पार्टी एकताअघिको अन्तिम बैठक एमालेले बोलायो 

राजनीति चैत्र २२ २०७४ ekhabarnepal
Cpnuml


काठमाडौं, चैत २१

सत्तारुढ एमालेले एकीकृत नेकपा माओवादी केन्द्रसँगको पार्टी एकीकरण अघि अन्तिम केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक बोलाएको छ । बुधवार बसेको स्थायी कमिटी बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

एमाले र माओवादीबीच बैशाख ९ गते पार्टी एकीकरण गर्ने लगभग सहमति भइसकेको छ । सोही आधारमा एमालेले एकता अघि केन्द्रीय कमिटी र पोलिटब्युरोको अन्तिम बैठक बोलाएको हो ।

एमाले प्रचार बिभाग प्रमुख तथा सचिव योगेश भट्टराईका अनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भएका प्रगतिबारे जानकारी गराउनु भएको थियो । एकताका लागि अब धेरै समस्या नरहेको भन्दै केही प्राबिधिक बिषय चाँडै टुंगो लाग्ने बताउनु भएको थियो ।

पार्टी एकताका लागि अब धेरै समस्या छैन, कही प्राबिधिक बिषय रहेका छन, तिनको चाँडै टुंगो लाग्छ, अव एकतामा कुनै बाधा ब्यवधान छैन,’ बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाई थियो ।

वैशाख ९ गते एमाले र माओवादी एकीकरण हुने सहमति भएकाले त्यसअघि एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता अनुमोदन गर्न लागेको हो । सोही बैठक नै एमालेको अन्तिम हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top