स्थायी राजधानी बुटवलमै हुन्छ  – उप–महासचिव पौडेल 

राजनीति चैत्र २४ २०७४ ekhabarnepal
Bishnu 768x432


बुटवल, चैत्र २४ । नेकपा एमालेका उप–महासचिव तथा रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बुटवल आसपासमा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु यथाशीघ्र सम्पन्न गरी बुटवलमै सिंहदरवार बनाउने बताउनु भएको छ । बुटवलमा राजधानी हुन्न भन्नेहरुलाई सुन्नेगरि म भन्दछु—स्थायी राजधानी बुटवलमै हुन्छ ।
यसै प्रसंगमा श्री पौडेलले नाम र स्थायी राजधानीको टुंगो छिटो लगाउन आग्रह गर्दै ढिलाढाला गर्दा काममा असर पर्ने भएकोले सके दुई तिहाईले नसके वहुमतले भएपनि छिनोफानो गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
पूर्व अर्थमन्त्री तथा सांसद पौडेलले प्रदेश सरकारको तर्फबाट जनताको काम छिटो छरितो सम्पन्न गर्न यस क्षेत्रकै महत्वपूर्ण स्थानमा मन्त्रालयहरुको ब्यवस्थापन गरी सिंहदरबार बनाउन आफु लागि परेको बताउनु भयो । 
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं.–२ रुपन्देहीले आगामी वर्षका लागि विकास कार्यक्रमका बारेमा छलफल गर्न आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले बुटवललाई प्रदेशको राजधानी बनाउन कै लागि आफु यस क्षेत्रबाट निर्वाचित भएदेखि भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताउनु भयो । वहाँले रुपन्देही जिल्ला सबै भौतिक पूर्वाधारका हिसावले सक्षम भएको हुँदा प्रदेशको स्थायी राजधानी बुटवलनै कायम हुने विश्वास ब्यक्त गर्नु भयो । 
दुई कम्युनिष्ट पार्टीको एकताका सम्वन्धमा वोल्दै पौडेलले कुनै पनि विवादले एकता प्रक्रिया नतोडिने भएकोले वैशाख ९ गते घोषणासभा हुने कुरा वताउनुभयो ।
यस अघि प्रेस चौतारीले गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा पनि पौडेलले आफना धारणा राख्नु भएको थियो । 
भेलामा प्रदेश सरकारका योजना आयोग उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले आगामी वर्षका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्ने आयोजनाहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । 
भेलामा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज एवं प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले यस क्षेत्रका सबै आयोजनाहरु तिनवटै सरकार मार्फत सञ्चालन गरी यथाशिघ्र सम्पन्न गर्ने बताउनुभएको थियो । 
नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय कमिटीका संयोजक तेजेन्द्र के.सी.को अध्यक्षता, सहसंयोजक युवराज घिमिरेको स्वागत र सचिव बाबुराम पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top