गुरुयोजनामा 'जितगढी किल्ला'

समाज जेठ २२ २०७५ ekhabarnepal
Shankar pokhrel

बुटवल जेठ २२, 
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको जितगढी किल्लालाई राष्ट्रिय स्वाभिमान र वीरताको सम्पदाको रुपमा संरक्षण गर्ने गरी गुरुयोजना बनाउन निर्देशन दिएका छन् ।उद्योग, वन, पर्यटन र वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा गरेको योजना तर्जुमा तथा सुझाव संकलन कार्यक्रममा उनले बुटवल उपमहानगरपालिकालाई यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले जितगढी सम्पदा प्रदेशको मात्र नभई मुलुककै शानका रुपमा रहेकाले यसको संरक्षण जरुरी रहेको बताए । उनले त्यस क्षेत्रमा निर्माण भएका र किल्लाको संरचनामा परेका अन्य सबै संरचनाहरु हटाउन पनि निर्देशन दिएका छन् ।

मुआब्जा दिएर त्यहाँका घरहरु अधिग्रहण गरेरै पनि जितगढी सम्पदालाई बचाएर मुलुकको वीरताको शानका रुपमा विकास गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढी सम्पदाको संरक्षणका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने काम भइरहेको बताए । नेपाललाई अधिनमा पार्न भन्दै आएको तत्कालीन अंग्रेज सेनालाई नेपाली फौजले वि.सं.१८७१ मा जितगढी किल्लामा पराजित गरेको थियो ।

त्यतिबेलाको गढी अर्थात् किल्लाको संरचना अहिले पनि तिनाउ नदी किनारमा रहेको छ । तर, यो अतिक्रमणमा परेको छ । नदीले कटान गर्ने र अतिक्रमण भएर स्वरुप नै कुरुप बन्दै गएको छ ।जितगढी सम्पदालाई बचाउनका लागि भन्दै बुटवल उप-महानगरपालिकाले पहिलो पटक यस सम्पदामा विजय उत्सव दिवस समेत मनाएको थियो । त्यति बेलादेखि नै मुख्यमन्त्रीले यसको संरक्षणमा चासो दिंदै आएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top