विश्वकप छनोटको अन्तिम खेलमा नेपाल भोलि हङकङसँग खेल्दैछ : नजिते'डिभिजन टू'मा झर्ने  खतरा 

खेल फागुन २७ २०७४ ekhabarnepal
Nepal

 

फागुन २७, 
विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि हङकङसँग खेल्दैछ ।हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ ।

विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ । यो समूहबाट स्कटल्याण्ड र जिम्बाब्वे अघिल्लो चरण पुगिसकेका छन् ।समान २-२ अंक भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान तेस्रो र हङकङ चौथो स्थानमा छ ।

यदि नेपालले भोलि हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । नेपाल आफैं सुपर सिक्समा पुग्न चमत्कारिक खेल देखाउनुपर्छ ।क्रिकइन्फोका पिटर डेला पेनाका अनुसार नेपालले पहिले ब्याटिङ गरेको अवस्थामा ३०० रन बनाएर हङकङलाई १५० मा समेट्नुपर्छ । पहिले फिल्डिङ गरेको अवस्थामा हङकङलाई १५० रनमा अलआउट गरेर ४ ओभरमा लक्ष्य पुरा गर्नुपर्छ ।

नेपाली टिमको अहिलेको र्फमलाई हेर्दा यो एक प्रकारले असम्भव जस्तै छ ।तर, एकदिवसीय मान्यता पाउन तथा घटुवा हुनबाट बच्न पनि नेपालले भोलि हङकङलाई हराउनुपर्छ ।

विश्वकप छनोट खेलिरहेका १० मध्ये जिम्बाब्वे, वेस्टइण्डिज, अफगानिस्तान र आयरल्याण्ड आईसीसीका पूर्णकालीन सदस्य हुन् भने नेदरल्याण्डले विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको छ र २०२२ सम्म एकदिवसीय मान्यता पाएको छ ।आईसीसीकाअनुसार बाँकी ५ टिम एसोसिएट टिमध्ये तीनले एकदिवसीय मान्यता पाउनेछन् ।

स्कटल्याण्डले समूह बीबाट सुपरसिक्समा स्थानसँगै ओडीआई स्टाटस पक्का गरेको छ । भोलि नेपाललाई हरायो भने हङकङ पनि सुपरसिक्समा पुग्छ र ओडीआई स्टाटस पाउँछ । तर, हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्छ र त्यसपछि खेलाइने प्ले अफले ओडीआई स्टाटस पाउने टोलीको टुंगो लाग्नेछ ।

विकल्प

भोलि हार्नासाथ नेपालले ओडीआई स्टाटस नपाउने र डिभिजन टूमा घटुवा हुन्छ त ?होइन, एउटा अर्को सम्भावना छ । त्यो भनेको समूह एको खेल । समूह एबाट वेष्टइण्डिज सुपर सिक्समा पुगेको छ । आयरल्याण्ड र यूएईको ४-४ अंक छ भने नेदरल्याण्ड्सको दुई अंक छ । पपुवा न्यूगिनीले चार वटै खेल गुमाएको छ ।

भोलि नै यूएई र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र वेष्टइण्डिजसँग खेल्नेछन् । यदि नेदरल्याण्ड्सले ८७ रन बढीको जित निकाल्यो र आयरल्याण्डले यूएईलाई ५७ रन अन्तरले हरायो भने नेदरल्याण्ड्स सुपर सिक्समा पुग्छ ।

अर्थात ओडीआई स्टाटसको एक सिट बाँकी हुन्छ ।

तर, नेपाल हङकङसँग हार्ने र यूएई सुपर सिक्समा पुग्ने हो भने नेपालले ओडीआई स्टाटस पाउने मौका मात्र गुमाउने छैन, फेरि डिभिजन टूमै घटुवा हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top