बुटवलको दीर्घकालीन योजना ः जनसहभागितामा आधारित विकास निर्माणलाई प्राथमिकता

समाज जेठ ४ २०७५ ekhabarnepal
Sujhab lidai btl 1

बुटवल, जेठ ४ । विभिन्न क्षेत्रका विज्ञहरुले जनसहभागितामा आधारित विकास मोडल तयार पारेको भन्दै बुटवलको दीर्घकालिन र आवधिक योजनाको सराहना गरेका छन् । उनीहरुले समृद्धिको पहिलो आधार पनि जनसहभागितामा आधारित विकास भएको भन्दै त्यसैका आधारमा अगागि बढ्न पनि सुझाव दिए ।
बुटवल उपमहानगरले नगरको दीर्घकालीन र आवधिक योजनाका बारेमा शुक्रबार एक समारोहको आयोजना गरी सुझाव संकलन गरेको थियो । सोही कार्यक्रममा सहभागी विभिन्न विषयका विज्ञहरु, पूर्व सांसद, राजनीतिक दल तथा नागरिक अगुवाहरुले निजी र सामुदायिक क्षेत्रलाईसमेत समेट्दै र दिशा निर्देश गर्दै स्थानीय सरकारले योजना बनाउन जरुरी रहेकोमा जोड दिए ।
पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ सुशिल ज्ञवालीले जनअपेक्षा बढेर गएको र त्यो स्वभाविक पनि रहेको भन्दै दिगो र टिकाउ विकासका लागि जनसहभागिताको मोडल उपयुक्त रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिका विज्ञ समूहका संयोजक समेत रहेका ज्ञवालीले अध्यय्नको विज्ञता र अनुभवको श्रेष्ठताका आधारमा योजना बनाउन सुझाव दिनुभयो । 
तिनाउ–दानव करिडोरलाई प्राथिकतामा राख्दै जितगढी, रामापिथेकश, मणिमुकुन्द सेनलगायतका कैयौं ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुलाई समृद्धिका आधारका रुपमा विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, वातावरणीय तथा पर्यावरणीय व्यवस्थापन समृद्धिका स्तम्भ रहेको उहाँको भनाइ थियो । 
विज्ञहरु डा.ईश्वर गौतम, डा. राजेन्द्र ओझालगायतले जनसहभागितामा आधारित योजनाहरुमै प्राथमिकताक दिन सुझाव दिनुभयो । तिनाउ–दानव करिडोरलाई प्राथमिकता दिंदै अव्यवस्थित बसोबासीको प्रभावकारी व्यवस्थापन जरुरी रहेकोमा उहाँहरुको जोड थियो । 
शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार, कृषि र वातावरणलाई समृद्धिको आधार मान्दै त्यसैका आधारमा योजनाको खाका बनाइएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो । सोही योजनाका सम्बन्धमा नगरका सबै १९ वटै वडाहरुमा स्थानीयको सुझाब संकलन गरिसकिएपछि विज्ञहरुसमक्ष प्रस्तुत गरिएको प्रमुख सुवेदीले बताउनुभयो । 
करिब २६ अर्ब बराबरको बजेटमा बन्ने योजनाहरुका सम्बन्धमा समुदायको सुझाव संकलन गरिएको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ । समुदायस्तरमा सुझाव संकलनका काम दुई सातादेखि भइरहेको र त्यहाँबाट प्राप्त सुझावसमेतलाई विज्ञ समूहमा राखेर प्रस्तुत गरिएको उहाँले बताउनुभयो । 
शुक्रबारको विज्ञसमूहसहितको छलफलमा पूर्व सांसदहरु देवेन्द्र घिमिरे र रामप्रसाद भट्टराईले योजना बनाउनु अघि समुदायको सुझाव संकलन गरिनु महत्वपूर्ण काम भएको भन्दै सराहना गर्नुभयो । पूर्व सांसदहरुले बुटवलको पहिचान जोगाउने र पर्यटकीय गन्त्व्य बनाउन जरुरी रहेकोमा जोड दिनुभयो । 
सो अवसरमा नेपाली कांग्रेसका नेता युवाराज गिरीले सबैको भावना समेट्ने कोसिस भएको भन्दै यस्लाई निरन्तरता जरुरी रहेको बताउनुभयो । 
पूर्व उपप्रमुख रामेश्वर श्रेष्ठ, रामप्रसाद खनाल, उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, महिला अगुवा तथा समाजसेवी सावित्रा अर्याल, उपभोक्ता हीत संरक्षण मञ्चका जिल्ला अध्यक्ष नर्बू लामा, साविकको मोतिपुर गाविसका अध्यक्ष शालिकराम अर्याल, बुटवलका अभियन्ता गोविन्दराज शाक्य, पूर्व वडा अध्यक्ष भीम तुलाचनलगायतले योजना अघिको अध्यय्न र सुझाव संकलन सराहनीय काम रहेको बताउनुभयो । 
बुटवलका प्रत्येक वडाहरुमा रहेका सम्भावना र त्यहाँका समस्याको दीर्घकालिन समाधान हुने गरी योजना अगाडि सारिएको बताउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पहिलो चरण भेला सकेर दोस्रो चरणमा विज्ञहरूसहित छलफल गरिएको बताउनुभयो ।
वडाहरुमा रहेका टोलविकास संस्था, सामाजिक संघसंस्था, नागरिक अगुवा, उद्योगी–व्यवसायी, शिक्षक, विद्यार्थी र लक्षित समुदाय सबैको प्रतिनिधित्व हुनेगरी भेला मार्फत सुझाव लिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । 
योजनाको खाका परामर्शदाता इकोकोड प्रालिका इन्जिनियर कुमार धमला लगायतको टिमले गरेको र सोही खाकामा आधारित सुझाव संकलनका काम भएको कार्यक्रम संयोजक भुवाप्रसाद लुइँटेलले बताउनुभयो । सुझाब संकलनका काम संगै योजनाको प्राथमिकता र तथ्यांक अद्यावधिकको काम पनि संगसंगै भइरहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताउनुभयो । छलफलमा सहभागीले शिक्षा, स्वास्थ, ढलनाली, खानेपानी तथा पूर्वाधार विकासमा ध्यान दिन सुझावहरु आएको उहाँले बताउनुभयो । कार्यक्रमको सहजिकरण ठगिश्वर पोखरेलले गर्नुभएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top