५० जनाको टोली लिएर प्रधानमन्त्री ओली दिल्ली उड्दै

राजनीति चैत्र २२ २०७४ ekhabarnepal
Images cms image 000043358

 


काठमाडौँ,चैत्र २२
 तीनदिने भारतको राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ८ः४५ बजे नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली प्रस्थान गर्ने भएका छन्।

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा ओली शुक्रबार करिब ५० जना भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गर्न लागेका हुन्।

भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित चारजना मन्त्री, विभिन्न पार्टीका नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, अरु केही सचिव, सरकारी तथा निजी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी हुनेछन्।

भ्रमण टोलीमा उद्योगी व्यवसायी र कला क्षेत्रका प्रतिनिधि पनि समावेश हुनेछन्। भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री युवराज खतिवडा जानेछन्। भ्रमण टोलीका सदस्य अन्तिम समयसम्म थपघट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा आफूले विगतका सम्झौता कार्यान्वयनम जोड दिने प्रधानमन्त्री ओलीले मंगलबार संसदलाई जानकारी गराएका थिए ।

व्यापार घाटा कम गर्ने, ऊर्जाको उत्पादनमा जोड दिने, रेलमा मार्गको निर्माण, भारतीय मार्ग हुँदै नेपालसम्म पानीजहाजको सञ्चालन गर्ने, भूकम्पपछिको पुननिर्माणमा भारतीय पक्षबाट भएको ढिलाइ, सहुलियत ऋण, थप हवाइविन्दुको पहिचान, बाढीको समस्या समाधान, महाकाली नदीमा पुल निर्माण, ग्यास बुलेटमा भइरहको अवरोध, नोटबन्दीका कारण नेपालमा परेको समस्याबारे आफूले गम्भीरता पूर्वक कुरा उठाउने ओलीले संसदसमक्ष प्रतिबद्धता जनाएका छन्।
 

प्राप्त प्रतिकृयाहरू

To Top