झापादेखि डडेलधुरासम्म मदन भण्डारी राजमार्ग निर्माण गरिने, प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमण अस्वीकृत   

अर्थ जेठ ७ २०७५ ekhabarnepal
Pmo 2052018073825 1000x0


काठमाडौं,जेठ ६  ।
 मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्मा पेस गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । 

राष्ट्रपति भण्डारीले सोमबार ४ बजे संघीय संसदका दुवै सदनका सांसदहरुको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ । 

त्यसैगरी बैठकले १२ सय किमी लामो राजमार्ग निर्माण गर्ने भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । यो राजमार्ग झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्मको हुनेछ  । 
झापाको शान्तिनगर, सिन्धुली, हेटौंडा, गैँडाकोट, राम्दी, रिडी, प्युठान, घोराही, सुर्खेत, बीपीनगर, सहजपुर, जोगबुढा र डडेलधुराको रुपालसम्म पुग्नेगरी चुरे तथा भित्रि मधेस जोड्नका लागि यो राजमार्ग निर्माण गर्ने प्रस्ताव पारित गरेको सूचना तथा संचार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।


त्यसैगरी बैठकले प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले अमेरिका भ्रमणका लागि गरेको आग्रह अस्वीकृत गरेको छ ।

जनरल कन्भेन्सन अफ मधेसी इन अमेरिकाको एक कार्यक्रमका लागि अमेरिका जान मुख्यमन्त्री लालबाबु राउतले अनुमति माग गरेका थिए ।

तर सरकराले अहिले प्रदेशभित्रै आर्थिक वर्षको बजेट निर्माण र संगठनात्मक महत्वपूर्ण काम परेकाले जान अनुपयुक्त देखिएको टुंगो लगाउँदै अस्वीकृत गरेको छ ।

त्यसैगरी ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धानका लागि गृह मन्त्रालयले बनाएको विशेष समितिको समय जेठ मसान्तसम्म थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले सरकारमा सहभागी मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top