नेपाल टेलिकमको सापटी सेवा सुरु 

अर्थ चैत्र १६ २०७४ ekhabarnepal
Download %281%29

काठमाडौं चैत्र १६, 

नेपाल टेलिकमको नमस्ते क्रेडिट सेवाको व्यावसायिक सुरूवात भएको छ । सेवाको सुरूवात शुक्रबार सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले गरे ।सेवा सुरु भएसँगै सेवाग्राहीले ब्यालेन्स सकिएपनि बिना अवरोध सेवा जारी राख्न सक्नेछन् । सेवा जारी हुँदा प्रयोग रकम सापटीको रूपमा टेलिकमबाट उपलब्ध हुनेछ । सो सापटी रकममा कुनै ब्याज तिर्नुनपर्ने टेलिकमले जनाएको छ ।

सेवा सुरूवात गर्दै मन्त्री बाँस्कोटाले ढिलै भएपनि टेलिकमले ल्याएको यस सेवाले सेवाग्राही लाभान्वित हुने दावी गरे । उनले टेलिकमलगायत संस्थाको सेवाबारे भ्रामक सन्देश फैलाएर निरुत्साहित गर्ने खोजेको भन्दै पानी धमिल्याएर माछा मार्ने खेलमा नलाग्न सबैलाई चेतावनीसमेत दिए ।

टेलिकमको वार्षिकोत्सब कार्यक्रममा सुरुवात घोषणा गरिएको यस सेवाको सञ्चालन आजदेखि भएको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । उनका अनुसार यस सेवा प्रयोग बापत कुनै शुल्क लाग्दैन । प्रबन्ध निर्देशक राजभण्डारीले ब्यालेन्स अभावमा सेवा प्राप्त गर्नबाट कसैलाई बञ्चित नगराउने टेलिकमको प्रतिवद्दता रहेको बताइन ।

टेलिकमको यो सेवा प्रयोग गर्न सिम सञ्चालनमा आएको ३ महिना परा भएको हुनुपर्छ । सेवाग्राहीले आफ्नो कल इतिहास र पोर्टफोलियो अनुसार फरक क्रेडिट रकम प्राप्त गर्ने टेलिकमले जनाएको छ । क्रेडिट रकम टपअप रिचार्जपछि मेन ब्यालेनसबाट काटिनेछ । रिचार्ज गर्दा रकम नपुगेको अवस्थामा ब्यालेन्सबाट ६० प्रतिशतमात्रै रकम काटिने र बाँकी रकम अर्को पटक रिचार्जमा काटिने छ । टेलिकमका अनुसार क्रेडिट रकमबारे जानकारी प्राप्त गर्न  STATUS लेखेर १४७७ मा एसएमएस गर्न सकिनेछ भने STOP लेखी सोही नम्बरमा मसेज गरी सेवा बन्द गर्न सकिनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top