दुखद खबर : चर्चित कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमतीको निधन  

मनोरञ्जन चैत्र २० २०७४ ekhabarnepal
Madan 1


 काठमाडौं चैत्र २०,
कलाकार मदनकृष्ण श्रेष्ठलार्इ पत्नी शोक परेको छ । सोमबार राति श्रीमती यशोदा सुवेदी (श्रेष्ठ) को क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको हो । विगतमा मदनकृष्ण श्रेष्ठसँग श्रीमतीको बारेमा गरेको कुराकानी जस्तको तस्तै यहाँ प्रस्तुत गरिएको छ –

श्रीमती जीवनसाथी हुन्, घर हुन्, भर हुन्, डर हुन् । सुखदुःख बिसाउने चौतारी हुन् । श्रीमतीबिना जिन्दगीले पूर्णता पाउँदैन, अधुरो हुन्छ जस्तो लाग्छ ।

एकजना साधारण मानिसले भनेको याद भइरहन्छ, ‘आफ्नो मन बुझ्ने, मन मिल्ने श्रीमती र एउटा साथी भयो भने जिन्दगी सफल हुन्छ ।’ यसो भन्ने भोटेबहालका आरसी मःमः पसलका साहु रामकृष्ण श्रेष्ठ हुन् । रामकृष्णदाइ साधारण लेखपढ हुन् । ठूला विद्वानले भनेको भन्दा उहाँले अनुभवले भनेको यो भनाइमा मैले विशेष अर्थ पाउँछु ।

साँच्चिकै मन बुझ्ने, मन मिल्ने साथी पर्यो भने, जिन्दगी नै सफल हुन्छ । धेरै अगाडि बढ्न सकिन्छ । हरेक काम गर्न, काम थाल्न आँट हुन्छ । कतै केही समस्या पर्यो भने घरमा आएर पोख्न पाइन्छ । जिन्दगी भनेको के हो ? बुझ्न, अनुभव गर्न र भोग्न पाइन्छ ।

उनी यशोदा सुवेदी, म श्रेष्ठ । हाम्रो अन्तर्जातीय विवाह हो, त्यसैले प्रेम-विवाह । हाम्रो जमानामा अन्तर्जातीय विवाह गर्न सजिलो थिएन ।

जागिरले जोड्यो दिल

मेरो सञ्चयकोषमा जागिर थियो, ०२३ सालदेखि एकाउन्ट सहायक पदमा । उनले पनि त्यहीँ जागिर गर्न थालिन्, ०२६ सालदेखि ।

मेरो घर जितुफेदी, उनको कुपन्डोल । उतिबेला जितुफेदी पुग्न बालाजुबाट एक घन्टा पैदलयात्रा लाग्थ्यो । मेरो बुवा जितुफेदी गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । हाम्रो फेदी र काठमाडौंमा जग्गा थियो, छ । त्यसैले त्यतिबेला हाम्रो परिवार काठमाडौं झोँछेमा भाडामा बस्थ्यो ।

सञ्चयकोषमा हामीले काम गर्ने कक्ष एउटै थियो । चिया-खाजा सँगै खान्थ्यौं । कुरा हुने नै भयो । घर-परिवार, दुःखसुखका कुरा पनि हुन्थे । उनी गम्भीर स्वभावकी थिइन् । म रमाइलो र गम्भीरता मिसिएको स्वाभावको ।

प्रेम-प्रस्ताव मैले नै गरेको हुँ । तर, प्रस्ताव गरेको खास दिनको सम्झना त छैन । त्यसरी प्रस्ताव राख्नु पनि परेन । बिदाको दिनबाहेक कार्यालय समयमा भेट भइरहने, बोलचाल भइरहने । बोली-व्यवहारमै प्रेम झल्कथ्यो । दिनहरू बित्दै जाँदा, नजिक हुँदै जाँदा प्रेम-प्रस्ताव आफैँ भयो भनौँ ।

प्रेम भएपछि उनले बिहे कसरी होला भनी चिन्ता गरिरहन्थिन् । भनिरहिन्थिन्, ‘तपाईं नेवार, म बाहुन, कसरी बिहे होला !’ हामीबीच जातीय तगारोकै बारेमा कुरा बढी हुन्थ्यो । यस्ता कुराले झन् नजिक बनाउँथ्यो । कहिलेकाहीँ उनले घरबाट खाजा लैजान्थिन्, बाँडेर खान्थ्यौं । मैले लैजाँदा पनि बाँडेर खान्थ्यौं । म कहिलेकाहीँ उनलाई अफिसबाट घरसम्म छोड्न जान्थेँ । यसरी नै एकलाई अर्कोबिना मुस्किलै पर्ने हुन थाल्यो ।

मैले ०२२ सालमा रेडियोमा गीत गाइसकेको थिएँ । मेरो प्रतिभालाई पनि उनले कदर गर्थिन् । यसले पनि हामीलाई नजिक हुन् सहज बनायो होला ।

यी सूत्रले उनलाई आकर्षित गरें

बैंसमा म अलिअलि चुलबुले पनि थिएँ, हँसिमजाक गर्ने स्वभावको । अफिसमा काम गर्दा पनि बोलेर हँसाइरहन्थे । मेरो कुरामा कोठाभरिका मान्छे हाँस्थें, रमाइलो मान्थें । उनी पनि हाँसिरहेकी हुन्थिन् ।

त्यही बेला आईएको कोर्समा भएको ‘आर्ट अफ ह्यान्डलिङ पिपल’ पढ्न पुगेको थिएँ । त्यसमा मानिसलाई कसरी आफूतर्फ आकषिर्त गर्ने भन्नेबारे केही सूत्र छ । जस्तो, कुनै पनि मानिसलाई आफूप्रति आकषिर्त गर्नु छ भने उसलाई मन पर्ने चिज आफूले पनि मन पराउनुपर्छ । ऊ रमाउने कुरामा आफू पनि रमाउनुपर्छ । मैले पनि उनलाई मन पर्ने कुरामा ध्यान दिन थालें । उनले पत्रिका पढ्न खुब चासो दिन्थिन् । त्यो बेला धर्मयुग, फिल्म फेयरलगायत हिन्दी पत्रिका आउँथे । धर्मयुगमा विविध सामग्री हुन्थ्यो भने, फिल्म फेयरमा फिल्मसम्बन्धी मात्रै हुन्थ्यो । उनले यी पत्रिका खुब चासो दिएर पढ्थिन् ।

यी पत्रिका उनले पढ्न अगाडि नै मैले ल्याउँथे र उनको अगाडि गएर पढेझैँ गर्थें । उनले नमाग्दासम्म पढिरहन्थें । उनकै लागि मैले पत्रिका ल्याइदिएको भन्ने सायद उनले बुझ्थिन् । यसले पनि हामीलाई नजिक बनायो ।

हाम्रो सम्बन्धबारे अफिसमा पनि हल्ला चलिसकेको थियो । कसरी-कसरी मेरो घर, उनको घरसम्मै हल्ला पुगिसकेको थियो । सञ्चयकोषमा पाँच सयजति कर्मचारी थिए, हल्ला हुन समय लागेन । यी सबै कुराले हाम्रो सम्बन्ध झन् बलियो बनायो । एक-अर्काबिना त जिन्दगी नै नचल्ने हुन थाल्यो । अन्ततः हामी विवाह गर्ने निर्णयमा पुग्यौँ ।

भागी-विवाहको विकल्प थिएन

त्यो बेला परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गर्न निकै गाह्रो थियो । विवाह गर्न जात मिल्ने हुनैपर्ने मान्यता थियो, अन्तर्जातीय विवाहलाई अर्कै किसिमले हेरिन्थ्यो । बाहुन परिवारले छोरी नेवारलाई दिने त सोच्नै सक्दैनथ्यो । मलाई पनि बाहुनी बिहे गर्न परिवारले स्वीकृति दिँदैनथ्यो । मेरो र उनको प्रेम सम्बन्धको हल्ला घरसम्म पुगेपछि बुवाले मुखै फोरेर त केही भन्नुभएन । तर, आँखा-आँखाले कुरा हुन्थ्यो, बुझिन्थ्यो- मैले बाहुनीसँग प्रेम गरेको उहाँले मन पराउनुभएको छैन भन्ने ।

दुवैको परिवारले स्वीकृति दिँदैनथ्यो । मागी विवाह सम्भव थिएन, भागेर बिहे गर्नुको विकल्प थिएन । भाग्न पनि दुवै नै परिवारदेखि नै भाग्नुपर्थ्यो ।

बिहे गर्न न्युरोडमा ६० रुपैयाँको कोठा

हाम्रो बिहे ०३० साल इन्द्रजात्राको दिन भएको हो, सुटुक्क भागी-विवाह । विवाह गर्दा म २३ वर्षको थिएँ, ००७ सालको जन्म हो मेरो । उनी मभन्दा एक वर्ष कान्छी छन् ।

मैले बिहेका लागि न्युरोडमा कोठा भाडामा लिएको थिएँ, घरमा थाहै नदिई । कोठाभाडा ६० रुपैयाँ थियो । त्यो कोठाको रंगरोगन साथी मंगलनारायण जोशीले गरिदियो । अर्को साथी थियो, प्रदीप श्रेष्ठ । उसको पर्दा, सिरक-डसना आदि पाइने पसल थियो, महाबौद्धमा । उसले जे-जे चाहिन्छ लैजानु भनेको थियो, पछि पैसा दिने गरी । साथीहरू लगेर चाहिने जति सामान ल्याएँ । तर, त्यहाँ खाट-पलंग थिएन । खाट किनिनँ ।

बिहेमा मोहनलालको कमिज र रामको टाई लगाएँ

सूर्यविनायक मन्दिरमा बिहे गर्ने सल्लाह भएको थियो । बिहेकै लागि सामान किन्दै थियौँ, असनमा । त्यहीबेला मेरो फूपूको छोरा प्रचण्डलाल श्रेष्ठ आउनुभयो । उहाँ मेरो दाइ हो, दुई महिनाले जेठो । उहाँले सोध्नुभो, ‘ए मदन, के किनेको ?’

मैले ढाँटें, ‘भोलि पिकनिक जान भनेर दाइ, केही सामान किनेको ।’ दाइले छेउतिर बोलाएर भन्नुभयो, ‘तिमीहरूले भोलि बिहे गर्दै छौ रे !’

मैले ‘होइन’ भनें । उहाँले भन्नुभो, ‘बर्ता बाठो नबन्, मलाई थाहा भइसक्यो । घरमा तेरो बालाई पनि थाहा भइसक्यो ।’

खै कसरी, उहाँले थाहा पाइसक्नुभएको रहेछ । म डराएँ, केही बोलेको थिइनँ । उहाँले नै भन्नुभो, ‘चिन्ता गर्नुपर्दैन, म यता सबै ठीकठाक पारिसकेको छु, तिमीहरू विवाह गर ।’

अब परिवार बस्ने डेरामा जान पनि पाइएन, गयो भने आउन दिँदैनन् । विवाह गरेर मात्रै न्युरोडको कोठामा बस्छु भनेको थिएँ, त्यही दिनदेखि बस्नुपर्यो । घरमा जान नपाउने भएपछि बिहे गर्न कमिज नहुने भो । अहिलेजस्तो रेडिमेट कमिज किन्न पाइँदैनथ्यो । सिलाउन हप्ता दिनजति लाग्थ्यो ।

मोहनलाल भन्ने साथी थियो, असनको, अहिले सीतापाइलामा बस्छ । उसले कमिज दियो । अर्को साथी थियो, राम श्रेष्ठ, प्युखाको । उसको टाई ल्याएँ । सुटचाहिँ पहिले नै सिलाउन दिएको थिएँ, ल्याइसकेको थिइनँ र जोगियो । त्यो पनि घरमा लगेको भए लगाउन नपाउने रैछु ।

बिहेमा उनलाई मैले किनिदिनु परेन । सबै उनैले व्यवस्था गरिन् । उनैले किनेको सुनको सिक्री मैले लगाइदिएँ । उनले अफिसबाट ६ महिनाको पेस्की लिएकी थिइन् । त्यो बेला हाम्रो ५-६ सय थियो होला ।

बिहे गर्न सूर्यविनायक पुग्यौँ । उनी आफ्नी साथी अंगुर अमात्यलाई लिएर आइन् । मेरा साथीहरूले पण्डित पनि बोलाएका थिए । साथी त्यस्तै, २२-२५ जना थियौँ । बिहेका लागि साथीहरू दही किन्न गएका थिए, कलाकार ध्रुव हाडादाइले देखेर सोध्नुभएछ । साथीहरूले भनेछन्, ‘आज मदनकृष्ण श्रेष्ठ दाइको बिहे छ ।’ ध्रुवदाइ पनि आउनुभो, खुब हँसाउनुभो ।

दुईपटक बिहे

बिहेपछि हामी त्यो कोठामा मात्र १४ दिन बस्न पायौं । बस्दासम्म चिन्ता मात्रै हुन्थ्यो- अब के गर्ने ? कति दिन यसरी बस्ने ? घरमा के भने होलान् ? यस्तै चिन्ता हुन्थ्यो । उनी माइती सम्झेर पीर गर्थिन्- बाले के भने, के सोचेँ, आमाले के भनिन्, बहिनीले के भनिन्, छिमेकीले के सोचेँ भनेर । उनी न्यायाधीशकी छोरी, उनको बुवा बाबुराम उपाध्याय जिल्ला न्यायाधीश हुनुहुन्थ्यो । उनका एउटा दाइ, एउटा भाइ, एउटी बहिनी थिइन् ।

दुवैले घर-परिवार चटक्टै छाडेका थियौँ- सँगै जिउने, जीवनभरि साथ दिने निर्णय गरेर ।

त्यो कोठामा दुवै मिलेर खाना बनायो खायो, अफिस गयो आयो, नरमाइलो लाग्थ्यो ।

हामी त्यहाँ बसेको मेरी माहिली फूपूको छोरा ईश्वरीलाल श्रेष्ठ दाइले थाहा पाएर आउनुभयो । उहाँको घर रञ्जना हलनजिकै थियो । उहाँहरू दाइ-भाउजू आउनुभयो । ईश्वरीदाइले भन्नुभयो, ‘बिहे गरेछौ, ल बधाई छ । खुसी लाग्यो । राम्रो गर्यौ । अब यसरी कति दिन बस्छौ ? म मामा (मेरो बुवा उहाँको मामा) सँग कुरा गर्छु । अब घर जानुपर्छ । अहिले नै हिँड, बुवा हाम्रो घरमा हुनुहुन्छ, कुरा गर ।’

मलाई पनि बुवालाई भेट्न मन लागेको थियो । कसरी भेट्ने भनेर छटपटिएको थिएँ । ईश्वरीदाइले आफ्नो घरमा लिएर जानुभयो, त्यहाँ मेरो बुवालाई बोलाउनुभएको रहेछ । भेटेपछि बाबुछोरा अँगालो मारेर रोयौँ ।

बुवा प्रधानपञ्च, समाजसेवी पनि । अलिअलि परम्परावादी, अलिअलि आधुनिक विचारको । त्यसैले उहाँमा परम्परा र आधुनिकताबीच द्वन्द्व थियो । अन्ततः उहाँले आधुनिकतालाई स्विकार्नुभयो ।

सन्तानप्रति यसै पनि माया हुने नै भयो । त्यसमाथि म एक्लो छोरो । अर्की आमाबाट भाइ जन्मिसकेको थिएन । म सानै छँदा मेरी आमा खस्नुभएकाले बुवाले अर्को बिहे गर्नुभएको थियो । एउटा छोराले पनि एकैचोटि बिहे गरेर घर छाड्दा बुवालाई दुःख लाग्ने नै भयो । हामी अँगालोमा केहीबेर रोयौँ, केही नबोली ।

त्यसपछि भन्नुभयो, ‘जे हुनु भइहाल्यो, बिहे गरिहाल्यौ । अब घरमा जानुपर्छ । तर, मेरो तर्फबाट पनि बिहे गरिदिन्छु ।’

बुवाले यसरी घरमा लैजानुहोला भन्ने अलिअलि आशा त थियो, तर ढुक्क थिइनँ । बुवाले नबोलाए जे त होला भनेर बिहे गरेको थिएँ ।

बुवाले बोलाउनुभयो । नेवारी परम्पराअनुसार फेरि बिहे भयो हाम्रो, नाता-कुटुम्बलाई बोलाएर, भोज खुवाएर । कतिपयले भन्छन्, मदनकृष्णको दुइटी श्रीमती छन्- एउटी सुवेदी एउटी नेवार्नी ।

बिहे कार्डमा यशोदा मैयाँ

बुवाले नेवारी परम्पराअनुसारको बिहेमा कार्ड पनि छाप्नुभयो । तर, उहाँले ‘मेरा सुपुत्र मदनकृष्ण श्रेष्ठ र यशोदा मैयाँको शुभविवाह…’ भनेर कार्ड छाप्नुभएको थियो । यशोदा सुवेदी लेख्नुभएन- समाज, नातेदारले नराम्रो मान्लान् भनेर पनि होला । तर, यशोदा सुवेदी भनेर सबैलाई थाहा भइसक्दा पनि उहाँले कार्डमा लेख्न चाहनुभएन । यो कुरा सम्झँदा अझै पनि खट्किरहन्छ, बुवाले पूरै स्विकार्नुभएन भनेर ।

बिहेपछि हामी झोँछेकै डेरामा बस्न थाल्यौँ, त्यहीँबाट सँगै अफिस जाने-आउने गथ्र्यौं । मैले ०३४ सालमा सञ्चयकोष छाडें । उनले त्यहाँ ४० वर्ष जागिर गरिन्, जागिर छाडेको अहिले त्यस्तै चार वर्ष भयो ।

कसैको अन्तर्जातीय बिहे भयो भनेर सुन्यो कि हामीलाई एक हप्तालाई पुग्थ्यो, कुरा गर्न । दुईमध्ये जसले सुने पनि एक-अर्कालाई सुनाउँथ्यौं । यशोदाकै साथी अंगुर अमात्यको प्रह्लाद गुरुङसँग बिहे भयो । प्रह्लाद गुरुङ नेपाल आर्मीको जर्नेल हुनुभयो । गुरुङ र अमात्यको बिहे भयो भनेर हामीले थुप्रै दिन चर्चा गर्यौँ । पछिपछि त कार्डै छापेर बिहे भएको सुन्न थाल्यौँ, यो कुरा हाम्रा लागि निकै ठूलो हुन्थ्यो । फलानोले त जे थर छ त्यही राखेर कार्डै छापेर बिहे गरेछन् भनेर कुरा हुन्थ्यो ।

ससुरालीमा

बिहे भएको झन्डै दुई वर्षपछि ससुराली गएँ हुँला । बिहे गर्दा यशोदाको बुवा हुनुहुन्थ्यो । हामी जाँदा उहाँ बितिसक्नुभएको थियो, सासुआमा मात्रै हुनुहुन्थ्यो । उनकै नातेदार कसैले जाने वातावरण मिलाएरै हामी गएका हौं । पहिले यशोदा गइन्, वातावरण बनाइन् । अनि, म गएँ । मलाई टीका लगाइदिनुभो । बसेर खाना खाएँ । मलाई देखेर सासुआमा खुसी हुनुभो । कुराकानी हुँदा उहाँले मलाई मन पराउनुभयो । भलादमी, ठीक्क बोल्ने भनेर प्रशंसा पनि गर्नुभयो ।

उनका गुण

उनले मलाई असाध्यै केयर गर्छिन् । म उनीप्रति सधैँ आभारी छु । मलाई सम्झाइ-बुझाई गर्छिन् । उनको अखबार पढ्ने बानी छ । पत्रपत्रिकामा मेराबारे खबर, अन्तर्वार्ता आउँदा कटिङ गरेर राख्छिन्, मलाई बताउँछिन् । धार्मिक आस्था छ उनको । यसो भनेर दिनहुँ पूजा गर्ने, पूजा नगरी नखाने कट्टर पनि होइनन् ।

उनी मलाई सम्मान गर्छिन्, बोलाउँदा पनि सुन्नुस् त भन्छिन् । म पनि उनलाई सम्मान गर्छु । एक-अर्कालाई सम्मान भएन भने दाम्पत्य जीवन गाह्रो होला सायद । मैले उनलाई रुखो बोली पनि गरेजस्तो लाग्दैन, मेरो स्वभाव नै होइन ।

उनले सधैँ मलाई सम्झाउने एउटै भनाइ हुन्छ- दिन सधैँ एकनास हुँदैन । धेरै तडक-भडक गर्नुहुँदैन, लो प्रोफाइलमै बस्नुपर्छ । उनले पनि तडकभडक गर्दिनन् । जस्तो, गहनामा उनको कुनै रहर छैन ।

उनलाई असाध्यै फिल्म हेरेर रुनुपर्छ । छोरी सानी हुँदा भिडियो पसलमा फिल्मको भिसिडी किन्न गएकी थिइन् । पसलले कस्तो फिल्म दिने भनेर सोधे छन् । छोरीले भनिछन्, ‘हाम्री आमाले हेर्ने हो, रुवाउने खालको दिनु न ।’ सानी छोरीलाई पनि उनी फिल्म हेरेर रुनु स्वाभाविक भइसकेको थियो । फिल्म हेरेर रुने मान्छे मलाई मन पर्छ । किनभने, फिल्म हेरेर रुने मान्छेसँग मानवीय संवेदना हुन्छ । अरुको पीडालाई महसुस गर्न सक्छ । कोमल हृदय भएको मानिस मात्रै यसरी रुन सक्छ । मैले खेलेका फिल्म पनि हामीले सँगै बसेर हेरेका छौँ, दुःखको दृश्य आउँदा उनी रोएकी छिन् । टेलिफिल्म हेरिरहेका बेला रुवाउने सिन आयो कि उनको मुखै हेर्न हुँदैन, रिसाउँछिन् । यस्तो बेला डिस्टर्ब गर्न हुँदैन, उनलाई मज्जाले रुनुपर्छ । यसरी रुँदा आनन्द हुन्छ भन्छिन् । मैले खेलेका हँसाउने खालका टेलिफिल्म हेर्दा खुलेर हाँस्छिन् ।

छोराछोरी जन्मँदा

हाम्रा दुई सन्तान छन्- यमन र सरना । छोरा यमन ०३१ साल फागुनको हो । छोरा जन्मँदा हामी झोंछेमै भाडामा बस्थ्यौँ, उनलाई व्यथा लागेपछि वीर अस्पतालसम्म हिँडेरै आयौँ, मेरो बुवा पनि सँगै आउनुभएको थियो । अस्पतालमा भर्ना भएपछि छोरा सजिलै जन्मियो । छोरा र छोरीको उमेर ५-६ वर्षको फरक छ । छोराछोरी जन्मँदा म उनकै साथमा भएँ । एउटा श्रीमानले गर्नुपर्ने कर्तव्य पूरा गरेँ । छोरो यमन सन् २००० तिर अमेरिका गयो । पछि बहिनीलाई पनि लग्यो । यमनको संगीत सिर्जना राम्रो छ, सरनाले मीठो गाउँछिन् । गीत रेकर्ड पनि गरेकी छिन् ।

तीन दिनजति बोलेनौँ

हाम्रो झगडा आजसम्म भएको छैन । हात उठाउने त कुरै छोडौँ । झगडै भएन भनेर एकचोटि सल्लाह नै गरेर रिसाउने भयौँ ।

छोरा जन्मिसकेको थियो, बिहे भएको ६-७ वर्षपछि होला, एक दिन कुरा भयो- बुढाबुढीको झगडा हुन्छ भन्छन्, खोइ हाम्रो त झगडै हुँदैन त । त्यसपछि हामीले सल्लाह गरेरै रिसाउने निर्णय गर्यौं । तीन दिनजति बोलेनौँ । उकुस-मुकुस भयो । भात पस्केको हुन्थ्यो, खाने तर नबोल्ने ।

थप्नुपर्यो भने यसो हेर्यो उसले बुझेर आफैँ थपिदिन्थिन् । हाँसो पनि लाग्थ्यो, बोली रोक्न निकै गाह्रो हुन्थ्यो । सुत्दा पनि अर्कोतिर फर्केर सुत्थ्यौँ । तीन दिनसम्म बोलेनौँ । तीन दिनपछि बेस्सरी हाँस्यौँ ।

क्यान्सर भएको थाहा पाएपछि

सामान्य सुखदुःखमै चल्दै थियो जीवन । दाम्पत्य जीवनमा त्यस्तो मनमा गढ्ने दुःख आएनन् । तर उनी अहिले बिरामी छिन्, तीन-चार वर्षदेखि । उनलाई रेक्टल क्यान्सर भएको २०१२ को अपि्रलमा थाहा भयो । तेस्रो चरणको पनि अन्तिम भइसकेको रहेछ, क्यान्सरका चार चरणमध्ये । पहिले पायल्स भनेका थियौँ, क्यान्सर रहेछ ।

हाम्रो क्यामेरा म्यान गौरीशंकर धोजूले भने, ‘डाक्टर रामकण्ठ माकजूले तपाईंलाई एकपटक धुलिखेल हस्पिटल हेर्न बोलाउनुभएको छ । ढुक्क भएर बस्न एकचोटि चेकअप पनि गर्नुपर्छ भन्नुभएको छ ।’

हामी बुढाबुढी र हरिवंश पनि गएर धुलिखेल हस्पिटल हेर्यौँ, चेकअप पनि गर्यौँ । चेकपछि डा. रामकण्ठले मलाई एकान्तमा बोलाएर भन्नुभयो, ‘भाउजूले त ठूलै रोग पाल्नुभएको रैछ ।’

कस्तो रोग भनेर सोधेको ‘क्यान्सर’ भने । म खंग्राङखुंग्रुङ भएँ । फेरि एक्सरे गरेर हेर्यौँ, लिभरमा पनि सानो स्क्र्याच देखियो । डा. रामकण्ठले भन्नुभो, ‘एकचोटि प्रेस्कान गर्नुपर्छ । यसका लागि दिल्ली, बैंकक, जर्मन जहाँ गए पनि हाम्रो टोली छ । एयरपोर्टमै लिन आउँछ ।’

म जहाँ जान पनि तयार थिएँ । मलाई सम्पत्तिको मतलब भएन । मैले भनें, ‘डाक्टर साप जहाँ जाऊ भन्नुहुन्छ, त्यहाँ जान्छौँ, उनलाई निको हुनुपर्यो ।’

यो कुरा सबैभन्दा पहिले हरिवंश (आचार्य) लाई सुनाएँ । उनी पनि निकै आत्तिए ।

बैंकक जाने कुरा भयो । उनलाई थाहा दिने कि नदिने भनेर सोधेँ । उहाँले ‘थाहा दिनुपर्छ, आत्मविश्वास बढ्छ, मन बलियो हुन्छ, त्यहीअनुसार भाउजू आफैँ लड्न तयार हुन सक्नुहुन्छ’ भन्नुभयो । उहाँले आफैँले मिलाएर भन्छु पनि भन्नुभयो ।

त्यो दिन घर आएर एक्लै भक्कानिएर रोएँ ।

अर्को दिन भेटेर डा. रामकण्ठले भन्नुभयो, ‘भाउजू, सबै ठीक छ तर किमो अलिकति दिनुपर्छ । त्यसैले बैंकक जानुपर्छ । नत्र यही मैले अप्रेसन गरिदिन्थेँ । साधारण हो, चिन्ता गर्नुपर्दैन ।’

किमो दिनुपर्छ भनेपछि उनले बुझिहालिन्, खंग्रङ्ग भइन् ।

त्यसपछि दुई-तीन दिनमै हामी बैंकक गयौँ । साथमा हरिवंश गएका थिए । छोराछोरी अमेरिका थिए, खबर पाएपछि उनीहरू पनि बैंकक आए । एक महिनाजति हामी बैंककमै बस्यौँ, डाक्टर पढ्ने नेपाली स्टुडेन्टको होस्टेलमा । उपचार निकै महँगो पर्यो ।

अहिले सुधार नै छ । सामान्य नै छ, खाना पस्कन अघि सर्छिन् । तर औषधि खाइरहनुपर्छ, चेक गराइरहनुपर्छ । सुगर, प्रेसर पनि छ ।

छोराबुहारी अमेरिमा थिए । उतैको पिआर थियो, अहिले आमाको हेरचाहका लागि नेपाल आएका छन् ।

मसँगै हिँड्ने रहर

उनले ४० वर्ष जागिर गरिन् । जागिरका बेला त्यति फुर्सद हुँदैनथ्यो- छोराछोरीलाई हुर्काउन, पढाउन ध्यान दिनुपथ्र्यो । जागिर छोडेपछि उनको धोको थियो- म जहाँ गयो, त्यहीँ हिँड्ने । रिटायर्ड भएपछि भनेकी थिइन्, ‘यत्तिका वर्ष फुर्सद भएन, अब रिटायर्ड लाइफ तपाईं जहाँ जानुहुन्छ, त्यहीँ जान्छु । तपाईंसँगै हिँड्छु । तपाईं विदेश गए पनि सँगै जान्छु, देशमै जहाँ-जहाँ जानुहुन्छ, सँगै हिँड्छु ।’

तर, बिरामी भएर कहीँ जान पाइनन् । फेसबुकमा हरिवंश, रमिला र मेरो फोटो हुन्छ । हामीले आफू गएका कार्यक्रमका फोटो राखेका हुन्छौँ । उनले हेर्छिन् र आफू त्यहाँ नभएकोमा दुःख मान्छिन् । कतिले त फोटोमा कमेन्ट्स नै लेखेका हुन्छन्, ‘चारैजनाको फोटो भए हुने… ।’

बिहेपछि बुवाको मुख देख्न पाइनन्

उनको सबैभन्दा ठूलो गुन नै मेरा लागि परिवार त्यागिन् । परिवारलाई चटक्कै छाडेर मसँग आइन् ।

एक दिन परिवार त छोड्नैपर्छ, छोरी मान्छेले । तर, यो परिवारको सल्लाहमा हुन्छ । उनले मेरा लागि कठोर निर्णय गरिन्, परिवारलाई चट्टक्कै छाड्ने । उनी माइत जानै नपाई बुवा खसिसक्नुभएको थियो । मसँग बिहे गरेपछि बुवाको मुख देख्न पाइनन् । माइतीको कुकुर पनि प्यारो हुन्छ भन्छन्, नेपाली नारीले । उनी बेला-बेला माइती सम्झेर दुःखी हुन्थिन् । बिहेका सुरुसुरुका वर्ष कहिलेकाहीँ त राति नै उठेर उनलाई सम्झाउनुपर्थ्यो ।
अहिले ठूलो रोग लागेको छ, क्यान्सर सामान्य रोग होइन, फेरि पनि बचाउन सकेको छु, यही ठूलो छ ।( काठमाडौँ न्युज )

प्राप्त प्रतिकृयाहरू

To Top