दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले जित्यो  दुई कास्य पदक 

खेल चैत्र १२ २०७४ ekhabarnepal
1365118916archary nepal

काठमाडौं । बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले दुई कास्य पदक जितेको छ । नेपालले सोमबार रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषमा कास्य पदक जितेको हो ।

ढाकास्थित बिकेएसपी कम्पाउन्डमा भएको खेलमा  रिकर्भ मिक्सतर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेको हो । दुबै टिमले समान दुई दुई सेट जितेर ४–४ अंक बनाएपछि सुटअफमा नेपाल ५ – ४ ले विजयी भएको थियो । यसअघि एलिमिनेसन राउण्डमा मगर अवालेको टिम बंगलादेशको टिमसँग  १–३ को सेटमा २–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

सोमबार नै नेपालको कम्पाउण्ड पुरुष टिमले कास्य पदक जितेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजित कुमार अग्रवाल र अभिशेक राज प्रधानको टिमले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै काश्य जितेको हो । एलिमिनेसन राउण्डमा नेपाको कम्पाउण्ड पुरुष टिम भारतसँग २०४–२२४ अंकले पराजित भएपछि तेस्रो स्थानका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

च्याम्पियनसिप अन्तर्गत नै नेपालको रिकर्भ पुरुष टिम भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भएको छ  । दुबै टिमले दुई दुई सेट जितेर ४–४ अंक को बराबर गरेपछि भएको सुटअफमा नेपाल ४– ५ अंकले श्रीलंकासँग पराजित भएको हो । नेपालको रिकर्भ पुरुष टिममा प्रेम प्रसाद पुन, तीलक पुन र मिन प्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए ।

रिकर्भ अन्तर्गत नै नेपालको महिला टिम पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित भएको छ । नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टिम श्रीलंकासँग १–३ को सेटमा २–६ अंक ले पराजित भए ।

प्राप्त प्रतिकृयाहरू

To Top