दुई ब्यानर राखेसँगै झन्डै ४ घन्टापछि कार्यक्रम सुरु 

राजनीति बैशाख ९ २०७५ ekhabarnepal
2 byanar

 

 काठमाडौं बैशाख ९ ,
ब्यानर विवादले रोकिएको नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको 'नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्ति'को कार्यक्रम दुई ब्यानर राखेसँगै झन्डै ४ घन्टापछि सुरु भएको छ।

पहिलेको ब्यानरमा मार्क्स, लेनिनकै फोटो नभएपछि माओवादी केन्द्रका कार्यकर्ताले कार्यक्रममा अवरोध सिर्जना गरेका थिए। अहिले नयाँ ब्यानर र कार्ल मार्क्स र लेनिनको फोटो ल्याएसँगै कार्यक्रम सुरु भएको हो। १ बजेतिर कार्यक्रम स्थलमा पुगेर भिआइपी कक्षमा बसेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्टेजमा आएका छन्।कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र कम्युनिस्ट नेताहरुको लहरमा नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि कार्यक्रम रोकिएको थियो। अहिले पुरानो ब्यानरसँगै नयाँ ब्यानर र कुर्सीमा कार्ल मार्क्स र लेनिनको फोटो राखेर कार्यक्रम सुरु गरिएको हो।

पार्टी एकताका लागि सकारात्मक सन्देश दिनेगरी नेकपा एकालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेगरी तय गरिएको कार्यक्रम मध्याह्न १२ बजेपछि सुरु हुने भनिएको थियो।

पहिलाको ब्यानरमा पुष्पलाल, मदन भण्डारी र मनमोहनको फोटो माथिल्लो लाइनमा र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको थियो।

नेपाल कम्युनिस्ट स्थापना दिवसकै दिन वैशाख ९ मा पार्टी एकता घोषणा गर्ने चर्चा चले पनि एमाले र माओवादी केन्द्रबीच अन्तिम सहमति नजुटेकाले एकता घोषणा कार्यक्रम अनिश्चित बनेको छ।कार्यक्रता पंक्तिमा एकताको प्रक्रिया अन्तिम चरणमा रहेको सन्देश दिनेगरी तय गरिएको कार्यक्रममा ब्यानरकै कारण किचलो देखिएपछि एकता प्रक्रिया समेत अन्योलमै रहेको हो कि भन्ने कार्यकर्ता पंक्तिमा चर्चा चलेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top