शान्ता चौधरीको दिल्ली डायरी

बिचार चैत्र २८ २०७४ ekhabarnepal
793885693shanta


प्रधानमन्त्री केपी ओलीको साथमा तीन दिने औपचारिक भारत भ्रमण नेपालका लागि निक्कै उपयोगी रह्यो । व्यक्तिगत मेरा लागि पनि निकै उपयोगी भयो । 

प्रधानमन्त्रीको भ्रमण टोलीमा सांसदको रुपमा म पनि सहभागी थिएँ । भ्रमण पहिले नै हामीलाई भ्रमणको बारेमा विस्तृत विफ्रिङ गरिएको थियो ।

भ्रमणको अघिल्लो दिन भ्रमण टोलीमा जानेहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर भ्रमणको बारेमा विस्तृत जानकारी दिइएको थियो । प्रधानमन्त्री ओली आफैंले भ्रमणमा जानेहरुलाई धेरै कुरा भन्नुभएको थियो । 

प्रधानमन्त्रीले भ्रमणका क्रममा उच्च मर्यादामा रहन भन्नुभएको थियो । मर्यादामा कसरी बस्ने, कसरी बोल्ने, कसरी खाने, भेटघाटमा कसरी हात मिलाउने, कसरी हाँस्ने लगायत सबै विषयमा सुक्ष्म रुपमा बताउनुभएको थियो । 

उहाँले भ्रमणमा जाने टोलीमा रहेका व्यक्तिहरुले देशकै प्रतिनिधित्व गर्ने भएकाले आफ्नो देशको इज्जत र मानप्रतिष्ठा रहने गरी भ्रमण अवधीमा उच्च मर्यादामा रहन भन्नुभयो । अरु पनि धेरै कुरा सिकाउनुभयो । परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि भ्रमणको क्रममा सहभागी सदस्यहरुले के गर्ने, के नगर्ने, कस्तो व्यवहार गर्ने भन्ने सिकाउनुभयो । 

विमानभित्र केपी ओली

त्रिभुवन विमानस्थलबाट हामी दिल्ली प्रस्थान गर्यौं । विमान उड्यो । म र सांसद शरत्सिंह भण्डारी सँगै बसेका थियौं । 

धेरै माथि आकाशमा पुगेपछि विमान सीधा भएर उड्न थाल्यो । परिचारिकाले विमानभित्र नेपालका प्रधानमन्त्री केपी ओली रहनुभएको घोषणा गरिन् । हुनत विमानमा भएका यात्रुहरु सबैलाई आफू उडिरहेको विमानमा प्रधानमन्त्री हुनुहुन्छ भन्ने पहिले नै थाहा थियो होला तैपनि घोषणा गर्दा विमानभित्रको वातावरण रमाइलो भयो । 

त्यसपछि प्रधानमन्त्री ओली आफू बसेको सिटबाट उठ्नुभयो । विमानको पछाडिको भागतिर जान लाग्नुभयो । मलाई लाग्यो, उहाँ शौचालय जानुभएको हो । तर, होइन रहेछ, कुरा अर्कै रहेछ ।

विमानभित्र दायाँ वायाँ बसेका सबै यात्रुहरुलाई नमस्कार गर्दै प्रधानमन्त्री ओली अगाडि बढ्नुभयो । हालखबर सोध्नुभयो । सञ्चो सुविस्ता सोध्नुभयो । विमानमा विदेशीहरु पनि थिए । प्रधानमन्त्रीको यो शैली देखेर उनीहरु पनि छक्क परे । पछाडिको सीटसम्म पुगेर सबैसँग भलाकुसारी गरिसकेपछि आफ्नो सीटमा आएर बस्नुभयो । 

प्रधानमन्त्री ओलीको यो शैलीबाट यात्रुहरु असाध्यै खुशी भएको देखियो । म असाध्यै प्रभावित भएँ । ठूलो नेता त्यसै बनिँदैन, पढेर मात्र हुँदैन, जीवन र जगत अनि व्यवहार जानेर मात्र ठूलो नेता बनिन्छ भन्ने मेरो विचार ओलीलाई देखेर झन दृढ भयो । नेता बन्न भावना पनि चाहिन्छ भन्ने लाग्यो ।

विमानमा हामीलाई धेरै स्तरीय खाना दिइएको थियो । निकै स्तरीय र महंगो खाना थियो । विमान कम्पनीले हामीलाई स्तरीय खाना दिएर अन्य यात्रुहरुलाई बेग्लै खाना दिइएको हो कि भनेर असहज महशुस गरें । यसरी एकै ठाउँमा मानिसलाई दुई खालको व्यवहार गरेको मलाई कहिल्यै चित्त बुझ्दैन । 

मैले विमान परिचारिका बहिनीलाई सबैलाई एउटै खाना हो कि बेग्लाबेग्लै हो भनेर सोधें । उनले जवाफ दिइनन् । मन खिन्न भयो ।

हामी दिल्लीमा

भारतको राजधानी नयाँदिल्लीमा प्रधानमन्त्री केपी ओलीको टोलीलाई भव्य स्वागत भयो । हुनत म दिल्ली पहिले पनि पुगेकी हूँ, दिल्ली विमानस्थलमा धेरै पटक पुगेकी छु । प्रधानमन्त्रीको औपचारिक राजकीय भ्रमण टोलीको सदस्यका रुपमा दिल्ली विमानस्थलमा पुग्दा बेग्लै अनुभूति भयो । 

त्यहाँको स्वागत पछि प्रधानमन्त्रीलाई संचारकर्मीहरुले केही सोध्न खोज्नु सामान्य हो । तर, यसमा एउटा नौलो कुरा देखें । त्यहाँका संचारकर्मीहरु सबैले प्रधानमन्त्री तथा भ्रमण टोलीलाई आफ्नो देशमा हार्दिक स्वागत भन्दै हात हल्लाए, अभिवादन गरे । नेपालमा यस्तो चलन छ जस्तो लाग्दैन । हुनत मैले थाहा नपाएकी हुनसक्छु । विदेशी पाहुना आउँदा संचारकर्मीहरुले पनि त्यसरी स्वागत गर्ने चलन छैन भने चलाउनु राम्रो होला ।

विमानस्थलबाट हामीलाई राष्ट्रपति भवन लगियो । प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा रहनुभयो । हामीलाई होटलमा लगियो । आधा घन्टा जति आराम गरेर हामी दुई देशका उद्योगी व्यापारीहरुको कार्यक्रममा गयौं । त्यसपछि दिल्लीस्थित नेपालको राजदूतावासमा गयौं । त्यहाँ भारतमा बस्ने नेपालीहरुको ठूलो जमात थियो । 

त्यहाँ प्रधानमन्त्री ओलीलाई नेपालीहरुले आआफ्ना विचार सुनाए । 

भोलिपल्ट

भोलिपल्ट हामी राष्ट्रपति भवन पुग्यौं । त्यहाँ प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ को कार्यक्रम थियो । 

यो कार्यक्रममा म बडो अप्ठेरोमा फसें । 

हामी जहाँ गए पनि को कहाँ उभिने या बस्ने भन्ने पहिले नै निर्धारित हुन्थ्यो । त्यहाँ पनि म कहाँनेर उभिने भन्ने पहिले नै निश्चित थियो । आफू उभिने ठाउँमा पुग्दा नपुग्दै कार्यक्रम सुरु भइहाल्यो । हस्याङफस्याङ गर्दै म आफू उभिने ठाउँमा जाँदै थिएँ, म भन्दा अगाडि सांसद उमा रेग्मी    हुनुहुन्थ्यो । उहाँ पनि हतारहतार जाँदै हुनुहुन्थ्यो । 

म आफू उभिने ठाउँमा पुग्दा नपुग्दै राष्ट्रिय धून बज्न थाल्यो । त्यसबेला म हाम्रा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अगाडिपट्टि जस्तो पुगेकी थिएँ ।
राष्ट्रिय धूनको सम्मानमा उभिरहनुपर्ने बेला हिँड्न भएन, नहिडौं भने परराष्ट्र मन्त्रीलाई छेकेर उभिए जस्तो हुने भयो । परराष्ट्र मन्त्रीप्रति अनादर गरेजस्तो हुने भयो ।

अगाडि बढ्न पनि सकिन, उभिरहन पनि अप्ठेरो भयो । 

मैले तत्क्षण निर्णय गरें, राष्ट्रिय धूनको सम्मानमा उभिइरहनु नै उचित हो । म केही दायाँवायाँ उभिनु बेग्लै कुरा हो तर राष्ट्रिय धूनको सम्मान नगरेजस्तो देखिनु ठीक होइन ।

राष्ट्रिय धून सकिएपछि म आफ्नो ठाउँमा गएर उभिएँ । तर, मनभरी अप्ठेरो लागिरह्यो । त्यसरी उभिएको गलत अर्थ लगाएर मिडियामा आउने हो कि भन्ने चिन्ता लागिरह्यो । वास्तवमा भन्ने हो भने यही चिन्ताले म राम्ररी निदाउन पनि सकिन ।

मैले ठीक गरें कि वेठीक गरें ? आफैंलाई सोधिरहें । राष्ट्रपति भवनमा नेपालका प्रधानमन्त्रीलाई गार्ड अफ अनर दिइएको समारोह सामान्य होइन । धेरै महत्वको समारोह थियो । त्यस्तो समारोहमा मैले शोभनीय व्यवहार गरिन कि ? तर, मैले आफ्नो मन बुझाएँ । मैले राष्ट्रिय धूनप्रति सम्मान व्यक्त गर्नैपथ्र्याे, अरु कुरा गलत भए पनि राष्ट्रिय धूनप्रति अनादर हुने व्यवहार गर्नु झन् ठूलो गल्ती हुन्थ्यो ।

मनभरी चिन्ता छाइरह्यो । भोलिपल्ट प्रदीप ज्ञवालीलाई यो कुरा सुनाएँ । उहाँले हास्दै केही छैन, केही छैन, राष्ट्रिय धूनप्रति जस्तो अवस्थामा पनि सम्मान प्रकट गर्ने तपाईंको शैली मन पर्यो भन्नुभयो । अनि मन ढुक्क भयो । मिडियामा गलत ढंगले पनि आएन ।

गान्धी स्मारकमा

गार्ड अफ अनरपछि प्रधानमन्त्री महात्मा गान्धीको स्मारक जानुभयो । म पहिले पनि गान्धी स्मारक पुगेकी थिएँ । तर, यो भ्रमणमा गान्धी स्मारक पुग्न पाउनु मेरो लागि विशेष थियो । किनभने आफ्नै हातले गान्धी स्मारकमा फूल चढाउन पाएँ । 

महात्मा गान्धीको जीवन र कर्मबाट म धेरै नै प्रभावित छु । त्यसैले त्यहाँको भ्रमण विशेष लाग्यो । 

भ्रमणको क्रममा जहाँ पुग्दा पनि प्रधानमन्त्री ओलीको व्यवहार, हिँडाई, बोलाई, हास्ने शैली सबै नियालें मैले । उहाँबाट धेरै कुरा सिकें । विगतमा उहाँलाई जसरी चिनेकी थिएँ, त्योभन्दा धेरै फरक ढंगले चिनें । उहाँको वाक् शक्ति त्यसै बनेको होइन । ज्ञानको ठूलो भण्डार छ उहाँमा, दिल्ली भ्रमणमा जता गए पनि उहाँको बोली व्यवहार हेर्दा मैले महशुस गरें ।

त्यसपछि प्रधानमन्त्री कार्यालय हैदरावाद हाउस गयौं । त्यहाँ दुई देशका प्रधानमन्त्रीको वार्तापछि संयुक्त पत्रकार सम्मेलन भयो । पत्रकार सम्मेलनमा दुई देशका प्रधानन्त्रीले केके भन्नुभयो भन्ने सबैले थाहा पाइसक्नुभयो, यहाँ थप लेखिरहन परेन ।

पत्रकार सम्मेलनपछि चिनजान कार्यक्रम भयो । एउटा हलमा नेपाली प्रतिनिधिमण्डलका हामी सबै उभियौं । को कहाँ उभिने भन्ने पहिले नै निर्धारित थियो । सबैलाई आआफ्नो नम्बर भनिएको थियो । त्यहि ठाउँमा गएर उभियौं । मेरो नम्बर १० थियो । 

गज्जब खाना

प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमै हाम्रो टोलीका लागि खाना थियो । एउटा आकर्षक डाइनिङ हलमा खाना थियो । को कुन टेबलमा बस्ने भन्ने पहिले नै तय थियो । मेरो टेबलको नाम ब्रम्हपुत्र थियो ।

आतिथ्य सत्कारको शैली अत्यन्तै सुन्दर र आकर्षक थियो । भव्य थियो । 

अधिकांश भाँडा चाँदीका थिए । मैले जीवनमा कहिल्यै चाँदीको भाँडामा खाएकी थिइनँ । पहिलो पटक खाएँ । खाना दिने शैली पनि उस्तै मनमोहक थियो ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ल अब खाउँ भन्नुभएपछि खान थाल्यौं । त्यस्तो कूटनीतिक भोजमा कसरी खाने, के गर्ने, के नगर्ने भन्ने नेपालमै हामीलाई सिकाइएको थियो । त्यसैले सहज महशुस गरें ।

यो भोजको अर्काे उल्लेखनीय पक्ष संगीत थियो । तीनजना कलाकारले त्यहाँ विभिन्न धून बजाइरहेका थिए । नेपाली गीत रेशम फिरिरीको धून पनि बजाए । असाध्यै मीठो धून बजाएका थिए । 

खानापछि प्रधानमन्त्री ओलीले ती कलाकारहरुलाई भेट्नुभयो । अँगालो मार्नुभयो । धन्यवाद प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीको मिलनसार व्यवहार र सरल स्वभाव त्यहाँ पनि झल्कियो ।
 
त्यो साँझ नेपाल इण्डिया फाउण्डेसनको कार्यक्रममा गयौं । 

आकर्षक फूल

तेस्रो दिन प्रधानमन्त्री ओली पन्तनगर जाने कार्यक्रम थियो । विमानबाट गयौं । 

पन्तनगरमा प्रधानमन्त्री केपी ओलीको यति भव्य स्वागत गरियो कि म छक्कै परें । विमानबाट ओर्लनासाथ स्थानीय भेषभुषामा सजिएका महिला तथा किशोरीहरुले फूल वर्षाए । भव्यसँग वाजागाजा बजाइएको थियो । 

त्यहाँबाट सत्कारसाथ खाजा खान लगियो । बाटोमा जाँदा सडकको दायाँवायाँ स्कूलका विद्यार्थीहरुले स्वागत गरे । हजारौं विद्यार्थीहरु थिए सडकको दायाँवायाँ । उनीहरुले नेपाल र भारतको मित्रता दर्शाउन दुवै देशका राष्ट्रिय झण्डा बोकेका थिए । 

मोटरमा जाँदा उनीहरु सबैलाई प्रधानमन्त्री ओलीले हात हल्लाएर अभिवादन गरिरहनुभयो । 

त्यहाँ कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्यौं । त्यसपछि विश्वविद्यालय आयौं । विश्वविद्यालयमा कार्यक्रम थियो । कार्यक्रम हलभित्र पस्दा म हेरेको हेर्यै भएँ । हलमा फूलको सजावट यति आकर्षक थियो कि भनीसाध्य छैन । असाध्यै आकर्षक । फूलैफूल । झन मञ्चमा फूलको सजावट देखेर मनै लोभियो ।

कृषि विश्वविद्यालयको नाम र काम सार्थक बनाउने गरी फूल सजाइएको थियो ।

फर्कंदा पनि ओली शैली

स्वदेश फर्कंदा म, सांसद उमा रेग्मी र पत्रकार शिवानी थापा सँगै बसेका थियौं । फर्कंदा पनि प्रधानमन्त्री ओलीले उही शैली दोहोराउनुभयो । आकाशमा विमान सीधा उड्न थालेपछि बसेको ठाउँबाट उठेर अभिवादन गर्दै पछाडिसम्म जानुभयो । सबैसँग भलाकुसारी गर्नुभयो ।

साह्रै आकर्षक लाग्यो उहाँको यो शैली । जहाँ जाँदा पनि जनतासँग एकाकार हुने, ठूलो मानिस हूँ, पदमा छु भन्ने दम्भ अलिकति पनि नदेखाउने अनि सर्वसाधारणसँग नजिक भइहाल्ने शैली उहाँको ठूलो विशेषता लाग्यो ।

भ्रमणको उपलब्धी के ?

भारत भ्रमणमा रहँदा धेरैले चीनसँगको नेपालको अब कस्तो सम्बन्ध हुन्छ भनेर व्यक्तिगत रुपमा साधे । मैले भारत र चीन दुवैसँग नेपालको मित्रवत् सम्बन्ध हुन्छ भने । दुवै देशसँगको सम्बन्धमा नेपालले एक अर्कासँग तुलना गर्दैन भनें ।

स्वदेश फर्किएपछि पनि सबैले यो बारे प्रश्न उठाइरहेका छन् । यो प्रश्न नै मलाई अनौठो लाग्छ । भारत र चीन मात्र होइन विश्वका सबै देशसँग नेपालले मित्रतापूर्ण सम्बन्ध राख्छ । नेपालको शत्रु कोही छैन । नेपाल शत्रुतामा विश्वाश गर्दैन । 

भारत भ्रमणको उपलब्धी के हो भन्ने महत्वपूर्ण प्रश्न हो । यो भ्रमणबाट नेपाल र भारतको मित्रतामा नयाँ आयाम थपिएको छ । अत्यन्तै निकट र सीमा जोडिएको छिमेकी भएको हुनाले भारतसँग नेपालको सयौं समस्या छ, मनमुटाव छ । तर, त्यो भन्दा माथि चाहिँ मित्रता छ । पारस्परिक हित र समानतामा आधारित सम्बन्ध सुरु भएको छ । नेपाल र भारतको मित्रताको कुनै विकल्प नै छैन । 

भारतसँग भविष्यमा पनि समस्या आइरहने छ । समाधान हुँदै जानेछ । निकट छिमेकीको सम्बन्ध समस्यारहित हुन्छ भन्ने कल्पना नै नगरौं । तर, समाधान गर्नै नसकिने गरी समस्या कहिल्यै बढ्ने छैन । किनभने दुवै देश मित्रताका लागि प्रतिवद्ध छन् । 

भ्रमणको क्रममा मैले नेपाल र भारतको मित्रता अमर हुने देखें ।

सरल पत्रिका

प्राप्त प्रतिकृयाहरू

To Top