डीपीएल–२ मा धनगढीलाई हराउँदै विराटनगरको जित : किंग्स प्लेअफमा पुग्ने सम्भावना  

खेल चैत्र २२ २०७४ ekhabarnepal
213435601biratnagar

 

काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । बिहिबार भएको खेलमा साबिकको बिजेता टिम चौराह धनगढीलाई १८ रनले हराउँदै विराटनगरले दोस्रो जित निकालेको हो ।

धनगढीस्थित अञ्चल प्रहरीको क्रिकेट मैदानमा विराटनगरले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको टिम चौराहले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराहको लागि शंकर रानाले २५ तथा युएईका अस्फाक अहमेद २२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै चौराहका लागि राजु रिजालले १८, सुनील धमला १२ र  युएईकै रोहन मुस्ताफाले ११ रन बनाए ।  कप्तान सोमपाल मात्र ३ रनमा आउट भए भने राजेश पुलामीले ८ रन जोडे । चौराहलाई सस्तैमा समेट्न विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान २ – २  विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर ५ बलमा अलआउट हुँदै १२७ रन बनाएको थियो । विराटनगरका लागि पवन सर्राफले ४१ तथा अनिल कुमार शाहले २४ रन बनाए । यस्तै कप्तान पारस २ रन आउट हुँदा भारतीय खेलाडी सुभम कुमटले १८ तथा हङकङका बाबर हायतले १५ रन जोडे ।

चौराहका लागि सुनील धमलाले ४ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी र युएईका खेलाडी रोहन मुस्तफाले समान २ – २ विकेट लिए ।

यो जितसँगै विराटनगरले प्रतियोगिताको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । जितपछि विराटनगरले ३ खेलबाट ४ अंक जोडेको छ । विराटनगर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

पराजित टिम चौराहको पनि प्ले अफ सम्भावना कायम रहेको छ । लिगको तेस्रो स्थानमा झरेको चौराहले ४ खेलबाट ४ अंक जोडेको छ । लिगमा लगातार ३ खेलमा जितेको काठमाडौँ गोल्डेन्स ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top