सैनामैनामा स्टेडियम बनाउन साझा प्रतिबद्धता  

खेल चैत्र २१ २०७४ ekhabarnepal
Suntali foundation

     भैरहवा, चैत २१ । रुपन्देहीका सबै स्थानीय तहले सैनामैनामा क्रिकेट स्टेडीयम बनाउन सहकार्य गर्ने साझा प्रतिबद्धता जनाएका छन् ।

जिल्ला समन्वय समितिको कार्यालय भैरहवामा बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति रुपन्देहीको बैठकमा सहभागी स्थानीय सरकारका प्रमुखहरूले सैनामैनाको रङ्गशाला निर्माण गर्ने योजना राष्ट्रिय गौरवको भन्दै कार्यान्वयनमा आफुहरुको पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएका थिए ।

जिससको बैठकले  सैनामैनाको स्टेडीयम निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहकार्य गर्न औपचारिक रुपमा पत्राचार गर्नेसमेत निर्णय भएको जिससका समन्वय अधिकारी हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

 सैनामैनाको वडा नम्बर -७ लम्टैयामा रहेको करिब ६५ विगाह क्षेत्रफलमा स्टेडीयम बनाउने नगर प्रमुख चित्रबहादुर कार्कीले घोषणा गर्नुभएको थियो ।

उक्त जग्गामा धुर्मुस-सुन्तली फाउण्डेसनको प्राविधिक सहितको टोलीले निरीक्षण समेत गरेको छ । उक्त जग्गा स्टेडीयमका लागि उपयुक्त रहेको टोलीले ठहर गरिसकेको छ ।

जिल्लामा रहेका सोह्र वटै स्थानीय तहले सैनामैनामा बन्ने स्टेडीयमका लागि हरतरहले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो ।

जिसस प्रमुख एकराज विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा सहभागी जिल्लाका नगर प्रमुख तथा गाउँपालिका प्रमुखहरु सहभागी थिए ।

उनीहरूले सैनामैनाको स्टेडीयम निर्माणका लागि सहकार्य गर्ने साझा प्रतिबद्धता जनाएको जिसस प्रमुख विश्वकर्माले जानकारी दिनुभएको छ ।

बुधबारको बैठकले नै फाउण्डेसन र संघीय सरकारलगायतका मातहतका निकायमा पत्राचार गर्ने निर्णय गरेको अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top