व्यवसायीलाई करको दायरमा ल्याउन वडा–वडामा शिविर 

अर्थ चैत्र २१ २०७४ ekhabarnepal
Kar 1


तिलोत्तमा, चैत २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ । नगरपालिकाले जनप्रतिनिधिहरुसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिरहेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । 
नगरपालिकाको अधिकारक्षेत्र भित्र संचालनमा रहेका सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याउने उद्देश्यले वडामैं पुगेर शिविर सञ्चालन गरिएको नगर प्रमुख घिमिरेले बताउनुभयो । हालसम्म वडा नं. ३, ४ र ५ मा सम्पन्न शिविरबाट ४ सय ११ जना व्यवसायीहरु करको दायरमा आएका छन् । उनीहरुबाट झण्डै ९ लाख रुपैंयाँ कर संकलन भएको नगरपालिकाका कर अधिकृत ईन्द्रदत्त सापकोटाले जानकारी दिनुभयो । 
व्यवसायको प्रकृति र पूँजीअनुसार नगरपालिकाले व्यवसाय कर निर्धारण गरेको छ । व्यवसाय दर्ता शिविर क्रमशः सबै वडामा सञ्चालन गरिने कर अधिकृत सापकोटाले बताउनुभयो । नगरभित्रका व्यवसायीको अभिलेख अद्यावधिक राख्नुका साथै व्यवसायिक नीति तर्जुमा गर्नसमेत यसले सहयोग पुर्याउने उहाँले बताउनुभयो । उहाले भन्नुभयो, ‘व्यवसाय दर्ता अभियानले नगरभित्रको व्यवसायिक गतिविधिको जानकारी नगरपालिकालाई हुनेछ । यसले नीति निर्माणमा समेत सहयोग मिल्ने हामीहरुको विश्वास छ ।’ 
व्यवसायीको सहजताका लागि नगरपालिकाको टोली घरदैलोमै पुगेर सबै प्रक्रिया पु¥याएर त्यहीँ दर्ता गरी प्रमाणपत्र दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरकार्यपालिकाको गत फागुन ११ को निर्णयानुसार नगरपालिकाको अधिकारक्षेत्र भित्र संचालनमा रहेका विभिन्न व्यवसायहरुको व्यवसाय दर्ता तथा कर संकलन कार्यलाई अभियानको सञ्चालन गरिएको हो । 
प्रत्येक वडा कार्यालयहरुमा विभिन्न मितिमा शिविर आयोजना हुने भएकोले सम्बन्धित वडाभित्रका व्यवसायीहरुले आ–आफ्नो वडामा संचालन हुने शिविरमा सम्पर्क राखी अनिवार्य रुपमा आ–आफ्नो व्यवसाय दर्ता गर्न र व्यवसाय कर बुझाउन नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । 
यस अवधिमा पनि व्यवसाय दर्ता नगरेमा वा व्यवसाय कर नतिरी व्यवसाय सञ्चालन गरेको पाइएमा त्यस्ता व्यवसायीलाई नगरपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा सुविधामा रोक लगाइने र पछि दर्ता र नवीकरण गर्नु परेमा हालसम्मकै कर र जरिवाना लाग्ने कर अधिकृत सापकोटाले बताउनुभयो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top