यस्तो छ शिक्षा मन्त्रालयको योजना 

समाज बैशाख २ २०७५ ekhabarnepal
Education ministry 1

 

 काठमाडौं वैशाख २, 
सरकारले आगामी बैशाख ५ गते विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण दिवस मनाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी ५ गते बुधबार विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण अभियानलाई सफल बनाउनेगरी दिवसको रुपमा मनाउने तयारी गरिएको जानकारी गराउनु भएको हो ।

बैशाखदेखि असारसम्मको मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले अभियानलाई सफल बनाउन सबैलाई साथ दिन पनि आग्रह गर्नु भयो । मन्त्री पोखरेलले यस वर्ष भर्ना गरिएको बालबालिकालाई विद्यालय तहमा पढाउने जिम्मेवारी राज्यले लिने घोषणा पनि गर्नु भयो ।

मन्त्री पोखरेलले १ वर्ष भित्र अनिवार्य शिक्षा ऐन ल्याउने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउने राज्यको दायित्व पूरा गराउन एक वर्ष भित्र अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको पनि स्पष्ट पार्नुभयो । मन्त्री पोखरेलले अनिवार्य शिक्षा ऐन आएपछि सबै बालबालिकालाई विद्यालय तहको शिक्षा दिने दायित्व राज्यको हुने पनि स्मरण गराउनु भयो ।

सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान संचालनमा ल्याएको हो । भर्ना अभियानलाई सफल बनाउन सरकारले स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानमा साथ दिन सबै जनप्रतिनिधिहरु र उनीहरुमार्फत् नागरिक समाजका अगुवाहरुलाई समेत आग्रह गरिसकेको छ । शिक्षा मन्त्री पोखरेलले भर्ना गरिएका सबै बालबालिकाहरुलाई विद्यालय तहको शिक्षा दिने जिम्मेवारी राज्यले लिने पनि बताउनु भयो ।

सरकारले घोषणा गरेको असारसम्मको ३ महिने कार्ययोजनामा पनि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई मुख्य प्राथमिकता दिइएको छ । त्यसैगरी यो ३ महिना भित्र संघीय शिक्षा विधेयक र अधिकारमा आधारित शिक्षा विधेयकको मस्यौदा तयार पार्ने, मानव संशाधन प्रक्षेपण र जनशक्ति विकास योजनाका प्राविधिक कार्यदल गठन गर्नेलगायतका योजना अघि सारिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top