उकालो लाग्यो नेप्से :लगानीकर्तामा झन् ठूलो खुसी 

अर्थ बैशाख ४ २०७५ ekhabarnepal
Nepse soochak

 

काठमाडौं । नयाँ वर्षको तेस्रो कारोबारले सेयर बजारका लगानीकर्तामा झन् ठूलो खुसी पैदा गरेको छ । पहिलो दुई दिन बढेको सेयर बजार आज पनि ३३ अंकभन्दा बढीले उकालो लागेको हो ।

मंगलबार नेप्से बढ्ने क्रमले निरन्तरता पाउँदा बजारमा करिब १ अर्बको सेयर किनबेच भयो । बजारमा १६६ कम्पनीका १९ लाख १० हजार २२८ कित्ता सेयर ९६ करोड २८ लाख ७६ हजार रुपैयाँमा खरिदविक्री भए । अघिल्लो बजारमा कूल ५७ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएका थिए ।

परिसूचक बढ्दा यसदिन लगानीकताको कूल सम्पत्तिमा ३९ अर्ब थपियो । बजारको कूल सेयर मूल्य घटेर हैरान बनेका लगानीकर्ताको मुहारमा मंगलबार भने खुसी देखियो । यसदिन बजार पुँजीकरण १५ खर्ब ६० अर्ब ६६ करोडमा कायम भएको छ ।

यसदिन बीमा र लघुवित्त समूहमा आएको उच्च वृद्धि नेप्सेमा आएको ठूलो उछालको प्रमुख कारक बन्यो । यी दुई समूहका परिसूचक क्रमशः ३६० दशमलव ४३ अंक (५.५१ प्रतिशत) र १२०.११ अंक (७.६९ प्रतिशत)ले उकालो लागे । त्यसैगरी होल समूहमा ८६.०१ अंकको सुधार आयो । बााकी समूहको परिसूचकमा पनि सामान्य सुधार आउँदा ट्रेडिङ समूह भने ५.५७ अंकले घट्यो ।

यसदिन नेप्से परिसूचक बढ्दा “क” वर्षका कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.३२ अंकले सुधारिँदै २८१.५८ अंकमा पुग्यो ।

बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण प्काशित हुनै लाग्दा राम्रो कम्पनीले उचित प्रतिफल दिने आशमा ती कम्पनीको सेयर मूल्य बढेको नेपाल इन्भेस्टर्स फोरमका महासचिब राजन लम्सालले बताए । यद्यपि, ठूलो अंकले घटिरहेको बजारमा केही सुधार आउनु सामान्य रहेको उनको भनाई छ । उनले भने, “तरलताको समस्या पनि खासै समाधान नभएको अवस्थामा बजार बढेको छ । जीवन बीमा व्यवसाय शतप्रतिशतले बढेको खबर आउनाले उक्त समूहको सुचांक बढेको हो ।”

आज महिला सहकारी माइक्रोफाइनान्स वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरका लागनीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए । त्यस्तै अन्य १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।

आज मात्र १३ कम्पनीका सेयरको मूल्यम ागिरावट आयो । तीमध्ये सहयोगी विकास बैंकको सेयर रहेको छ । उक्त कम्पनीका लगानीकर्ताको सेयर मूल्यमा ४ दशमलव ५८ प्रतिशतको गिरावट आएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा सूर्या लाइफ इन्स्योरेन्सको सेयर रहेको छ । कम्पनीले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद निष्कासन गर्ने समाचार बाहिर आएपछि कम्पनीको ५ करोड ९८ लाख बराबरको सेयर किनबेच भएको छ । कम्पनीको आज हकप्रद सुरक्षित गर्ने अन्तिम दिन हो ।

प्राप्त प्रतिकृयाहरू

To Top