ओली र मोदीबीच वन-इन-वन भेट, भोलि मुख्य भेटवार्ता

राजनीति चैत्र २४ २०७४ ekhabarnepal
Images cms image 000041500

 

नयाँ दिल्ली चैत २३

भारत भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ। 
मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता भएकाे दिल्लीस्थित नेपाली दूताबासका राजनीतिक काउन्सिलर हरि ओडारीले बताए। दिल्ली ओर्लेकै दिन औपचारिक सूचीमा नरहेको भेट तय गरेर मोदीले ओलीलाई 'सरप्राइज' दिएका हुन्। यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मोदीले दिल्ली ओर्लेकै साँझ भेटवार्ता गरेका थिए। 

दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा तय गरिएको छ।

विदेशमन्त्रीले पहिले नै भेट्ने, अर्थमन्त्रीको भेट रद्द
मोदीसँग भेटअघि प्रधानमन्त्री ओलीसँग भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी, गृहमन्त्री राजनाथ सिंहका सुरक्षा सल्लाहकार एबी माथुर र जनता दल युनाइटेडका नेता शरद यादवले राष्ट्रपति निवासमा अपरान्ह भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार दिउँसो साढे तीन बजेबाट भारतीय नेताहरुले ओलीसँग भेटवार्ता सुरु गरेका हुन्। भारत–नेपाल विजनेस फोरमलाई सम्बोधन गरेर प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति निवासमा फर्के लगत्तै भेटवार्ता सुरु गरेका हुन्।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पनि शनिबार ओली–मोदी औपचारिक वार्ताअघि नै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ। यसअघिको तालिकामा ओली–मोदी भेटपछि मात्र स्वराजले भेट्ने तय भएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले भने, ‘भारतीय अर्थमन्त्री अरुण जेट्लीसँग शनिबार हुने भनिएको भेट उनी विरामी परेपछि रद्द भएको छ।’

प्राप्त प्रतिकृयाहरू

To Top