यस्ता आठ काम गर्नुहोस  रोग लाग्दैन 

स्वास्थ्य चैत्र २२ २०७४ ekhabarnepal
Health

रोग किन लाग्छ ? यसको सोझो जवाफ हो, हाम्रो आफ्नै कमजोरीले । अर्थात खानपान, दिनचर्या आदिमा गरिने गडबडी ।

हामी दिनदिनै रोगी हुँदैछौं । रोगी कसको कारणले हुँदैछौ ? जवाफ हो, आफ्नै कारणले । खासगरी हाम्रो यस्ता आनीबानी, जसले रोगी बनाउँछ । बाह्य खासगरी वातवरणिय कारणले पनि हामीलाई कमजोर बनाउँछ । कतिपय अवस्थामा बंशानुगत कारण हामी रोगी बन्छौं । तर, त्यो भन्दा बढी चाहि हामी आफ्नै खराब जीवनशैलीको कारण रोगी बन्छौं ।

 
हुन त अहिलेको जमानामा विभिन्न किसिमको संक्रमणको भय छ । वातावरणिय प्रदूषण पनि स्वास्थ्य चुनौती बन्दै गएको छ । अर्कोतिर हामीले खाने अधिकांश खानेकुरा विषाक्त छन् । यावत् कारणले हामी जिर्ण, रोगी हुँदैछौं ।

अर्कोतिर हाम्रो दैनिकी निकै धपेडीमा वित्ने गर्छ । बिहान उठेदेखि राती सुत्नेबेलासम्म हामी अनेकौ दौडध्रू्रपमा हुने गर्छौं । पैसा, परिवार, करियर आदिको चक्करमा हामी आफ्नो स्वास्थ्यलाई भने वेवास्ता गरिरहेका छौं । काम र कमाईको चक्करमा न खाने समय-तालिका मिलाउन सकिएको छ, न सुत्ने-उठ्ने नै ।

खाना हतार नगरी चपाएर खानुपर्छ

अक्सर हामी खान हतारिन्छौं । सोचाई के छ भने, खाना खाँदा धेरै समय खर्च गर्नु हुँदैन । यो समयको वर्वादी हो ।जबकी हाम्रो जीवनको उर्जा, शक्ति, ताकत भनेकै खानाबाट मिल्ने हो । समग्र शरीरको निर्माण र संचालनमा खानाकै भूमिका हुन्छ । त्यसो भए खानालाई किन महत्व नदिने ?

खाना खाँदा एकदम आरमपूर्वक खानुपर्छ । पटक्कै हतार नगरी । प्रशन्न, खुसी, आनन्दित भएर । खाना खुब चपाएर खानुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ । यसले खानाको स्वाद पनि लिन पाइन्छ । साथसाथै पाचन यन्त्रलाई पनि अनावश्यक बोझ हुँदैन ।

एक पटक अभ्यास गरेर हेरौं, मिहिन ढंगले चपाएर खानेकुरा सेवन गर्दा धेरै फाइदा पुग्छ । एक त यसले पाचन यन्त्रलाई सहज बनाइदिन्छ । खाएको खानेकुरा सहजै पच्छ । अर्कोचाहि मजाले स्वाद लिन पाइन्छ । साथसाथै बिस्तारै चपाएर खाना सेवन गर्दा ओभर डाइटिङबाट बचिन्छ । किनभने लामो समय लगाएर खाना खाँदा हतारमा खाएजस्तो धेरै मात्रामा खानेकुरा खाइदैन ।

भोजनमा हरियो सब्जीलाई महत्व दिने

हाम्रो थालमा कुन खानेकुरालाई बढी महत्व दिने ? त्यो हाम्रै हातमा छ । त्यसैले जति खाना लिइन्छ, त्यसको अधिकतम् हिस्सा सागसब्जीको होस् । हरियो सागसब्जी प्रशस्तै सेवन गरौं । हरियो सागसब्जी फाइबरको राम्रो स्रोत हो । फाइबरले पाचन पद्धतीमा सहयोग गर्छ । जब पाचन यन्त्र चुस्त तथा तन्दुरुस्त हुन्छ, त्यसको प्रभाव समग्र शरीरमा रहन्छ ।

तर, हेक्का राख्नुपर्ने चाहि के भने अहिले धेरैजसो सागसब्जीमा विषादी प्रयोग गरिएको हुन्छ । किटनासक औषधी प्रयोग गरिएको सागसब्जीले स्वास्थ्यलाई विषाक्त बनाउँछ । संभव भएसम्म आफ्ना लागि आफ्नै बारी, बगैंचामा सागसब्जी उत्पादन गर्नु राम्रो हो । त्यो संभव नभए, बजारबाट खरिद गरिएको सागसब्जी आधा घण्टा जति सफा पानीमा डुबाएर राख्ने ।

साथै, बेमौसमी सागसब्जी सेवन नगर्ने । कृतिम ढंगले उत्पादन गरिएका सागसब्जी त्यती उपयोगी हुँदैन ।

जति भोक लागेको छ त्यो भन्दा कम खाने

भनिन्छ, स्वस्थ्य व्यक्तिको पेट उनको मुट्ठी बराबर हुन्छ । त्यस्तै स्वास्थ्यप्रति लापरवाही व्यक्तिको पेट फूटबल साइजको हुन्छ । सुन्दा हाँसउठ्दो लाग्न सक्छ । तर, यो सत्य कुरा हो ।तपाईले ख्याल गर्नुभएको छ/छैन, खानाप्रति आशक्ति हुने व्यक्तिहरु रोगी हुन्छन् । धेरै खाने, मिठोमसिनो खाने व्यक्तिलाई रोगले समात्छ । लामो आयु बाँच्ने एक बृद्धाले भनेकी थिइन्, ‘थोरै खाउँ, धेरै बाँच ।’ धेरै खानु स्वास्थ्यका लागि फाइदाजनक छैन । धेरै खाँदैमा शरीरलाई आवश्यक पोषण पुग्छ भन्नु भ्रम हो । बरु पेटभर खानेकुरा खाँदा त्यसले पाचन प्रक्रियामा असर गर्छ ।

त्यसैले हरेक छाकमा थोरै भोक पनि लिएर उठौं ।

दैनिक दश हजार कदम हिँडौं

जति जति हामीलाई पैसाले पुग्दै जान्छ । जति हामी धेरै कमाई गर्न थाल्छौं । हामीलाई पैदल हिँड्न जाँगर चल्दैन । गाडी चढ्छौं । सब्जी किन्न जाँदा समेत गाडी नै चढ्ने बानी हुन्छ । हाम्रो सोचाई के पनि छ भने, पैदल हिँड्दा समय नष्ट हुन्छ । त्यसैले छिटो-छरितो यात्राका लागि गाडी चढ्ने गरिन्छ ।

तर, नहिँडेर हामी रोगी बन्छौं । रोगी भएपछि उपचारका लागि अस्पताल धाउनुपर्छ । कति समय अस्पतालको बेडमा विताउनुपर्छ । यसको हिसाब-किताब गर्दैनौं ।

हामी गाडीको सुविधा उपभोग गर्न सक्ने भएपनि हिँड्नका लागि समय छुट्याउनुपर्छ । स्वस्थ्य जीवनका लागि पैदल हिँड्नु एकदमै फाइदाजनक छ । दैनिक दश हजार कदम हिँड्ने गरौं । यसरी हिँड्दा शरीरको समग्र व्यायाम हुन्छ ।

सुत्ने तालिका निश्चित गरौं

अहिले शहरिया तन्नेरीहरु राती जागा रहन्छन् । धेरैजसो राती ११, १२ बजेसम्म बस्ने गर्छन् । कोही पढ्छन्, कोही टिभी हेर्छन्, कोही सामाजिक सञ्जालमा विताउँछन् । जबसम्म निन्द्रा लाग्दैन, ओछ्यानमा घुसि्रदैनन् । खासगरी पढ्ने उमेरका युवाहरुमा यस्तो बानी छ ।

अन्यमा पनि यस्तो समस्या छ । राती अबेरसम्म नसुत्नु समस्या नै हो । किनभने स्वस्थ्य जीवनका लागि सुत्ने र उठ्ने तालिका नियमित हुनुपर्छ । राती चाडै सुत्नु र बिहान सबेरै उठ्नु स्वस्थ्य जीवनको सूत्र हो ।

राती ९ बजेदेखि १० बजेसम्म सुत्नुपर्छ । बिहान सूर्योदयअघि उठ्नुपर्छ ।

स्वास्थ्य जीवनका लागि राती सात वा आठ घण्टा सुत्नैपर्छ । सुर्योदयअघि नै उठ्ने हो भने राती चाडै सुत्नैपर्छ ।

चिनिजन्य खानेकुरा नियन्त्रण गरौं

चिनीजन्य खानेकुरा स्वस्थ्यवर्द्धक मानिदैन । जबकी चिनी आफैमा स्वादिलो एवं मिठो हुन्छ । अर्को गाँठी कुरा, धेरैजस्तो खाद्यपदार्थमा चिनीको प्रयोग व्यापक रुपमा भएको हुन्छ ।

चाहे तयारी जुस होस् वा कोल्ड ड्रिक, कुनै मिठाई होस् वा रेष्टुरेन्टको परिकार । यस्ता खानेकुरामा चिनीको मात्रा अत्याधिक हुन्छ । तर, चिनीले स्वास्थ्यमा फाइदा गर्दैन । यसको असर त अहिले देखिन थालिएको छ । धेरैजसो मोटोपनको समस्यामा पनि यस्तै खानेकुराको प्रभाव देखिन्छ ।

चिनीजन्य खानेकुरा नियन्त्रण गर्नैपर्छ । तर, पूर्ण रुपले वा सत्प्रतिशत चिनी त्याग्नु पनि ठीक होइन । केही समयअघि विविसीमा कार्यरत एक पत्रकारले पूर्ण रुपमा चिनी त्याग गर्दाको बेफाइदाबारे बताएकी थिइन् । उनको लेखको निचोड थियो, चिनी हानिकारक हो । तर, यसलाई पूर्ण रुपले त्याग्नु मिल्दैन । किनभने हाम्रो शरीरमा हरेक खानेकुराको सन्तुलन मिलाउनुपर्छ ।

प्रविधिबाट टाढा रहनुपर्छ

प्रविधिको जमाना छ । डिजिटल युगमा प्रविधिलाई पन्छाएर अघि बढ्न संभव छैन पनि । सजिलो र छरितो कार्य-सम्पादनका लागि प्रविधिको प्रयोग गर्नैपर्छ ।तर, प्रविधिप्रति हाम्रो परनिर्भरता यसरी बढ्दैछ कि त्यसले स्वास्थ्यमा गंभिर असर निम्त्याउँदैछ । अहिले हामी हरक्षण मोवाइल, ट्याबलेट, ल्यापटपमा विताउन थालेका छौं । यसले एकातिर हामीलाई शारीरिक रुपले निस्क्रिय बनाउँदैछ भने, अर्कोतिर त्यसबाट उत्पन्न विकिरणले स्वास्थ्यमा असर पुर्‍याउँदैछ ।

बिहान ओछ्यान छाड्नुअघि नै मोबाइलको स्क्रिनमा खेल्न थाल्छौं । थोरै फुर्सद पाउनसाथ फेसबुक चलाउन थाल्छौं । जबकी यस्तो समयमा हामीले बाहिर हिँडडुल गर्नुपर्ने हो । ताजा हावा खानुपर्ने हो ।

प्रविधिको सही प्रयोग गर्ने र फुर्सदको समयमा हिँडडुल गर्ने, टहल्ने गरौ ।

ध्यान, योगलाई जीवनको हिस्सा बनाउने

करियर, पैसा, परिवारको पछि लाग्दा लाग्दै हामी आफैलाई बिर्सन्छौं । कम्तिमा दिनमा एक घण्टा आफ्नो लागि छुट्याउन सकिन्छ ।

आफ्नो दिनचर्याको प्रारम्भ प्रातकालिन भ्रमण, व्यायामबाट गरौं । नियमित व्यायामले शरीर चुस्त, तन्दुरुस्त हुन्छ । रक्त संचार सही ढंगले हुन्छ । व्यायामलाई दिनचर्याकै एक हिस्सा बनाउन सके धेरै किसिमको रोगले संक्रमण गर्दैन । किभने नियमित व्यायामले शरीर स्वस्थ्य हुन्छ । शरीर स्वस्थ्य भएमा रोगप्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ ।

हरेक दिन योग गरौं, ध्यान गरौं । योगले शरीरको समूचित व्यायाम हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top