जेठ ७ गतेअघि नै पार्टी एकता

राजनीति जेठ २ २०७५ ekhabarnepal
Baam unity

 

 एमालेको स्थायी समिति तथा माओवादीको हेडक्वाटर बैठक बुधबार नै बस्दै
काठमाडौँ,जेष्ठ २ 
  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जेठ ७ गतेभन्दा पहिले नै पार्टी एकता घोषणा गर्ने सहमतिभएको छ।

 दुई नेताबीच बुधबार बालुवाटारमा भएको वार्तामा जेठ ७ गतेअघि नै पार्टी एकताको घोषणा गर्ने सहमति भएको हो। बुधबार पाँच बजे मिति घोषणा गरिने जानकारी पनि बालुवाटार स्रोतले दिएको छ।

जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम आउने भएकाले त्यो भन्दा अघि नै एकताको घोषणा गर्ने सहमति भएको स्रोतले बताएको छ ।

ओली र प्रचण्डबीच बुधबार बिहान भएको वार्तामा एकता संयोजन समितिलाई मिल्न बाँकी कुरा टुंगो लगाउने जिम्मा दिएको र ७ गते भन्दा अघि नै एकता घोषणा गर्ने तयारी रहेको स्रोतले बताएको छ ।


ओली–प्रचण्ड वार्तापछि दुवै पार्टीले बुधबार आन्तरिक तयारी गर्दै छन्। एमालेको स्थायी समिति तथा माओवादीको हेडक्वाटर बैठक बुधबार नै बस्दैछ।

एमाले र माओवादीले बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको र त्यो बैठक सम्भवतः दुई पार्टीको एकीकरण अघिको अन्तिम केन्द्रीय समिति बैठक हुने उच्च स्रोतले बताएको छ ।

भोलि नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने 
नेकपा एमाले र माओवादी केन्द्रले बिहीबार एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा २ घन्टा लामो वार्तापछि एकीकृत पार्टी दर्ता गर्ने तयारी भएको दुबै दलका नेताहरूले बताएका छन्।

पार्टी एकताको अन्तिम निर्णय गर्न बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक डाकिएको छ।

एमाले नेताका अनुसार आजको बैठकमा माओवादी अध्यक्ष दाहालका एकतापछिका कतिपय विषयबारेका आशंका ओलीले मेटाइदिएपछि  एकता प्रक्रिया निष्कर्षतिर पुगेको हो।

‘अध्यक्षले सबै कुरा मिलिसकेको छ, अब एकता हुनेभयो भन्नुभएको छ,’ ती नेताले भने, ‘भोलि ४ बजे पत्रकार सम्मेलन गरेर एकता घोषणा हुने र भोलि नै आयोगमा एकीकृत पार्टी दर्ता गर्ने तयारी छ।’

यसविषयमा निर्णय गर्न एमालेले आज ४ बजे स्थायी समिति बैठक डाकेको छ।

 माओवादी केन्द्रका एक नेताले महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी बनेको बताए।

‘दुई अध्यक्षबीच भएको यो समझदारी लिखित रूपमा पनि सार्वजनिक हुन्छ,’ उनले भने।

उनका अनुसार नयाँ पार्टीको केन्द्रीय समितिमा माओवादीभन्दा एमालेबाट २०-२५ जना मात्र बढी राख्ने समझदारी पनि दुई अध्यक्षबीच भएको छ।

यसअघि नयाँ पार्टीको केन्द्रीय समिति ३०० जनाको हुने बताइएको थियो। अहिले एमालेका २०९ जना केन्द्रीय सदस्य छन्। माओवादीले एमालेभन्दा २०-२५ जनामात्र कम पाउने भएपछि नयाँ पार्टीको केन्द्रीय समिति ४ सयको हाराहारीमा हुने छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top