८० लाख जनसंख्या गरिबीको रेखामुनि 

अर्थ जेठ १४ २०७५ ekhabarnepal
Yubaraj khatiwoda

काठमाडौं, जेठ १४

मुलुकमा अझै ८० लाख जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको पाइएको छ । एक दशकको आर्थिक वृद्धिदर सुस्त भई औसत ४ दशमलव ३ प्रतिशतमा सीमित रहेकाले जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि रहेको हो ।

संघीय संसद्मा चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अझै ८० लाख जनसंख्या गरिबीको रेखामुनि रहेको जानकारी दिए । चालु आवमा आर्थिक वृद्धिदर केही बढेर जाने उनको अनुमान छ । यो वर्ष आर्थिक वृद्धि ५ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरिएको डा. खतिवडाले बताए ।

चालु आवसम्म बचतको अंश कुल गार्हस्थ उत्पादन (जिडिपी) को १५ प्रतिशत र बाँकी ८५ प्रतिशत उपभोगमा खर्च भएको छ । मूल्यवृद्धि निरन्तर बढ्दै गएकाले मूल्यवृद्धिमा चाप परेको अर्थमन्त्री खतिवडाले बताए । सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा र ११ वटा घाटामा पुगेका, यी संस्थानमा सरकारको लगानी ३ अर्ब १२ करोड रुपैयाँ पुगेको अर्थमन्त्रीको भनाइ थियो ।

बैंकको कर्जा विस्तार भएको तर कर्जा विस्तारको तुलनामा निक्षेप परिचालन बढ्न नसक्दा लगानीयोग्य पुँजीमा चाप परेको उनले बताए । यस्तै, सेयर बजार पनि स्थिर अवस्थामा रहेको उनले जानकारी दिए । चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले बढेर ७ खर्ब १३ अर्ब ९४ करोड पुगेको छ भने समग्र शोधनान्तर २४ अर्ब ७३ करोडले घाटामा रहनु अर्थतन्त्रको नकारात्मक पक्ष हो ।


संविधानअनुसार ३ तहको निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख भएसँगै लगानीको वातावरण पनि क्रमशः अनुकूल बन्दै गएको सर्वेक्षणमा उल्लेख छ । आपूर्ति प्रणालीमा आएको सुधार, ऊर्जाको उपलब्धता, व्यापार क्षेत्रको विस्तारसँगै निर्माण र पुनर्र्निर्माणमा आएको गतिसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव महसुुस हुनाका साथै आर्थिक वृद्धिमा सुधार आएको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा सरकारी खर्च ४५ दशमलव १ प्रतिशतले बढेको छ भने पुँजीगत खर्च ३८ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । राजस्वको वृद्धि २१ दशमलव ७ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यस अवधिमा कुल १ खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएकोमा ५५ अर्ब ३५ लाख मात्र प्राप्त भएको छ । यसरी प्रतिबद्धताअनुसार सहायता प्राप्त नहुनु अर्थतन्त्रका निम्ति चिन्ताको विषय भएको सर्वेक्षणमा उल्लेख छ ।

देशका सार्वजनिक संस्थानहरू सेतो हात्तीका रूपमा राज्यलाई आर्थिक व्ययभारको भारी बनेका देखिएको छ । कुल ३७ मध्ये २६ नाफामा र ११ वटा संस्थान ठूलो घाटामा चलिरहेका छन् । सरकारी संस्थानको नाफा ४२ अर्ब ६८ करोड छ भने ११ संस्थानको नोक्सान १ अर्ब २५ करोड पुगेको छ । बजार भाउ उच्च गतिमा बढेको छ र सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु खरिदमा हम्मेहम्मे परेको छ ।

निक्षेप वृद्धिको तुलनामा कर्जाको विस्तार उच्च रहेकाले बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य पुँजीमा चाप परेको छ । आयातलाई निर्यातले प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम गर्न नसकिने यथार्थबाट विमुख हुन सकिँदैन । विप्रेषण आप्रवाहमा आएको सुस्तताले पनि शोधनान्तर घाटा बढेको देखिन्छ ।

त्यसैगरी, बिमा कम्पनीको संख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोबार बढ्दै गए पनि आम नागरिकमा बिमाको पहुँच धेरै कम मात्रामा पुगेको छ । निर्यातको तुलनामा आयात वृद्धिदर उच्च भएकाले व्यापार घाटा दैनिक बढिरहेको छ । चालु आवको अन्त्यसम्ममा व्यापार घाटा २१ दशमलव २ प्रतिशतले बढेर कुल गार्हस्थ उत्पादनको ३७ प्रतिशत पुग्ने अनुमान छ ।

राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पूर्व–पश्चिम रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन पूरा भएको छ भने रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गमध्ये रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पनि सम्पन्न भएको छ । जनकपुर–जयनगर–बिजलपुरा र जोगवनी–विराटनगर रेलमार्गको अधिकांश काम पनि चालु आवमै सम्पन्न भएको छ ।

जितेश्वरी सामुदायिक बन उपभोक्ता समूह

     बुटवल– १३ को सूचना

यस समूहको अधिवेशनको पूर्व सन्ध्यामा २६ वटौ टोल समितिमा प्रतिनिधि छनोटका लागि निर्वाचन समितिले विभिन्न समय र मितिमा कार्यक्रम तय गरेकोले यसै सूचनालाई आधार मानि सम्पूर्ण उपभोक्तालाई सक्रियता पूर्वक सहभागि हुन अनुरोध गरिन्छ । 
टोलको पूर्ण जानकारीका लागि समूहको कार्यलयमा सम्पर्क गर्नका लागि सूचित गरिन्छ । 
                                            निर्वाचन समिति 

 

 

प्राप्त प्रतिकृयाहरू

To Top