दीर्घकालीन र आवधिक योजनामा समुदायको सुझाब लिदै बुटवल 

अर्थ बैशाख २७ २०७५ ekhabarnepal
Yojana sujhab butwal


बुटवल, बैशाख २७ । बुटवलको दीर्घकालीन र आवधिक योजनाका बारेमा वडाबासीको सुझाब संकलनका काम सुरु भएका छन् । आवधिक र १५ वर्षे दीर्घकालिन योजनामा समुदायको सुझाव संकलनका काम बुधबारदेखि सुरु भएको छ । 
उपमहानगरपालिकाले सबै १९ वटै वडामा समुदायको सुझाव लिने छ । वडाहरुको पायक पर्ने स्थानमा भेला गरेर पहिलो चरणको सुझाब संकलन सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ । 
यी वडाहरुमा रहेका सम्भावना र त्यहाँका समस्याको दीर्घकालिन समाधान हुने गरी योजनाबद्ध कामकोसमेत सुझाव संकलन हुने छ । बैशाख २८ गतेसम्ममा सबै वडामा पहिलोचरण भेला सकेर दोस्रो चरणमा विज्ञहरूसहित फेरि छलफल हुने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
वडाहरुमा रहेका टोलविकास संस्था, सामाजिक संघसंस्था, नागरिक अगुवा, उद्योगी(व्यवसायी, शिक्षक, विद्यार्थी र लक्षित समुदाय सबैको प्रतिनिधित्व हुनेगरी भेला मार्फत सुझाव लिने काम भइरहेको प्रवक्ता रेग्मीको भनाइ छ । 
बुधबार वडा नम्बर १ देखि १० सम्मका भेलाहरु सम्पन्न भएका छन् । यी भेला पहिलोचरणको सुझाव संकलनका लागि भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।
बुटवलको आवधिक र दीर्घकालीन योजनाको खाका प्रस्तुत गर्दै त्यसैका आधारमा सुझाव लिने काम सुरु भएको कार्यक्रम संयोजक वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलको भनाइ छ । योजनाको खाका परामर्शदाता  इकोकोड प्रालिका इन्जिनियर कुमार धमलालगायतको टिमले गरेको थियो । 
बुटवलले १५ बर्षे आवधिक योजनाका लागि करिब २६ अर्ब बराबरको बजेट लागत सहितको खाका तयार पारिरहेको छ । यहीँ खाकामा जनप्रतिनिधि र परामर्शदाता सहितको उपमहानगरपालिकाका महाशाखा तथा विज्ञ टोलीले विभिन्न चरणमा सुझाव संकलन गर्न सुरु गरेको हो । 
अहिले वडाका समुदाय केन्द्रित सुझाब संकलनका काम सुरु भएको जानकारी दिंदै योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले सबै वडाको सम्भावना र त्यहाँको तथ्यांक अद्यावधिकका कामहरु पनि भइरहेको जानकारी दिए ।  बुधबार भएका छलफलमा सहभागीले शिक्षा, स्वास्थ, ढलनाली, खानेपानी तथा पूर्वाधार विकासमा ध्यान दिन सुझावहरु आएको प्रवक्ता रेग्मीले जानकारी दिए । छलफलमा जुटेका सुझावलाई संकलन गरेर अध्ययन गरिनेछ । 
विकासका कामका बारेमा नगरबासी जोसुकैले पनि लिखित सुझाब भने जतिबेला पनि दिनसक्ने व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताए । बुधबारका कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालको अध्यक्षता र ठगिश्वर पोखरेलको सञ्चालनमा भएका थिए । उपमहानगरको सबैभन्दा धेरै जनशंख्या रहेको वडा नं. ११ मा बिहीबार विहान सुझाव संकलनको तयारी रहेको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top