एकतालाई अन्तिम रुप दिन ओली–दाहाल बीच वार्ता हुँदै

राजनीति बैशाख २० २०७५ ekhabarnepal
Download

काठमाडौं बैशाख २०,
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार एकताको वारेमा सचिवालय बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले वैशाख २२ मा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका थिए । 

एकतालाई अन्तिम रुप दिन दुई नेताबीच आज बैठक हुने बताइएको छ । आजै एमाले स्थायी समितिको बैठक बस्दैछ । बैठकमा माओवादी केन्द्रसँगको एकताका विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीको ब्यस्तताले गर्दा बुधबार साँझ डाकिएको स्थायी समितिको बैठक बस्ने नसकेपछि आज हुने भएको हो । 

‘प्रधानमन्त्री गृहजिल्ला झापाबाट ढिलो आउनुभएको र थकाइमा रहनुभएका कारण बिहीबार बस्ने गरी बैठक स्थगित भएको हो, आज बैठक बस्छ’, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भन्नुभयो, ‘अध्यक्षज्यूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलअघि या पछि स्थायी समिति बैठक बस्छ ।’

माओवादी केन्द्रले बुधबार केन्द्रीय सचिवालय बैठकमा एकताबारे छलफल गरेको थियो । बैठकमा प्रचण्डले एकता अन्तिम विन्दुमा पुगेको र सांगठनिक व्यवस्थापनमा मात्र सहमति वाँकी रहेको बताउनुभएको थियो । एकतासँग जोडिएका एजेण्डा करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । 

गत ९ वैशाखमा कम्युनिष्ट पार्टी स्थापना दिवशका दिन हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने बुधबार बताउनुभएको थियो । उहाँले वैशाख २२ मा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने जानकारी दिनुभएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top