आ.व २०७५–०७६ को बजेट दिउँसो ४ बजे प्रस्तुत हुंदै

अर्थ जेठ १५ २०७५ ekhabarnepal
Bicc


काठमाडौं । आर्थिक वर्ष २०७५–०७६ का लागि मंगलबार संघीय संसदको संयुक्त बैठकमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत हुंदैछ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रस्तुत हुने बजेटको उद्योगी, व्यवसायी, सरकारी कर्मचारी, आम जनता, सबै क्षेत्र र संस्थाले प्रतिक्षा गरिरहेका छन् । देशको समग्र विकास र आम मानिसको जीबनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरकारले प्रस्तुत गर्ने बजेटलाई चासोका साथ हेर्ने गरिन्छ ।

विगतका वर्षहरुमा प्रस्तुत हुने भन्दा यो बजेट केहि फरक हुनेछ । देश सङ्घीयतामा गएका कारण तीन तहको सरकारलाई विनियोजन गरेर बजेट आउँदैछ । केन्द्र, ७ प्रदेश र ७ सय ५३ स्थानीय तहलाई रकम विनियोजन गरी बजेट तयार पारिएको छ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय तहले बजेट ल्याउने दिन तोकिएकाले सोही समयमा बजेट प्रस्तुत हुन्छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान गरी अर्थमन्त्रीले सङ्घीय संसदमा बजेट पेस गर्नु पर्ने उल्लेख छ ।

केन्द्रको बजेट जेठ १५ गते प्रस्तुत भएपछि त्यसैले विनियोजन गरेको बजेटको आधारमा असार १ मा प्रदेश र असार १५ मा स्थानीय तहले आ–आफ्नो सरकारको बजेट ल्याउने गर्दछन् ।मङ्गलवार अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् । सरकारले सोमवारै बजेटको सम्पूर्ण तयारी पूरा गरेको बताइएको छ ।

बजेट विवरण गोप्य रहने भएकाले कुल बजेट कति हो ? चालु खर्च, पूँजीगत खर्च, वित्तीय व्यवस्था, कर निर्धारण जस्ता विषय गोप्य रहने गर्दछ । तर, योजना आयोगले तोकेको सिलिङमा अर्थ मन्त्रालयले केहि योजनामा रकम थप घट गरेर झण्डै साढे १५ खर्ब रुपैयाँ बराबरको बजेट तयार पारेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू बजेटमा समावेश गरिएको हुन्छ । बजेटमा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गरिएको हुन्छ । चालू आव असार मसान्तमा सकिने छ ।बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक २०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक–२०७५ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७५ पनि पेश गर्नेछन् ।

वाम गठबन्धन बनाएका नेकपाको सरकार भएकाले उनीहरुले चुनावताका जनतासमक्ष प्रतिबद्धता ब्यक्त गरेका घोषणापत्र, संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र अर्थमन्त्री खतिवडाले श्वेतपत्र मार्फत औल्याँएका अर्थतन्त्रका कमजोरीलाई सम्बोधन हुने गरी बजेट तयार पारिएको बताइएको छ ।

आगामी आवको बजेटमा प्रदेश र स्थानीय तहलाई एक चौथाई बजेट छुट्ट्याईएको छ । बाँकी बजेट रेलमार्ग, जलमार्ग, कनेक्टीभीटी, इलेक्ट्रीसीटी, ठूला उद्योग, राजमार्ग विस्तार, सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बिशेष बजेट विनियोजन हुनेछ । साथै यूवा रोजगारी र केहि लोकप्रिय कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको बुझिएको छ ।

सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि मंगलबार प्रस्तुत हुने बजेट बिशेष हुने छ । (आर्थिकअभियान)

प्राप्त प्रतिकृयाहरू

To Top